Online News Khabar

कर्णाली युवा आईकन मनिषजंगले राखे ७ फिट अग्लो शिबको मुर्ति

854
SHARES
1k
VIEWS

कालिकोट – कालिकोट जिल्लाको महाबै गाउँपालिका–६ स्थित पान्तडी बजार क्षेत्रमा युवा व्यवसायी तथा कर्णाली युवा आइकन मनिष जङ्ग शाहीद्वारा सात फिट अग्लो भगवान शिवको मूर्ति स्थापना गरिएको छ । वैशाख ३० गते विशेष पूजा–आराधना सहित शिव मूर्ति स्थापना तथा मन्दिर उद्घाटन गरिएको हो। स्थानीयवासीले उक्त मूर्तिलाई कर्णाली प्रदेशकै दोस्रो अग्लो शिव मूर्ति भएको दाबी गरेका छन्।

काठमाडौंमा लामो समयदेखि व्यवसाय गर्दै आएका शाहीले आफ्नो जन्मथलोमै धार्मिक स्थल स्थापना गरी समाजलाई धर्म, संस्कार र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको बताएका छन्। उनका अनुसार हिन्दू धर्मको संरक्षण, धार्मिक आस्था अभिवृद्धि तथा युवापुस्तालाई सामाजिक एवं धार्मिक कार्यमा सहभागी गराउने लक्ष्यका साथ यो अभियान अघि बढाइएको हो।

शाहीले व्यवसायबाट कमाएको आम्दानीलाई सामाजिक तथा धार्मिक क्षेत्रमा लगानी गर्न पाउनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। उनले काठमाडौंमा २०७२÷७३ सालतिरबाट व्यवसाय सुरु गरेको र हाल ‘वाउ रेसिडेन्सी’ लगायत विभिन्न क्षेत्रमा सक्रिय रहेको जानकारी दिए। व्यवसायिक सफलतासँगै समाजका लागि केही योगदान गर्नुपर्ने भावना अझ बलियो बनेको उनको भनाइ छ।

केही समयअघि “कर्णाली युवा आइकन” सम्मान प्राप्त गरेका शाहीले उक्त सम्मानले आफूलाई थप सामाजिक कार्यमा प्रेरित गरेको बताएका छन्। निजी क्षेत्रबाट पनि समाज रूपान्तरणमा योगदान दिन सकिन्छ भन्ने सन्देश दिन आफूले धार्मिक तथा सामाजिक अभियानलाई निरन्तरता दिएको उनले बताए।

मन्दिर उद्घाटन आफ्ना आमा–बुवाको उपस्थितिमा तथा उहाँहरूको नाममा गरिएको शाहीले जानकारी दिए। आफ्नो सफलतामा परिवारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले परिवारका सदस्य तथा सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाप्रति आभार व्यक्त गरेका छन्।

वि.सं. २०४९ वैशाख २८ गते जन्मिएका शाहीले आफ्नो जन्मदिनको अवसर पारेर धार्मिक कार्य सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। व्यक्तिगत उत्सवलाई समाजका लागि स्मरणीय कार्यसँग जोड्ने उद्देश्यले शिव मूर्ति स्थापना गरिएको उनले बताए।

स्थानीयवासीले पान्तडी क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्ने विश्वास व्यक्त गरेका छन्। शिव मन्दिर तथा विशाल मूर्तिले धार्मिक आस्था, सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित