गाडीमा ड्रम बोकेर पानी खादै प्रहरी कार्यालय कालिकोट

गाडीमा ड्रम बोकेर पानी खादै प्रहरी कार्यालय कालिकोट

 

कालिकोट–  मान्म बजारको खानेपानीको लाइनमा अवरोध आउदा जिल्ला प्रहरी कार्यालय कालिकोटनै गाडीमा ड्रम बोकेर खानेपानी खान बाध्य भएको छ ।
सरकारी कार्यालय संगै सदरमुकाम मान्म बजारमा खानेपानीको हाहाकार भएको हो।
जिल्लाको खाँडाचक्र नगरपालिकाले डोजरमार्फत जंगल फडानी गरी सडक निर्माण गर्दा आएको पहिरोले खानेपानीको पाइप लगेपछि गाडीमा ड्रम राखेर सार्वजनिक धाराको पानी बोकेर खान बाध्य भएको हो ।
मान्म बजारदेखि चुलिमालिका लेकसम्मको निर्माणाधीन सडकको कुनै उपयोगिता छैन। स्थानीय हिकमतजंग मल्लले भने, ‘चुलिमालिका लेककै नाममा दाँहाँ, पाखा र मान्म बजारबाट दुईवटा गरी चारवटा सडक निर्माण गर्न थालिएको छ। यसले परापूर्वकालदेखि संरक्षण गर्दै आएको वनजंगल फडानीका साथै कृतिम पहिरो सिर्जना गरेको छ। जसको शिकार सदरमुकाम मान्म बजारको खानेपानी पनि बनेको छ।’ मान्म बजारदेखि उक्त खानेपानीको मुहान तिर न कुनै मानव बस्ती छ न सडक आवश्यक छ। तर धमाधम वन फडानी गरी सडक निर्माण गरेकै कारण पहिरो भने जान थालेको छ। यसैकारण मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै पाँच सय परिवारहरूले खानेपानीको संकट खेप्नु परेको छ।

खानेपानीको अनुगमनका लागि पहिरो गएको ठाउँमा पुगेका खाँडाचक्र नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मराज ताम्राकारले पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल लिने बताए। उनले भने, ‘विगतमा नगरले गल्ती गरेको छ। अब त्यो गल्तीलाई सच्याएर वन फडानी गरी निर्माण गर्न थालिएको सडकको काम रोक्दै पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा गर्न नगरमा छलफल गर्छु। तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउँछु।’ खाँडाचक्र नगरपालिका प्रमूख कमलबहादुर शाहीले मान्म बजारदेखि चुलिमालिका जोड्ने उक्त सडकको कुनै उपयोगिता नरहेको बताए। उनले भने, ‘नगरले उक्त सडकमा बजेट छुटाउँदैन। प्रदेश र संघबाट बजेट पठाएपनि कार्यान्वयन गर्दैनौं। डोजरले बाटो खन्दा पहिरो जाने समस्या भएको र खानेपानी आयोजना पनि अवरुद्ध भएको जानकारी पाएको छु। त्यसको प्राविधिक मूल्यांकनका आधारमा मर्मत सुधार हुन्छ।

पहिरो स्थलमा अनुगमनका लागि पुगेका पलाँता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बम, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, खाँडाचक्र नगरपालिका वडा नं. १ का बिनोद शाहीलगायतका सरोकारवालाहरूले मान्म बजारको खानेपानी समस्या समाधानका लागि पहिरोको दीर्घकालीन रोकथाम आवश्यक रहेको बताए। उनीहरूले बर्सेनि मान्म बजारको खानेपानी अभावको समस्या हुनुमा व्यवस्थापकीय समस्या पनि रहेको औंल्याए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित