कालिकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी द्वन्द्वकालको अन्तिम निसाना बनेको कालीकोटको पिलीमा निर्माण गरिएका पर्यटकीय संरचनाहरूको मंगलबार अनुगमन गरेका छन्।
प्रदेश सरकारले पिलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले भ्यु-टावर, पानी पोखरी, संग्रहालय, र टिकट काउन्टरजस्ता संरचना निर्माण गरेको छ।
मुख्यमन्त्री कँडेलले पिलिमा बनेका यी संरचनाको संरक्षणका लागि स्थानीय सरकारको सक्रियता आवश्यक रहेकोमा जोड दिए।
मुख्यमन्त्री कँडेलले कालीकोटको सदरमुकाम मान्ममा निर्वाचित जनप्रतिनिधि, संघ, प्रदेश, र स्थानीय तहका प्रमुखहरू तथा सबै राजनीतिक दलका नेता र सरोकारवालासँग विकास निर्माण, सुशासन, र सार्वजनिक सेवा प्रवाहका विषयमा छलफल गरे।
उनले पिली भ्यु-टावरको अनुगमनसँगै जिल्ला अस्पताल कालीकोटको नव निर्मित भवनको शुभारम्भ पनि गरे।
डिभिजन वन कार्यालय कालीकोटका प्रमुख महेश कुमाईले युद्धस्थलका रूपमा चिनिएको पिलीलाई पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्न सके स्थानीयलाई राहत मिल्ने र उनीहरूको उत्पादन र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
‘घटनाका बेला भोगेको पीडा पर्यटकीय गन्तव्य बनेपछि केही हदसम्म बिर्सिन सकिन्छ,’ कुमाईले भने, ‘अब युद्धको डाँडा मात्र नभई पर्यटक आउने ठाउँका रूपमा पनि पिलीलाई चिनाउन जरुरी छ।’
पर्यटकीय गन्तव्यका रूपमा विकसित पिलीले पर्यटकलाई अर्गानिक उत्पादन उपलब्ध गराई स्थानीयको आयआर्जनमा पनि महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।
भ्यु टावर निरिक्षणमा प्रदेश सदस्य दुर्गबहादुर रावत, नेकपा एमालेका केन्द्रीय सदस्य नगेन्द्र शाही , नेता कुर्मराज शाही कमल शाही लगायतकाे उपस्थिति थियाे ।
Discussion about this post