Hasta Chaulagain (Trikal_
अभियोजन तथा न्याय निरूपण प्रक्रियालाई थप बालमैत्री, प्रभावकारी र संवेदनशील बनाउने उद्देश्यले कालिकोटमा बाल न्याय प्रणालीसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। जिल्ला अदालत कालिकोटको आयोजना तथा भिडिसेफ नेपाल कालिकोटको सहयोगमा आयोजित उक्त कार्यक्रम माननीय जिल्ला न्यायाधीश भोलानाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बाल न्याय प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएका निकायका प्रतिनिधि, कानुन व्यवसायी, सुरक्षा निकायका अधिकारी, बाल अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्री, अधिवक्ताहरू, बाल इजलासका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू तथा बाल अधिकारका क्षेत्रमा क्रियाशील अभियन्ताहरूले बालबालिकासम्बन्धी मुद्दाहरूको न्यायिक प्रक्रियामा देखिएका चुनौती, अवसर र सुधारका सम्भावित उपायबारे आ–आफ्ना धारणा राखेका थिए। सहभागीहरूले बालबालिकासँग सम्बन्धित मुद्दाको अनुसन्धान, बयान संकलन, अभियोजन र न्याय सम्पादनका क्रममा बाल अधिकार तथा बाल मनोविज्ञानलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले बालबालिकाको सर्वोत्तम हित, गोपनीयताको संरक्षण तथा उनीहरूको सम्मानजनक व्यवहार सुनिश्चित गर्दै न्याय सम्पादन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। संवादका क्रममा बाल न्याय प्रणालीलाई थप प्रभावकारी, उत्तरदायी र बालमैत्री बनाउन सम्बन्धित निकायहरूबीच समन्वय, सहकार्य र नियमित अनुभव आदान–प्रदान आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। साथै बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा उपेक्षाका घटनामा संवेदनशील र द्रुत न्यायिक प्रक्रिया अवलम्बन गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो। कार्यक्रमका अध्यक्ष तथा जिल्ला न्यायाधीश भोलानाथ ढकालले बालबालिकाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्नु राज्यका सबै निकायहरूको साझा दायित्व भएको उल्लेख गर्दै बाल न्याय प्रणालीलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज बिष्टले गरेका थिए। संवाद कार्यक्रममा सहभागीहरूले बालमैत्री न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।





