कालिकोट – रास्कोटका दुई विद्यालयमा निर्माण गरिएका बाल, लैङ्गिक तथा अपाङ्गतामैत्री सुविधा सम्पन्न शौचालय भवन हस्तान्तरण गरिएको छ। विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा स्वच्छ वातावरण सुनिश्चित गर्ने उद्देश्यले निर्माण गरिएका शौचालय एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।
प्लान नेपाल र वामनेष्ट नेपालको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको साझेदारीमा सञ्चालित रास्कोट महिनावारी स्वास्थ्य तथा खानेपानी, सरसफाइ एवं स्वच्छता सुधार परियोजना अन्तर्गत रास्कोट नगरपालिका–५ स्थित बडिमालिका माध्यमिक विद्यालय र वडा नं. १ स्थित कालिका आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको हो।
दुवै विद्यालयमा बालमैत्री, लैङ्गिकमैत्री तथा अपाङ्गतामैत्री सुविधा सम्पन्न तीन कोठे पक्की शौचालय भवन तथा हात धुने धारा निर्माण गरिएको छ। निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल, हुरेन्डेक नेपालका अध्यक्ष गौरीकुमारी शाही लगायतको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिलाई शौचालय हस्तान्तरण गरिएको हो।
शौचालय निर्माणमा कुल २३ लाख २८ हजार ८ सय ३३ रुपैयाँ खर्च भएको जनाइएको छ।
कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले विद्यालयमा स्वच्छ खानेपानी तथा सरसफाइको उचित व्यवस्थापन विद्यार्थीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउँदै निर्माण भएका संरचनाको संरक्षण र प्रभावकारी प्रयोगमा विद्यालय तथा समुदायले ध्यान दिनुपर्नेमा जोड दिए।
नगरपालिकाका उपप्रमुख मनिराज बरालले विशेषगरी छात्राहरूको महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि विद्यालयमा सुरक्षित र व्यवस्थित शौचालय आवश्यक रहेको बताए। उनले बालबालिका तथा अपाङ्गता भएका विद्यार्थीलाई सहज हुने गरी निर्माण गरिएका संरचनाको नियमित सरसफाइ र संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।
हुरेन्डेक नेपालका अध्यक्ष गौरीकुमारी शाहीले विद्यालयमा शौचालय निर्माणसँगै त्यसको नियमित प्रयोग, सरसफाइ र संरक्षणको संस्कार विकास गर्नुपर्नेमा जोड दिइन्। उनले महिनावारी स्वास्थ्य, खानेपानी तथा सरसफाइका विषयमा विद्यार्थी र समुदायमा थप जनचेतना आवश्यक रहेको बताइन् ।
शौचालय हस्तान्तरणसँगै दुवै विद्यालयका विद्यार्थीले सुरक्षित, स्वच्छ र व्यवस्थित शौचालय प्रयोग गर्ने सुविधा पाएका छन्। निर्माण भएका संरचनाले विशेषगरी छात्राहरूको महिनावारी स्वास्थ्य व्यवस्थापन तथा अपाङ्गता भएका विद्यार्थीलाई सहज रूपमा शौचालय प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालय पक्षले नयाँ संरचनाको नियमित सरसफाइ, उचित प्रयोग तथा संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सम्बन्धित फोटोः







