पलाँता गाउँपालिकामा दुई दिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सुरु

पलाँता गाउँपालिकामा दुई दिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सुरु

कालीकोट, जेठ ३० — कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा दुई दिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविर आजदेखि सुरु भएको छ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पलाँता गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालन भएको शिविर जेठ ३० र ३१ गतेसम्म सञ्चालन हुने छ।
शिविरको समुद्घाटन पलाँता गाउँपालिका–४ स्थित श्री कालिका माध्यमिक विद्यालय, छलाँहामा भएको हो। उद्घाटन कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष तिलक बहादुर बुढाको सभाध्यक्षतामा भएको हो भने कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर रोकाया प्रमुख अतिथि तथा जिल्ला स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. रत्नवीर सुनार विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. सुनारको नेतृत्वमा कालीकोटबाट खटिएको २५ सदस्यीय स्वास्थ्य टोली तथा ८ जना विशेषज्ञ चिकित्सकले शिविरमार्फत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
शिविरमा परिवार योजना सेवा, सामान्य रोग उपचार, पाठेघरको मुखको क्यान्सर परीक्षण, भिडियो एक्सरे, दन्त सेवा, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा तथा निःशुल्क औषधि वितरण लगायतका सेवाहरू उपलब्ध गराइएको छ।
शिविरको पहिलो दिनसम्म २३० जना सेवाग्राहीले सेवा लिएका छन्, जसमध्ये पुरुष ८७ जना र महिला १४३ जना रहेका छन्। त्यसैगरी दन्त सेवा २६ जना, फिजियोथेरापी सेवा १८ जना, भिडियो एक्सरे सेवा ७७ जना, पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा ६० जना तथा प्रयोगशाला सेवा १३ जनाले सेवा प्राप्त गरेका छन्।
यसैगरी शिविरमा दम, मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोगहरूको परीक्षण समेत गरिएको छ। नसर्ने रोग परीक्षण सेवाबाट २३० जना लाभान्वित भएका छन्।
दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर भोलिसम्म जारी रहने पलाँता गाउँपालिकाका स्वास्थ्य सह-संयोजक हिमाल सज्यालले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित