Online News Khabar

अव गित रेकर्डिङ सुर्खेतमै, खुल्याे गुराँस म्युजिक प्रोडक्सन

868
SHARES
1k
VIEWS

सुर्खेत -नयाँ वर्ष २०८३ सालको शुभारम्भसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा “गुरास म्युजिक प्रोडक्सन” औपचारिक रूपमा उद्घाटन गरिएको छ। कर्णालीको मौलिक कला, संस्कृति र संगीतलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यस प्रोडक्सनले स्थानीय कलाकारहरूका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ।
प्रोडक्सनका अध्यक्ष सम्झना अधिकारीका अनुसार कर्णाली क्षेत्रमा थुप्रै प्रतिभाशाली कलाकारहरू भए पनि अवसरको अभावका कारण उनीहरू ओझेलमा पर्दै आएका थिए। “हामीले कर्णालीको रैथाने संस्कृतिको जगेर्ना गर्दै लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्ने, र दुर्गम भेगका कलाकारहरूलाई सहज रूपमा आफ्नो सिर्जना प्रस्तुत गर्ने प्लेटफर्म उपलब्ध गराउने लक्ष्य लिएका छौँ,” उहाँले बताउनुभयो।
उद्घाटनसँगै गुरास म्युजिक प्रोडक्सनले सक्रिय रूपमा आफ्नो कार्य प्रारम्भ गरिसकेको छ। चर्चित गायिका ईप्सल सज्याल, नमराज भण्डारी, संगिता बढुवाल, खगेन्द्र न्यौपाने लगायत कर्णालीका विभिन्न कलाकारहरूले यहाँ दर्जनौँ गीतहरू रेकर्ड गराइसकेका छन्। यसले छोटो समयमै प्रोडक्सनप्रति कलाकारहरूको विश्वास र आकर्षण बढिरहेको संकेत गर्दछ।
कलाकारहरूले काठमाडौँ र कर्णालीबीच अब गुणस्तरको कुनै भिन्नता नरहेको बताएका छन्। आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगमार्फत गुरास म्युजिक प्रोडक्सनले उच्चस्तरीय रेकर्डिङ सेवा प्रदान गरिरहेको छ, जसले गर्दा स्थानीय कलाकारहरूलाई राजधानी धाउनुपर्ने बाध्यता क्रमशः घट्दै जाने विश्वास लिइएको छ।
कर्णाली प्रदेश सांस्कृतिक रूपमा निकै समृद्ध भए पनि यसको प्रचार–प्रसार अपेक्षाकृत कम भएको देखिन्छ। यस्ता प्रोडक्सनको स्थापना र सञ्चालनले कर्णालीका मौलिक भाका, देउडा, झ्याउरे, तथा अन्य लोकसांगीतिक परम्पराहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीय तह, सरोकारवाला निकाय तथा संगीतप्रेमीहरूको सहयोग र साथ पाएमा गुरास म्युजिक प्रोडक्सनले कर्णालीलाई नेपाली संगीतको एक प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सक्ने सम्भावना देखिएको छ। यसले केवल संगीत क्षेत्रमा मात्र नभई रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र समग्र सांस्कृतिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित