तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारको विकल्पमा बनेको पाँचदलीय गठबन्धन सरकारले शासनसत्ता सम्हालेको पनि झण्डै वर्ष दिन पुग्न लाग्यो । यो पुगनपुग एक वर्ष पनि नेपाली जनताका लागि पूर्ववत् रूपमा खेर गएको वर्ष बन्दैछ । यो अवधिमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा निकै ठूलो आर्थिक एवं राजनीतिक संकटहरू देखापरे । कोरोनाभाइरसको संक्रमणीय जोखिमका कारण थिलथिलो भएर तङ्ग्रिन सुरु गरेको विश्व अर्थतन्त्र रूस–युक्रेन युद्धको तनावमा फस्न पुगेको छ । श्रीलंकाको चरम आर्थिक संकट विद्रोहको लप्कामा परिणत भएको छ ।
अहिले केही दिनयता सामाजिक सञ्जालहरूमा श्रीलंकाली जनताको विद्रोहको तस्बिर तथा भिडियो फुटेजहरू सार्वजनिक भइरहेका छन् । लाखौं प्रदर्शनकारीको भीड राष्ट्रपति गोटावाया राजापाक्षेको निवास छिरेका दृश्य सम्बन्धी फुटेजहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । सो घटनासँगै राष्ट्रपति राजापाक्षे निवास छाडी अज्ञात स्थलमा बसेका छन् भने त्यहाँको राजनीतिक तनाव बढ्दै गएको छ ।
अहिले सोही तस्बिर र फुटेजको हवाला दिंदै नेपालमा पनि त्यस्तो विद्रोहको संभावनाको भविष्यवाणीहरू सुरु भइरहेका छन् । कतिपय सर्वसाधारणदेखि राजनीतिक नेतृत्वसम्मले श्रीलंकाली विद्रोह झल्कने विभिन्न तस्बिरबाट रोमाञ्चित हुँदै विचार प्रवाह गरिरहेका छन् ।
श्रीलङ्काली सन्दर्भको कुरा गर्दैगर्दा सबैले यो हेक्का राख्नुपर्छ कि- श्रीलङ्काको यो अवस्था निकै ठूलो मूल्य चुकाएर आएको हो ! त्यसैले विद्रोहप्रति रोमाञ्चित हुँदै त्यस्तै विद्रोहको अपेक्षा गर्नु वाञ्छित हुँदैन, किनकि नेपालमा त्यो अवस्था आयो भने निकै ठूलो नोक्सानी हुनेछ । त्यस किसिमको विद्रोहले राजनीतिका अहिलेका धेरै चिज उलटपुलट हुनेछन् ! त्यो विद्रोह क्रान्ति हैन, एक हिसाबले प्रतिक्रान्ति हुनेछ र हाम्रा लागि अब त्यस्तो विद्रोह निकै महङ्गो पर्नेछ । जसरी २०औं शताब्दीको मध्य र अन्त्यतिर चलेको विश्व कम्युनिस्ट क्रान्तिको रोमाञ्चकताले धेरै देशले ठूलो गृहयुद्धको सामना गर्नुपर्यो । उसैगरी अन्यत्रको विद्रोहको रापमा रोमान्टिक भएर क्षति निम्त्याउने होइन, बरु त्यस्तो अवस्थाको अन्त्यका लागि अहिलेदेखि नै लोकतान्त्रिक विधि र प्रक्रियाबाट शासन–प्रशासनमा सुधार गर्नु/गराउनु बुद्धिमानी हुनेछ ।
अब मुलुकमा क्रान्ति वा विद्रोह होइन, लोकतान्त्रिक पद्धतिबाट मुलुकको अर्थ–राजनीतिमा नियमित परिवर्तन र सुधारको खाँचो छ । क्रान्तिबाट आउने उलटपुलटलाई पनि व्यवस्थापन गर्न त्यही विधि र पद्धति अपरिहार्य हुन्छ । त्यसैले विद्रोहमा रोमाञ्चित हुनु वाञ्छित देखिंदैन । तर, यति भन्दै गर्दा विश्वका क्रान्ति र विद्रोहबाट प्राप्त सन्देशलाई भने स्पष्ट रूपले ग्रहण गर्नु जरूरी हुन्छ । नेपालसँग मिल्दोजुल्दो र सिक्न लायक नकारात्मक शिक्षा श्रीलंकाको आर्थिक संकटभित्रका अर्थ-राजनीतिक किस्साहरू हुन् । तिनबाट शिक्षा लिन भने पटक्कै पछि पर्नुहुँदैन । तर, शासनसत्तामा बसेकाहरूले भने शिक्षा लिन सकिरहेको देखिंदैन, त्यो भने मुलुकका लागि अर्को दुर्भाग्य साबित हुनसक्छ ।
कोभिडका कारण विश्वभर वस्तु तथा सेवाको विनिमय प्रक्रियामा देखापरेको अवरोधले विश्व अर्थतन्त्र नै संकटमा पर्यो । कोभिडको प्रभाव मत्थर भएपछि अर्थतन्त्रमा सुधार आउन सुरु भयो । तर, केही महिनायता रूस-युक्रेन युद्धका कारण पुनः अर्थतन्त्रमा वस्तु सेवाको विनिमय प्रक्रिया अवरुद्ध हुन पुग्यो । त्यसयता विश्व बजारमै ऐतिहासिक रूपले मूल्यवृद्धि भइरहेको छ भने आर्थिक संकटका बादलहरू यत्रतत्र छरिएका छन् । मूलतः रूस–युक्रेन युद्धले पेट्रोलियम पदार्थ र खाद्यान्नको सप्लाई चेनमा निकै ठूलो अवरोध उत्पन्न हुँदा विश्वकै अर्थतन्त्र संकटमा परेको छ ।
त्यही संकटको हावाले नेपाललाई नछुने कुरै भएन । खासगरी नेपालमा उपभोग हुने तेलहन र दलहन जस्ता खाद्य पदार्थ पनि रूस युक्रेनकै बाटो हुँदै नेपाल आउने गर्दछन् । नेपालमा उत्पादन हुने खानेतेलको खाद्य सामग्री पनि आयातमै निर्भर छ । अनि विकल्पविहीन रूपमा अति निर्भर हुनुपरेको पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिका कारण नेपालको अर्थतन्त्र पनि संकटोन्मुख अवस्थामा छ । जनताको दैनिकी निकै महँगो हुँदै गएको छ । अब जनताले जीवन धान्न छाक कटौती गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । नभए पनि भान्सामा पाक्ने खानाको आइटम र मात्रा घटिसकेको छ ।
गएको एक वर्ष हामीले लोकतन्त्रलाई रि-स्टोर त गर्यौं तर, मुलुकको शासन व्यवस्थामा कुनै परिवर्तन भने भएन । सुशासनका सवालमा सरकारका मन्त्री एवं उच्च पदस्थ कर्मचारीहरू नै ‘पोलिसी ह्याक’मा संलग्न भएका घटना बाहिरिए । मुलुकको बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश र करका दरमा भएको हेरफेरलाई पोलिसी ह्याक नै मान्न सकिन्छ । त्यसो त नेपालमा यस्तै पोलिसी हेराफेरीबाट राजनीतिक व्यक्तिले कमिसन आर्जन गर्ने र सीमित व्यापारिक घरानाले अवाञ्छित मुनाफा आर्जन गर्ने प्रचलन नौलो होइन ।
Discussion about this post