Online News Khabar

राज्यले चिन्दैन कर्णालीका पर्यटकिय स्थल

859
SHARES
1k
VIEWS

कालिकोट – त्रिवेणी पाटन प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक महत्वले भरिपूर्ण स्थल भए पनि अझै पर्याप्त रूपमा चिनिन सकेको छैन । हरियाली डाँडाकाँडा, फराकिला पाटन र शान्त वातावरणले भरिएको यो क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने ठूलो सम्भावना बोकेको छ ।

स्थानीयका अनुसार त्रिवेणी पाटनमा वर्षायामपछि देखिने हरियाली दृश्य, लेकाली फूलहरू तथा हिमाली भू–दृश्यले जो कोहीलाई आकर्षित गर्छ । यहाँ धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलसमेत रहेका छन् । तर प्रचार–प्रसार अभाव, सडक पहुँच कमजोर हुनु र आवश्यक पर्यटन पूर्वाधार नहुनुका कारण यो क्षेत्र अझै ओझेलमै परेको छ ।

पर्यटकलाई लक्षित गरी होटल, होमस्टे, सूचना केन्द्र तथा पदमार्ग व्यवस्थापन गर्न सकिए त्रिवेणी पाटन कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत यसको प्रचार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना देखिन्छ ।

स्थानीय तह र प्रदेश सरकारले योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार निर्माण, सडक स्तरोन्नति तथा प्रचार अभियान सञ्चालन गरे त्रिवेणी पाटनले नयाँ परिचय पाउने अपेक्षा गरिएको छ । अहिले पनि यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गर्ने गरेका छन् ।

संरक्षित क्षेत्र बनाइने
त्रिवेणीलाई संरक्षित क्षेत्र बनाउने तयारी रहेको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसीले बताए । त्रिवेणी पाटन मात्र नभई त्रिवेणीधाम रहेकाले यसको महत्व थप बढेको उनले बताए । उनले भने, ‘यस क्षेत्रलाई आगामी दिनमा संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने र थप पर्यटकीय सम्भावनाका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।’ यस क्षेत्रमा कस्तुरी, बाघ, घोरलजस्ता वन्यजन्तु पाइन्छन् ।

कालिकोटको सदरमुकाम मान्म हुँदै सान्नीको मेहलमुडी र मुम्रा भएर जान सकिन्छ । विमान वा बसबाट बाजुरालगायतका अन्य जिल्ला भएर पनि जान सकिन्छ । मान्मबाट बिहानै पैदल हिँड्दा एक दिनमा मुम्राको मालिक वन पुगिन्छ । त्यस्तै, दोस्रो दिनमा त्रिवेणी पुगिन्छ । त्रिवेणीदेखि बिहानीको शीतलमा ठाडो उकालो बाटो भएर दिउँसोतिर बडिमालिका पुगिन्छ ।

बढिमालिकामा जनैपूर्णिमाका अघिल्लो दिन धुमधामसँग धार्मिक मेला लाग्ने भएकाले त्रिवेणी भएर भक्तालु जाने गर्छन् । जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका त्रिवेणी आउने गरेका पुजारी कृष्णप्रसाद धमालाले बताए ।

त्रिवेणीमा नुहाएर बढिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ । रोगव्याध नाश हुने र पदोन्नति हुने विश्वास रहिआएको छ । शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ । त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरवधुको कामना गर्दै यहाँ पूजा गरिन्छ ।

त्रिवेणीमा दुइटा खोला छन्, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ । त्रिवेणीमा अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने पनि धार्मिक विश्वास छ ।

किन चिनिदैनन् पर्यटकिय स्थलहरु

कर्णालीका पर्यटकीय स्थलहरू प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण भए पनि अपेक्षित रूपमा चिनिन सकेका छैनन् । यसको पछाडि विभिन्न कारणहरू रहेका छन् ।

सडक तथा यातायातको अभाव

कर्णाली प्रदेश का धेरै पर्यटकीय क्षेत्रहरू अझै पनि सहज सडक सञ्जालसँग जोडिएका छैनन् । दुर्गम भूगोलका कारण पर्यटकलाई यात्रा गर्न कठिन हुने भएकाले प्रचार भए पनि भ्रमण कम हुने गरेको छ ।

पर्याप्त प्रचार–प्रसार नहुनु

रारा ताल, शे–फोक्सुण्डो ताल, खप्तड जस्ता विश्वस्तरका गन्तव्य भए पनि अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचार हुन सकेको छैन । डिजिटल माध्यम, वृत्तचित्र तथा पर्यटन अभियान कमजोर देखिन्छन् ।

३. होटल तथा पूर्वाधारको कमी

धेरै स्थानमा गुणस्तरीय होटल, सञ्चार, स्वास्थ्य सेवा र आपतकालीन उद्धार व्यवस्था अभावमा छन् । पर्यटकले सहज र सुरक्षित अनुभूति नपाउँदा पुनः भ्रमणको सम्भावना घट्ने गर्छ ।

४. सरकारी प्राथमिकता कम हुनु

पर्यटन विकासका लागि दीर्घकालीन योजना, बजेट र लगानी पर्याप्त नभएको गुनासो स्थानीय तहदेखि पर्यटन व्यवसायीसम्मले गर्दै आएका छन् । राजधानी केन्द्रित विकासले पनि कर्णाली ओझेलमा परेको छ ।

५. हवाई सेवाको अनियमितता

कर्णालीका जिल्लामा मौसमका कारण नियमित उडान प्रभावित हुने गर्छ । यसले विदेशी तथा आन्तरिक पर्यटकको यात्रा योजना प्रभावित बनाउँछ ।

६. स्थानीय पर्यटन प्याकेजको अभाव

स्थानीय संस्कृति, खानपान, कला र जीवनशैलीलाई समेटेर आकर्षक पर्यटन प्याकेज तयार गर्न नसक्दा पर्यटक लामो समय बस्ने वातावरण कम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित