मनाङ–मुस्ताङ र डोल्पा–मुगु जोड्ने सडक धमाधम निर्माण भइरहेको छ। अब डोल्पा र मुस्ताङको सीमाना याकखर्क जोडिन २० किमी मात्र बाँकी छ। २०७५-०७६ सालदेखि मुस्ताङ–डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्ने काम सुरु गरेको थियो। समुद्री सतहदेखि ४५ सय मिटर अग्लो उचाइबाट ११ मिटर फराकिलो सडक विस्तार गर्न मन्त्रालयले पहिलो वर्ष ४ करोड विनियोजन गरेको थियो। २०७६-०७७ मा ११ करोड विनियोजन गरेको थियो। २०७७-०७८ मा भने सो सडकमा बजेट परेको थिएन। अहिले भने ४ करोड ६३ लाख लागतमा जागृति कुनसालिङ जेभीलाई स्तरोन्नति र नयाँ ट्रयाक खोल्न कटिङको जिम्मा दिएको थियो।
२०७६-०७७ मा राधाकृष्ण एन्ड ब्रदर्श कन्ट्रक्सनले ५ करोडमा बारागुङ मुक्तिक्षेत्रको साङ्तादेखि याकखर्क जोड्ने १२ किमी ट्रयाक खोलेको थियो। चालू आवमा जागृति कुनसालिङ जेभीले सो स्थानबाट १ लाख ८० हजार घनमिटर कटिङ र ३५ सय घनमिटर ग्याविन लगाउने जिम्मा लिएको छ। अहिले धमाधम काम भइरहेको जागृतिका प्रोपाइटर जीवन रोकायाले जानकारी दिए। मुस्ताङ–डोल्पा सडकको साङ्तादेखि याकखर्कतर्फ ८ किमी विस्तार भएको र त्यसमा साढे ४ किमी थप नयाँ ट्रयाक खोल्ने काम भइसकेको उनले बताए। ‘हामीले पुरानो सडकमा थप ४.५ किमी खोल्यौं,’ उनले भने, ‘अब त्यहाँबाट याकखर्कसम्म १८ किमी बाँकी रहन्छ।’
रोकायाका अनुसार कटिङको काम अन्तिम चरणमा पुगेको र ग्याविन वाल लगाउने काम भइरहेको छ। असोजभित्र सक्ने योजना रहेको उनले सुनाए। यो हिमाली कनेक्टिभिटी जोड्ने महत्वपूर्ण सडक हो। हिमाली क्षेत्र र पञ्चिमका विभिन्न जिल्लासम्म सडक कनेक्टिभिटीको उद्देश्यले मुस्ताङ–डोल्पा रणनितिक सडक निर्माण गरिएको सांसद प्रेमप्रसाद तुलाचनले बताए। कर्णालीको डोल्पा र गण्डकीको मुस्ताङ सडक पूरा भए आन्तरिक व्यापार तथा पर्यटन प्रवर्द्धन र स्थानीयवासीलाई आउजाउमा सहज हुने जानकारी दिए।
Discussion about this post