हस्त चाैलागाँई- बाँके – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (चुनाव चिह्न: तारा) ले नरेन्द्र पाण्डे (जेम्स) लाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको छ।
पार्टीले दिएको जिम्मेवारीलाई पाण्डेले आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण र गौरवपूर्ण अवसरका रूपमा लिएका छन्।
उम्मेदवार चयनपछि प्रतिक्रिया दिँदै नरेन्द्र पाण्डे (जेम्स) ले पार्टी नेतृत्व तथा आम मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले आदरणीय संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, सिङ्गो पार्टी पङ्क्ति, लुम्बिनी प्रदेश नेतृत्व तथा बाँके जिल्लाका सम्पूर्ण पार्टी कमरेडहरूको विश्वास र समर्थनप्रति कृतज्ञता प्रकट गरे।
त्यसैगरी उनले कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका न्यायप्रेमी जनसमुदाय, शुभेच्छुक, प्रिय साथीहरू तथा आम नागरिकहरूप्रति समेत हार्दिक धन्यवाद व्यक्त गरेका छन्। पाण्डेले जनताको साथ, सहयोग र अमूल्य मत नै आफ्नो राजनीतिक उर्जाको मूल स्रोत हुने स्पष्ट पारे।
“जनताको विश्वास, समर्थन र अमूल्य मतले नै मलाई थप जिम्मेवार बनाएको छ,” पाण्डेले भने, “यो निर्वाचन केवल पद प्राप्तिको विषय होइन, परिवर्तन, सुशासन र समृद्धिको साझा अभियान हो।” उनले जनताको पक्षमा उभिएर काम गर्ने, सामाजिक न्याय, विकास र समानताका सवाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरे।
नरेन्द्र पाण्डे (जेम्स) ले बाँके क्षेत्र नम्बर १ लाई विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारको दृष्टिले उदाहरणीय क्षेत्रका रूपमा अगाडि बढाउने लक्ष्य रहेको बताए। उनले जनताको समस्यालाई नजिकबाट बुझेर संसदमा प्रभावकारी रूपमा आवाज उठाउने र दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
उनका अनुसार परिवर्तन र समृद्धिको यात्रामा एक्लै सम्भव नहुने भन्दै सबै राजनीतिक सचेत नागरिक, युवा, महिला, श्रमिक, किसान र बौद्धिक वर्गसँग हातेमालो गरेर अघि बढ्ने योजना रहेको छ। “यो यात्रा हामी सबैको हो, हामी सँगै हिँड्नेछौं,” उनले जोड दिए।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पाण्डेले लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै जनताको निर्णयलाई सर्वोपरि मान्ने धारणा व्यक्त गरे।
नेपाली कम्युनिस्ट पार्टीले बाँके–१ मा परिवर्तनकारी एजेन्डा र जनमुखी कार्यक्रमसहित चुनावी अभियानलाई तीव्र बनाउने जनाएको छ। पार्टीका अनुसार नरेन्द्र पाण्डे (जेम्स) को उम्मेदवारीले बाँकेमा नयाँ राजनीतिक आशा र विश्वास जगाउने अपेक्षा गरिएको छ।


















Discussion about this post