कालिकोट – रास्कोट नगरपालिकामा मालपोत तथा नापी सेवा सुरु भएको छ। जिल्ला सदरमुकाम मान्मबाट प्रवाह हुँदै आएको भूमि प्रशासनसम्बन्धी सेवा रास्कोटबाटै उपलब्ध हुन थालेपछि स्थानीय नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ।
भूमि प्रशासन कार्यालयको उद्घाटनसँगै शुक्रबारदेखि सेवा सञ्चालनमा आएको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले जानकारी दिए।
कार्यालय उद्घाटनपछि नगर प्रमुख शाहीले मालपोत तथा नापी सेवा लिन सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता कम हुने बताए। स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि नागरिकको समय र खर्च बचत हुनुका साथै सरकारी सेवा प्रवाह थप सहज हुने उनको भनाइ छ।
यसअघि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना भई नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालनमा आइसकेको छ। अब भूमि प्रशासन सेवा पनि थपिएपछि रास्कोटसहित सान्नीत्रिवेणी, पचालझरना र पलाता क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, तत्कालका लागि मालपोत तथा नापी सेवा रास्कोट क्षेत्रका नागरिकलाई मात्र उपलब्ध गराइने जनाइएको छ।
रास्कोटमा सरकारी सेवा विस्तार गर्ने क्रममा बैंक शाखा, विद्युत् महसुल सङ्कलन काउन्टर, खाद्य तथा नुन डिपो र रणनीतिक अस्पतालमार्फत सेवा उपलब्ध हुँदै आएको नगर प्रमुख शाहीले बताए।
भौगोलिक विकटता, कमजोर यातायात पहुँच र सदरमुकामको दूरीका कारण सामान्य प्रशासनिक कामका लागि समेत मान्म पुग्नुपर्ने बाध्यता भोग्दै आएका नागरिकलाई रास्कोटमै सेवा सुरु भएपछि राहत पुग्ने अपेक्षा गरिएको छ।
नापी कार्यालयमा नापी सर्वेक्षक राजेन्द्र न्यौपाने र नापी अमिन सुरेस लुवार खटिएका छन्। मालपोत कार्यालयमा प्रमुख धनबहादुर फडेरा, कम्प्युटर अपरेटर तपेन्द्र शाहीसहितका कर्मचारीको व्यवस्था गरिएको छ। कार्यालय सञ्चालनका लागि आवश्यक व्यवस्थापन नगरपालिकाले गरेको जनाइएको छ।
रास्कोट नगर प्रमुख धर्मराज शाही र इलाका प्रशासन कार्यालय रास्कोटका प्रमुख नवराज बमले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन्।
स्थानीयस्तरमै भूमि प्रशासन सेवा सुरु भएपछि नागरिकले जग्गासम्बन्धी कामका लागि गर्नुपर्ने यात्रा, समय र खर्च घट्ने अपेक्षा गरिएको छ। आगामी दिनमा अन्य क्षेत्रका नागरिकलाई समेत सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।





