कालीकोट — अनुदानको भरमा मात्र चल्दा संघियता चल्न सक्दैनकी भन्ने जनमानसमा देखिएको चिन्ता कालिकोटको रास्कोट नगरपालिकाले हटाउलाकी भन्ने केही उदाहरण देखाएको छ ।
जिल्लाका आठ स्थानीय तह मध्ये रास्कोट नगरपालिकाले सबैभन्दा बढी आन्तरिक आम्दानी गर्दै आएको छ । कालीकोटको प्रदेशसभा क्षेत्र ‘ख’ मा पर्ने प्रशासनिक र व्यापारिक केन्द्र रास्कोटको आरसिपी बजारमा नगरको स्मामित्वमा रहेका ३९ वटा पक्की सटरबाट मासिक १ लाख बढी आम्दानी हुने गरेको छ ।
बजारमा लहरै खुलेका सटरले स्थानीयलाई व्यवसाय गर्ने सुविधासँगै नगरको आन्तरिक आय बृद्धिमा पनि सहयोग पुर्याएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
नगरप्रमुख शाहीले पालिकाबाट रास्कोट अस्पतालमा ३ जना एमबीबीएस डाक्टर राखेर सेवा दिइरहेको बताए । उनले सामुदायिक विद्यालयमा कक्षा १ देखि अंग्रेजी माध्यममा पढाउन विद्यालयलाई थप सुविधा दिएर काम गरेको दाबी गरे । रास्कोट नगरपालिकाले गत वर्ष १ करोड २८ लाख आन्तरिक राजश्व वापतको रकम संकलन गर्न सफल भएको छ । कालीकोटका अन्य ८ वटा स्थानीय तहको वार्षिक आन्तरिक आम्दानी १५ देखि ४५ लाखसम्म छ ।
रास्कोट नगरपालिका कार्यालयका अनुसार गतवर्ष १४ लाख ७२ हजार २ सय ७ रुपैयाँ घरबहालकर संकलन गरेको थियो । भूमिकर वापत १५ लाख ४४ हजार ६ सय ७३, अन्य कर वापत २१ लाख ७३ हजार ६ सय, व्यवसाय कर १ लाख ३९ हजार ८ सय, अन्य राजश्व ३ लाख ५० हजार ४ सय ७०, व्यवसाय रजिष्टेसन वापत ३० हजार ६ सय १, अन्य दस्तुर वापत ९ लाख ५ हजार ७ सय ६० रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, व्यक्तिगत घटना दर्ताबाट २ लाख ६ हजार ५ सय ५०, नाता प्रमाणित वापत ९ हजार, सिफारिस दस्तुर वापत १४ हजार ९ सय ४२, अन्य प्रशासनिक सेवा शुल्क वापत २ लाख ४१ हजार ७ सय, परीक्षा शुल्क वापत ७ हजार ३ सय, शिक्षा क्षेत्रको आम्दानी वापत ६ हजार ९ सय राजश्व उठाएको छ ।
त्यसैगरी, अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा ५० लाख ४६ हजार ६ सय ५०, कृषि उत्पादनको विक्रिबाट प्राप्त राजश्व ४३ हजार ३ सय १०, कृषि तथा पशुजन्य वस्तुको कारोवारमा लाग्ने करवापत २७ हजार ७ सय ४२, सम्पत्ति कर ५३ हजार ८ सय १७ लगायतका शीर्षकमा राजश्व उठाउन सफल भएको नगरपालिकाले जनाएको छ ।
आन्तरिक आयका स्रोत न्यून भएको जिल्ला भएकाले पालिकाहरुको आम्दानी पनि कम भएको कोष तथा लेखा नियन्त्रण प्रमुख टंक थापाले बताए । ‘रास्कोटले सटर भाडामा लगाएर राम्रै आम्दानी गरेको देखिन्छ ।सदरमुकामको खाडाचक्र नगरपालिकाले पनि बजार क्षेत्र र बहाल कर वापत आम्दानी गर्नुपर्नेमा राजश्व उठेको देखिँदैन,’ उनले भने । उनका अनुसार रास्कोटपछि बढी आन्तरिक आम्दानी गर्ने सदरमुकामको खाडाचक्र नगरपालिकाले वार्षिक ४४ लाख ३३ हजार १९ रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।
त्यस्तै, नरहरिनाथ गााँपालिकाले ३५ लाख १० हजार ३ सय ३२, बहुमूल्य काइनेट भएको शुभकालिका गाउँपालिकाले २७ लाख १ सय ८०, सान्नीत्रिवेणी गाउँपालिकाले ११ लाख १८ हजार ६ सय ४६, महाबै गाउँपालिकाले १४ लाख ४१ हजार ८ सय ७७, तिलागुफा नगरपालिकाले १० लाख ७६ हजार ७ सय ३२, पचालझरना गाउँपालिकाले ८ लाख ४९ हजार १ सय ५८ गैहृकर राजश्व संकलन गरेको छ । पलाता गाउँपालिकाको वर्षभरीको आन्तरिक आम्दानी ६ लाख १५ हजार ९ सय ३ रुपैयाँ मात्र छ ।
रास्कोटमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकका शाखामा सबै नागरिकको बैक खाता अनिवार्य गर्दै अशत्त, अपांग तथा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण गर्ने अभ्यास गरेको नगर उपप्रमुख मनिराज बरालले बताए । पालिकाले नागरिकतासहितका सेवाका लागि इलाका प्रशासन स्थापनाको लागि पनि पहल गरिरहेको उनले बताए छ । प्रशासनको लागी भवन निर्माणधिन अवस्थामा छ ।
फोटो ः
१) नगरपालिका केन्द्र वरीपोरी संचालनमा रहेका टहरा हटाएर मिनि मार्केट भवन सहित ।


















Discussion about this post