कालिकोट – जिल्लाका ९ वटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । यसअघि आधाजसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेकामा सुधार गर्दै सबै स्थानीय तहले असार १० गतेको समय सीमाभित्र बजेट प्रस्तुत गरेका छन् ।
तीन नगर पालिका र ६ गाउँपालिका रहेको कालीकोटका ९ वटै स्थानीय तहले आर्थिक वर्ष ०८२/०८३ का लागि कुल ३ अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३ सय २९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । आन्तरिक आय नभएका यहाँ स्थानीय तह संघीय र प्रदेश अनुदानमा निर्भर छन् ।
बजेट खर्च अनुसारको उपलब्धि नभएको नागरिकको गुनासो छ । प्रदेश र संघबाट आउने बजेट बाहेक ४ अर्ब खर्च गर्दा पनि नागरिकको जीवनमा परिवर्तन आउन सकेको छैन । नागरिक अगुवा लिलाराम न्यौपानेले भने खर्च अनुसारको उपलब्धि छैन ।
यहाँका ९ मध्य ४ स्थानीय तहले सोमबारसम्म गाउँ तथा नगर सभा सम्पन्न गरी सकेकोमा थप ५ वटाले मंगलवार बजेट सार्वजनिक गरेको जिल्ला समन्वय समितिका प्रवक्ता अजय बमले जानकारी दिए । ‘यसअघि विभिन्न कारण सबै स्थानीय तहको बजेट असार १० सम्म नआउने समस्या थियो । उनले भने यस पटक सबैले असार १० को डेटलाइन मिट गरेका छन् ।’
नागरिकले पालिकाले गरेका कामको हिसाब र उपलब्धि खोज्न सुरु गरेकोले जनमुखी कार्यक्रम ल्याउनै पर्ने बाध्यता रहेको उनको भनाइ छ । यहाँको तिलागुफा नगरपालिकाले शिक्षक नियमित गर्न विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्ने नीति ल्याएको छ भने नरहरिनाथ गाउँ पालिकाले मावि तहमा विद्यालय नर्स राख्ने घोषणा गरेको छ ।
त्यस्तै, नेपालकै अग्लो झरना रहेको पचाल झरना गाउँ पालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । गाउँ पालिकाले असार ६ गते गाउँसभा आयोजना गरेको पचाल झरना गाउँपालिका अध्यक्ष देवराज शाही अग्नीले बताए । उनको पालिकाले ४३ करोड ८४ लाख ३९ हजार ३ सय ५२ रुपैयाँको बजेट ल्याएको छ ।
त्यस्तै, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले असार ८ गते नगरसभाको आयोजना गर्दै ४७ करोड २२ लाख ८२ हजार ५ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक कलहमा फसेको सदरमुकामको खाँडाचक्र नगरपालिकाले बस्ती स्तरका भेला नगरेरै नगरसभाको आयोजना गरेको नागरिक अगुवा मनिराज पाण्डेले बताए ।
खाँडाचक्र नगरपालिको ५३ करोड ५५ लाख ५५ हजार ९ सय २० बजेट प्रस्तुत गर्दै उपप्रमुख गणेशबहादुर शाहीले विगतका कार्यक्रमलाई निरन्तरता दिएको सुनाए । जिल्लामै सबैभन्दा बढी ७० करोड १४ लाख ९ हजार ७ सय १० रुपैयाँको बजेट विनियोजन गरेको तिलागुफा नगरपालिकाले विद्यालय गाभ्ने, सबै बस्तीमा भरपर्दो सडक पुर्याउने, अर्गानिक उत्पादनमा जोड दिने कार्यक्रम ल्याएको उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए ।
स्थानीय सरकारको जिम्मेवारी मिसन रोजगारी भन्ने नाराका साथ यहाँको नरहरिनाथ गाउँ पालिका ५१ करोड ८३ लाख ८० हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । पालिका पहिलो पटक मावि तहमा विद्यालय नर्स कार्यक्रम ल्याएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।
त्यस्तै, विपद् पीडितका लागि सहयोग गर्ने योजना सहित सान्नी त्रिवेणी गाउँ पालिकाले ४१ करोड ९२ लाख ६२ हजार ४१ बजेट ल्याएको उपाध्यक्ष पार्वती सिँह सन्ज्यालले बताइन् । त्यस्तै, पलाता गाउँपालिकाले ४८ करोड २३ लाख ३२ हजार ८ सय ४६ रुपैयाँ, शुभ कालिका गाउँपालिकाले ४६ करोड २० लाख ५० हजार ४ सय रुपैयाँ र महाबै गाउँपालिका ३५ करोड ८७ लाख ४७ हजार ९ सय ६६ रुपैयाँ बजेट सार्वजनिक गरेका छन् ।
Discussion about this post