कालिकोट – जिल्लाको रास्कोट नगरपालिकाले घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य निरन्तर्ता दिएको छ ।
आफ्नो सत्ता संचालनको सरुवातमै नगरपालिकाले लाभग्राही अर्थात् ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको थियो ।
जिल्लाका अन्य पालिकाले पनी सुरु सुरुमा चर्चामा आउन घरमै पुगेर भत्ता बितरण गरेपनी अहिले रकम वुझ्न बैंकमै जानु परेको छ । रास्कोटले भने सोही कार्यक्रमलाई निरन्तर्ता दिएको छ ।
रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको हितलाई दृष्टिगत गर्दै घरआँगनबाटै भत्ता वितरण कार्य निरन्तर संचालन भइरहेको जनाएको छ ।
लाभग्राही अर्थात् ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई बैंकमा पुगेर भत्ता रकम बुझ्नलाई निक्कै सास्ती खेप्दै आउनुपरेको अवस्थालाई दृष्टिगत गर्दै घरआँगनबाटै भत्ता वितरण कार्य सुरु गरेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
प्रमुख शाहीका अनुसार नगरसभामार्फत् नै सामाजिक सुरक्षा भत्ता घर–घरमै पु¥याएर वितरण गर्ने निर्णय भएको थियो ।
नगर सभाको उक्त निर्णय कार्यान्वयन गर्दै अभियानको सुरुवात गरिएको शाहीले बताए ।
यता घर आँगनबाट नै सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि सबै वडाका लाभग्राहीलाई राहत मिलेको छ । घर–घरमा भत्ता रकम पाउँदा समयसँगै खर्च समेतको बचत भएकाले प्रत्येक वडाका लाभग्राहीले ठूलो राहतको महसुस गरेको प्रमुख शाहीले बताए ।
हामिले नगरसभाबाट जे जती निर्णय गरेका छौ सवै कार्यन्वयन गरेको छौँ यहाँको आवश्यकतालाई मध्यनजर गरी काम गरेको शाहीले बताए । पाँच पाकेट नुन ल्याउन सदरमुकाम जानु पर्ने, बिद्युत महशुल रकम तिर्न सदरमुकाममै जानु पर्ने,अर्को नागरिकता बनाउन सदरमुम जानु पर्ने बाध्यताको अन्तय गरेका छौँ ।
नुन डिपो, विद्युत महशुल सेवा केन्द्र स्थापना गरिसकेका छौँ अव इलाका प्रशासन कार्यालय पनी स्थापना गर्न पहल सुरु गरेका छौँ प्रमुख शाहीले भने” ।
उनका अनुसार हालसम्म वडा नम्बर १ देखी ९ सम्मकै वडामा दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण कार्य संचालन भइरहेको छ ।
सामाजिक सुरक्षा भत्ता रकम सम्बन्धित वडाका जनप्रतिनिधि, वडा र बैङ्क कर्मचारीको उपस्थितिमा वितरण गरिँदै आएको छ ।
घरमै पुगेर हात हातमा नगद रकम सामाजिक सुरक्षा भत्ता पाउदा स्थानिय बासी खुशी भएका छन ।
सम्बन्धित फोटो ः
१) घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्दै रास्कोट नगरपालिका प्रमुख शाही ।
तश्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post