नेपाली कांग्रेसकाे केन्द्रीय प्रतिनिधिमा दमन शाही

नेपाली कांग्रेसकाे केन्द्रीय प्रतिनिधिमा दमन शाही

  • कालिकोट – नेपाली कांग्रेसको आधिकारिक्ता बिवाद नसकिदै दुबै पक्षले महाधिवेनका गतिबिधि सुरू गर्ने भएका छन ।  देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने निर्णय सार्वजनिक गरिखएको छ। आज बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले  आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व रहेको भन्दै महाधिवेशनको तयारी अघि बढाइएको हो।

 

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले महाधिवेशनको प्रारम्भिक कार्यतालिकासहित विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय सार्वजनिक गरेको छ।

 

समितिका अनुसार २०८३ श्रावण २९, ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय भेला/सम्मेलनले दिएको निर्देशनअनुसार १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको २०८३ भदौ १७ र १८ गते बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो।

 

बैठकले महाधिवेशनको पहिलो चरणका रूपमा असोज १५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ। त्यसपछि पार्टीको विधान तथा निर्धारित प्रक्रियाअनुसार पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला तहका अधिवेशनहरू सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनमा जाने तयारी गरिएको समितिले जनाएको छ।

 

असोज ३ भित्र अधिवेशन तयारी समिति गठन गरिने

 

महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको छ। केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा पुगेर अधिवेशन तयारी तथा संगठनात्मक गतिविधिलाई सहजीकरण गर्ने बताइएको छ।

 

त्यसैगरी जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति, प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गरिसक्ने तयारी समितिले जनाएको छ।

 

पार्टीभित्रको आधिकारिकतासम्बन्धी विवादका कारण समानान्तर गतिविधि भइरहेका बेला तयारी समितिले भने चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको वैधानिक दायित्वअनुसार १५औँ महाधिवेशनको तयारी अघि बढाइएको दाबी गरेको छ।

 

महाधिवेशनको तयारीका लागि कर्णालीका विभिन्न जिल्लामा पनि केन्द्रीय प्रतिनिधि तोकिएका छन्। कालिकोटमा दमनबहादुर शाहीलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ।

 

त्यस्तै जुम्लामा भीमनिधि हमाल, डोल्पामा भैरवबहादुर शाही, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बख्तबहादुर शाही, बाजुरामा हरकजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन ताम्राकार, अछाममा कविराज पण्डित, दार्चुलामा सन्तोष पैतवाल, बैतडीमा चित्तमणि भट्ट, डडेल्धुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशीलाई प्रतिनिधि तोकिएको छ।

 

विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि

 

तयारी समितिले सार्वजनिक गरेको विवरणअनुसार पाँचथरमा सूर्यकुमार दाहाल, धनुषामा हरेशप्रसाद महतो, झापामा महीन्द्राकुमारी लिम्बु, महोत्तरीमा उषा राउत, संखुवासभामा दीपक खड्का, सर्लाहीमा सपुत कार्की, तेह्रथुममा सीता गुरुङ, रौतहटमा मो. मुख्तार अहमद र भोजपुरमा उत्तम चापागाईंलाई जिम्मेवारी दिइएको छ।

 

त्यस्तै धनकुटामा कमोत फागु, पर्सामा सुरेन्द्र न्यौपाने, मोरङमा भीम पराजुली, दोलखामा कुन्दनराज काफ्ले, सुनसरीमा लक्ष्मी खतिवडा, रामेछापमा पूर्णमान तामाङ (कान्छाराम), सोलुखुम्बुमा सुभराम बस्नेत, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा गणेश लामा, ओखलढुंगामा गोमा केसी, चितवनमा कञ्चनचन्द्र वाडे, उदयपुरमा नारायणबहादुर कार्की र ललितपुरमा मदनबहादुर अमात्यलाई प्रतिनिधि तोकिएको छ।

 

यसैगरी सप्तरीमा मञ्जु यादव, काठमाडौंमा कल्याणी रिजाल, सिरहामा सन्तोष चौधरी, गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, प्युठानमा ईश्वरसिंह विष्ट, तनहुँमा मणिभद्र शर्मा, बर्दियामा जग्गा पाण्डे, कास्कीमा शंकर भण्डारी, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, स्याङ्जामा गोविन्द भट्टराई, म्याग्दीमा ऋषि काफ्ले र बागलुङमा सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी दिइएको छ।

 

त्यस्तै नवलपुरमा गुरु बराल, नवलपरासीमा विकास घिमिरे, पाल्पामा कृष्ण बस्याल, अर्घाखाँचीमा भवुराम पौडेल, गुल्मीमा देउवाबहादुर थापा, रोल्पामा श्रीमानबहादुर खत्रीलगायतलाई सम्बन्धित जिल्लामा खटाइएको तयारी समितिले जनाएको छ।

 

विवादका बीच महाधिवेशनको तयारी

 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।

 

तयारी समितिले भने कथित विशेष महाधिवेशन पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाउन खोजेको भन्दै त्यसलाई अस्वीकार गरेको छ। चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको समितिको भनाइ छ।

 

समितिले महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न पार्टीका सबै तहका जिम्मेवार नेता–कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।

 

१५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने लक्ष्यसहित अहिले वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढाउने तयारी कांग्रेसले थालेको छ। असोज १५ गते हुने वडा अधिवेशनलाई महाधिवेशन प्रक्रियाको पहिलो महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित