कालिकोट – यहाँका ९ वटै स्थानिय तहको तुलनामा रास्कोट नगरपालिका सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्य उपचारमा समस्या थियो ।
नगरपालिकाबाट नागरिक स्वास्थ्य उपचारका लागि एकदिन लगाएर सदरमुकाम मान्म पुग्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पताल भन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् ।
तर अहिले नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका पुराना साविकका गाउँ विकास समितीका ३ वटै गाविसमा तिन स्वास्थ्य चौकी मात्र थिए । अहिले ९ वटै वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् ।
ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय कास्विरा बिकले बताइन् । उनले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ लगाएर ऋण खोजेरै जिल्ला सदरमुकाम पुग्ने गरेको अनुभव सुनाइन् । अहिले जटिल खालको बिराम लागेपनी नगर अस्पतालमा उपचार हुन्छ । नगरपालिकाले आफूहरूको समस्या बुझेको उनी बताउछिन् ।
उनी भन्छिन्, “ज्वरो आयो भने, हातखुट्टामा चोट लाग्यो भने पनि सदरमुकाममै पुग्नुपथ्र्यो, अहिले साना–तिना बिरामी यही गाउँमै उपचार हुन्छ, यहाँ उपचार गराउन पाउँदा खुसी लाग्छ, अब पहिलेको जस्तो सदरमुकामै जान नपर्ने भयो, सरकारले हाम्रो समस्या बुझेछ ।”
गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेको जनाउँदै अहिले बिरामी हुँदा बित्तिकै स्वस्थ्यचौकी पुगेर जाँच गर्ने र ठूलो उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचार पाउने गरेको उनको भनाइ छ । पहिले–पहिले स्थानीयवासी बिरामी हुँदा अस्पताल जानुको सट्टा धामी–झाँक्री खोज्न जाने गरेको स्मरण गर्दै अहिले धेरैजसो बिरामी पर्दा साथ अस्पताल जाने उनी बताउँछिन् ।
नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि नगरपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको नगर उपप्रमुख मनिराज वरालले बताए । नागरिक बिरामी परे घण्टौँ लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रूपमा सहज गराउनका लागि गाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना र नगरमा अस्पताल स्थापना गरेको उनको भनाइ छ ।
नगरपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यचौकीको स्तरवृद्धि गर्ने र आधुनिक उपकरण तथा औषधि व्यवस्थापनमा जोड दिएको उपप्रमुख वरालको भनाइ छ । पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्थामा आउनेनागरिक अहिले १५ मिनेट आउन सक्ने भएको उनले बताए ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य संस्थामा आवश्यक उपकरण जडान, औषधि र दक्ष जनशक्ति व्यवस्थापनमा लागिरहेको नगर प्रमुख धर्मराज शाहीले बताए । गाउँमा आवश्यक शिविर देखी लिएर स्वास्थ्य संस्थामा औषधी उपकरण जनशक्ति व्यवस्थापनमा कमि गरेका छैनौ ।
अहिले मेयर हेल्थ केयर अभियान संचालन गरिरहेको शाहीले बताए । पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्ने बिरामी अब बढीमा आधा घण्टामै उपचार गराउन पुग्नुहुने छ, स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने अभियानमा हामीहरू छौँ ।”
तीन वर्षदेखि शून्य ‘होम डेलिभरी’
पछिल्लो पाँच वर्ष यता रास्कोट नगरपालिकामा होम डेलिभरी शून्य छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिको प्रभावकारी कार्यक्रमले गर्दा रास्कोटमा शून्य होम डेलिभरी हुन सफल भएको स्वास्थ्य संयोजक हंशराज वरालले बताए । गर्भवती नियमित गर्भ परीक्षण गर्न आउने र उनीहरूलाई स्वास्थ्यकर्मीले परामर्श दिइराखेको उनको भनाइ छ ।
उनी भन्छन्, “ रास्कोट अरु क्षेत्रभन्दा भौगोलिक हिसावले सुगमा क्षेत्र पहिले यहाँका नागरिक कम शिक्षित र जनचेतना पनि वृद्धि हुनसकेको थिएन, सरकारको ‘नीति’ उनीहरूसमक्ष पुगेको थिएन, तर अहिले सरकारका हरेक कार्यक्रम नागरिकसम्म पुगेको छ, गर्भवतीलाई पनि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने ज्ञान बढेपछि होम डेलिभरी शून्य भएको हो जस्तो लाग्छ ।”
सम्बन्धित फोटोः
१) प्रत्यक महिनाको एक पटक एक वडामा स्थास्थ्य जाँच गराउने कार्यक्रम अन्तरर्गत सिपखानामा गरिएको स्वास्थ्य शिविर
तश्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post