जाजरकोट जन्मथलोदेखि कालिकोटको राजनीतिसम्म : कमला सिंह शाहीको संघर्षपूर्ण यात्रा

जाजरकोट जन्मथलोदेखि कालिकोटको राजनीतिसम्म : कमला सिंह शाहीको संघर्षपूर्ण यात्रा

 

कालिकोट –   नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कालिकोटबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी कांग्रेस नेतृ कमला सिंह शाहीको राजनीतिक यात्रा जाजरकोटबाट सुरु भएर कालिकोटसम्म आइपुगेको छ। पारिवारिक राजनीतिक संस्कार, विद्यार्थी जीवनदेखिको सक्रियता र संगठन निर्माणमा निरन्तर संलग्नताका कारण उनको राजनीतिक परिचय विस्तार हुँदै गएको छ।

जाजरकोट जिल्लामा जन्मिएकी कमला बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किएकी हुन्। उनका बाजेदेखि बुवासम्म राजनीतिक संस्कार र सामाजिक गतिविधिमा संलग्न थिए। उनका बुवा गाउँ विकास समिति (गाविस) सभापति हुँदा घरमै नेपाली कांग्रेसका बैठक तथा छलफल हुने गर्थे। त्यही वातावरणले कमलालाई सानै उमेरदेखि राजनीतिप्रति आकर्षित गरेको थियो।

२०६६ सालमा एसएलसी उत्तीर्ण गरेकी कमलाले जाजरकोटको खलंगामा शिक्षा विज्ञान विषय अध्ययन गर्दै कक्षा १२ उत्तीर्ण गरिन्। घरपरिवारबाट टाढा बसेर अध्ययनलाई निरन्तरता दिएकी उनले विद्यार्थी राजनीतिलाई पनि सँगसँगै अघि बढाइन्। २०६७ सालदेखि नेपाली कांग्रेसको साधारण सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय भएकी उनी क्रमशः क्रियाशील सदस्यसमेत बनिन्।

उच्च शिक्षाका लागि रुकुमको खोलागाउँस्थित जाहारी क्याम्पस पुगेकी कमलाले शिक्षा विज्ञान विषयमा स्नातक तहको अध्ययन अगाडि बढाइन्। यसै क्रममा नेपाल विद्यार्थी संघको इकाइ उपसभापतिको जिम्मेवारी सम्हाल्दै विद्यार्थी संगठनमा सक्रिय भइन्। विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय रहेकी उनले २०७३ सालमा नेपाली कांग्रेस  जाजरकोटको कार्यालय सचिवको जिम्मेवारीसमेत निर्वाह गरिन्।

२०७३ साल फागुनमा विवाह गरेर कालिकोट आएकी कमलाको राजनीतिक जीवनले नयाँ मोड लियो। उनको विवाह यस्तो परिवारमा भयो,

नयाँ पारिवारिक परिवेश र राजनीतिक पृष्ठभूमिलाई बुझ्न उनलाई केही समय लाग्यो। पारिवारिक जिम्मेवारीसँगै राजनीतिक यात्रालाई अघि बढाउने क्रममा उनका दुई सन्तान भए। छोरीको जन्म २०७५ वैशाख २० गते र छोराको जन्म २०७६ साउन ३ गते भएको हो। पारिवारिक जिम्मेवारीका बीच पनि उनले आफ्नो अध्ययन र राजनीतिक सक्रियतालाई निरन्तरता दिइरहिन्।

२०७६ साल फागुनतिर उनी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर काठमाडौंमा शिक्षा विज्ञान विषयमा स्नातकोत्तर अध्ययनका लागि पुगिन्। अध्ययनसँगै नेपाल विद्यार्थी संघको राजनीतिमा पनि सक्रिय रहिन्।

त्रिभुवन विश्वविद्यालयमा १६ वर्षपछि २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कमलाको पनि उम्मेदवार बन्ने इच्छा थियो। तर २८ वर्षे उमेर हदका कारण उनी उम्मेदवार बन्न पाइनन्। उम्मेदवार बन्न नपाए पनि संगठनलाई जिताउने अभियानमा भने उनी सक्रिय रूपमा लागिन्।

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्रचारप्रसार समितिको केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी उनले सभापतिका उम्मेदवार श्यामराज ओझालाई जिताउन महत्वपूर्ण संगठनात्मक भूमिका निर्वाह गरेको बताइन्छ। लामो समयपछि भएको उक्त निर्वाचनमा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापति पद जितेको थियो।

इकाइ उपसभापतिबाट सुरु भएको उनको विद्यार्थी राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसम्म पुगेको छ। विद्यार्थी राजनीतिमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र परिचालनमा सक्रिय रहेकी कमलाले पार्टी राजनीतिमा पनि आफ्नो भूमिका बढाउँदै लगिन्।

कालिकोटमा आएपछि नेपाली कांग्रेसको संगठन विस्तार तथा निर्वाचन गतिविधिमा पनि उनी सक्रिय रहिन्। युवा परिचालन समिति तथा युवा परिषद्मार्फत पार्टीले दिएको जिम्मेवारी निर्वाह गरिन्। २०७९ सालको स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा कालिकोटको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस नेता हिक्मतबहादुर विष्टलाई जिताउन पनि उनी चुनावी अभियानमा सक्रिय भएको बताइन्छ।

कमलाको राजनीतिक यात्राको अर्को रोचक पक्ष उनको पारिवारिक राजनीतिक परिवेशमा आएको परिवर्तन हो। उनका ससुरा नन्दबहादुर शाही तत्कालीन नेकपा एमालेको गाउँ कमिटी उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीति गर्दै आएका थिए। कमलाको निरन्तर राजनीतिक सक्रियता र पारिवारिक छलफलपछि शाही नेपाली कांग्रेसमा आबद्ध भए। हाल उनी नेपाली कांग्रेस कालिकोट जिल्ला कार्यसमितिको सदस्य बनेका छन्।

यसरी विवाहपछि फरक राजनीतिक पृष्ठभूमि भएको परिवारमा पुगेकी कमलाले आफ्नो परिवारलाई समेत कांग्रेसको संगठनसँग जोड्न भूमिका खेलेकी छन्।

पार्टीभित्रको आन्तरिक राजनीतिक विभाजन र गुटगत प्रतिस्पर्धाका बीच पनि कमला आफूलाई लामो समयदेखि शेरबहादुर देउवा पक्षमा उभ्याउँदै आएकी नेतृका रूपमा चिनाउँछिन्। नेपाली कांग्रेसमा विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसमा समेत देउवा पक्षमै रहेकी उनी त्यसयता पनि आफ्नो राजनीतिक धारमा निरन्तर रहेको बताउँछिन्।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणपछि पनि कमलाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्। भदौ २४ गते दिउँसो करिब २ देखि ३ बजेको समयमा उनले देउवा दम्पतीको स्वास्थ्यलाभको कामना गर्दै लामो स्टाटस लेखेकी थिइन्। आरजु राणामाथि भएको आक्रमणलाई महिलामाथिकै आक्रमणका रूपमा व्याख्या गर्दै उनले त्यसविरुद्ध निरन्तर आवाज उठाउँदै आएको बताउँछिन्।

विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्मको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी कमलाका लागि नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनबाट कालिकोटको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु राजनीतिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ।साथै उनि राजनीति शास्त बिषयमा त्रिभुवन बिश्वबिद्धालय बाट डबल मास्टर गरेकि छन ।

  1. जाजरकोटमा जन्मिएर विद्यार्थी राजनीति सुरु गरेकी कमला विवाहपछि कालिकोटलाई कर्मथलो बनाएर राजनीति मा सक्रिय छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित