Online News Khabar

युनिकोड

मैले यसकारण छाडें कान्तिपुर

876
SHARES
1k
VIEWS

मलाई चिन्नुहुने धेरैको मनमा एउटा प्रश्न खेलिरहेको हुनसक्छ– कलेन्द्रले कान्तिपुर किन छाड्यो ? उक्त प्रश्नको जवाफ २०८० कात्तिक २४ गतेको मेरो फेसबुक स्टाटसमा रहेको छ । यद्यपि यसको विस्तृतीकरण र पृष्ठभूमि थाहा पाउने खुल्दुली मेट्नका लागि यो ब्लग लेख्दैछु ।

00 00
१० असोज २०८० । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय परिसरमा थियौं– महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पूर्वकोषाध्यक्ष हेमन्त काफ्ले, प्रेस यूनियनका कर्णाली प्रदेश उपाध्यक्ष रमेश शाही र म । मैले वरिष्ठ उपाध्यक्ष बिष्टलाई भनें, ‘दाइ म कान्तिपुरबाट भोलि नै राजीनामा दिन्छु, साथीहरुको न्यायको लागि दायाँबायाँ नसोचेर आन्दोलनमा जाऔं ।’ परिवेश अघिल्लो दिन असोज ९ गते कान्तिपुर पव्लिकेशन्सले त्यहाँ कार्यरत पत्रकारलाई कानुनविपरीत अवकास र सरुवाको पत्र थमाएको थियो ।

मैले यसो भन्दै गर्दा ३ वटा तर्क अघि सारेको थिएँ । पहिलो– संभवतः नेपाली पत्रकारिताको इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा श्रमजीवी पत्रकारमाथि सामूहिक ‘कू’ भएको छ । घटनाको प्रकृति र परिणाम फरक भए पनि यो कान्तिपुरमा भएको ‘कोतपर्व’ हो । दोस्रो– पत्रकारमाथि यो कार्य हुँदै गर्दा पत्रिकाका प्रधानसम्पादक उमेश चौहान ‘अनविज्ञ’ हुनुहुन्छ । उहाँलाई कसको करार अन्त्य गरियो ? कसको कहाँ सरुवा भयो ? जानकारी छैन । किनभने उहाँले असोज ९ गते पत्रकारको करारनामा सकिएको र सरुवा गरिएको प्रकरणबारे सम्पादकीय समूहका सिनियर साथीहरुले राखेको जिज्ञासामा अनविज्ञता जनाउनु भएको थियो । त्यसैले यो सम्पादकीय स्वतन्त्रताको ‘चीरहरण’ हो । तेस्रो– कान्तिपुरले गरेको कार्य गैरकानुनी छ । यसबाट दसकौंदेखि कान्तिपुरमा पसिना बगाएका श्रमजीवी पत्रकारमाथि घोर अन्याय भएको छ । उहाँहरुको श्रम अधिकार खोसिएको छ ।

म पत्रकारको हकहित र अधिकारका लागि संघर्षरत संस्थाको केन्द्रीय पदाधिकारी । काम गर्ने थलोमै यो सब भइरहँदा टुलुटुलु हेरेर कसरी बस्न मिल्छ ? नैतिक प्रश्न र महासंघको पदीय जिम्मेवारीले मलाई अप्ठ्यारो पार्छ ।

वरिष्ठ उपाध्यक्ष बिष्टले मेरा तर्कप्रति पूर्ण सहमति जनाउँदै भन्नुभयो– ‘तर तपाइँले अहिले राजीनामा नदिनुहोस्, किनभने कान्तिपुरको समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ ।´

उहाँको विचार परिपक्व र सकारात्मक सोचका साथ व्यक्त थियो । त्यसैले तत्काल राजीनामा दिने सोच स्थगित गरें ।

त्यसपछि महासंघको वरिष्ठ उपाध्यक्ष बिष्ट संयोजक रहेको श्रमजीवी पत्रकार हित प्रवद्र्धन समितिले असोज १४ गते कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरी र उपाध्यक्ष बुद्धि मरासिनीलाई केन्द्रीय कार्यालयमा बोलाएर त्यहाँको श्रम समस्या बुझ्नुका साथै आगामी रणनीति निर्माणबारे छलफल ग¥यो । सञ्चारगृहमा देखिएका श्रम समस्याहरु सम्बन्धित सञ्चारगृहमा रहेका महासंघका प्रतिष्ठान शाखाकै अगुवाइमा निवारण गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । प्रतिष्ठान शाखाहरुले मिडिया सञ्चालकका विरुद्ध बोल्न सक्दैनन् भन्ने तितो यथार्थलाई चिर्नका लागि पनि यसपटक कान्तिपुर प्रतिष्ठान शाखालाई सक्रिय गराऔं भन्ने मेरो सुझाव थियो । शाखासँगको परामर्शपछि महासंघले ‘श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निकाल्ने, कानुनविपरीत सरुवा गर्ने, काम गर्ने वातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य किमार्थ स्वीकार्य नहुने स्पष्ट पार्दै माग र आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रिने’ विज्ञप्ति जारी ग¥यो ।

महासंघले जारी गरेको प्रेस विज्ञप्ति

त्यसयता मैले कान्तिपुरमा देखिएको श्रम समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गरें । निस्कासनमा परेका कतिपय साथीहरुले ‘तपाइँ त चेपुवामा पर्नुभयो है’ भन्दै ममाथि आशंकाको नजरले हेर्दा मैले थापाथलीको आठौं तलाको न्यूजरुममै भनेको थिएँ– ‘म चेपुवामा परेको छैन । म मेरो भूमिकामा स्पष्ट छु । कोषाध्यक्ष पदको जिम्मेवारी एक दिनमात्र बाँकी रहे पनि मेरो लागि कान्तिपुरको जागिर गौण हुनेछ । म तपाइँहरुको न्यायको लडाइँमा सधैं साथमा छु ।’ यो कुरा मैले महासंघका औपचारिक–अनौपचारक बैठकमा पनि स्पष्टसाथ भनेको छु ।

कात्तिक २८ गते महासंघ केन्द्रको निर्देशनविपरीत त्यहाँको प्रतिष्ठान शाखाले व्यवस्थापनसँग आर्थिक ‘प्याकेज’ को सहमति ग¥यो, जसलाई अधिकांश पीडित साथीहरुले स्वीकारेनन् । त्यसर्थ महासंघ केन्द्रीय समितिले असोज २९ गते पहिलो चरणको आन्दोलनको घोषणा ग¥यो । त्यसयता महासंघ निरन्तर आन्दोलनमा छ ।

महासंघले आन्दोलन घोषणा गर्दै जारी गरेको विज्ञप्ति

मैले समस्या समाधानका लागि खेलेको समन्वयकारी भूमिका पनि निरर्थक रह्यो । वार्ताका लागि व्यवस्थापन पक्ष अग्रसर हुनुपर्ने हो, तर यसपटक कान्तिपुर व्यवस्थापन महासंघसँग पौठेजोरी खेल्नमात्र अग्रसर भयो । बरु मैले प्रधानसम्पादक चौहान र महासंघका अध्यक्षसहित पदाधिकारीलाई २ पटक सँगै राखेर समस्या समाधानका लागि समन्वयात्मक पहल गरेँ । निर्णायक तहमा रहेकाहरु भने कोही महासंघलाई नचिन्ने, कोही चिनेर पनि नजरअन्दाज गर्ने । उनीहरु देशको राजनीतिक तथा शासकीय शक्ति केन्द्र अनि बिचौलियालाई प्रयोग गरेर महासंघका पदाधिकारीलाई प्रभावित गर्ने प्रयासमा लागेका देखियो । कान्तिपुरजस्तो देशको प्रमुख व्यावसायिक सञ्चारगृहको यस तहको गैरव्यावसायिक कार्य मेरा लागि निकै अनपेक्षित थियो । कान्तिपुरभित्रै रहेर मेरो अन्तरआत्माले यसलाई स्वीकार्न सकेन ।

यी त भए, पर्दाभित्रका कुरा । श्रमजीवी पत्रकारको न्यायको लडाइँमा महासंघले थालेको आन्दोलनलाई दवाउन कान्तिपुरले अनेक हतकण्डा अपनायो । महासंघको कान्तिपुर प्रतिष्ठान शाखाको लेटरप्याड दुरुपयोग गरेर आन्दोलनविरुद्ध वक्तव्यबाजी गरियो । सोही कारण महासंघ केन्द्रीय समितिको कात्तिक १७ को बैठकले कान्तिपुर शाखालाई निलम्बन ग¥यो । त्यसपछि पनि कान्तिपुर व्यवस्थापनले कात्तिक २१ गते महासंघमाथि अत्यन्तै आधारहीन र भ्रमपूर्ण आरोप लगाउँदै विज्ञप्ति जारी ग¥यो । श्रमजीवी पत्रकारको न्यायको लडाइँलाई विषयान्तर गर्न गरिएको उक्त कार्य अत्यन्तै खेदजनक थियो ।

कान्तिपुरभित्र देखिएको श्रम समस्यालाई केन्द्रमा राखेर हेर्दा म उक्त सञ्चारगृहका गतिविधिसँग सहमत हुन सक्ने अवस्था रहेन । श्रम अधिकारको पक्षमा वकालत गर्ने, कानुन कार्यान्वयका लागि पैरवी गर्ने, लोकतन्त्र र प्रेस स्वतन्त्रताको प्रवद्र्धन गर्ने अग्रणी सञ्चारमाध्यम हो– कान्तिपुर । कान्तिपुरभित्र रहँदै गर्दा मलाई लाग्यो ‘कान्तिपुर अब कान्तिपुर रहेन’ । कान्तिपुरले आफ्नो आत्मा गुमाइसक्यो ।

यतिसम्म पढ्दै गर्दा तपाइँहरुको जिज्ञासा केही हदसम्म शान्त भयो होला । अब तपाइँहरुलाई कान्तिपुर छाड्नुको खास बिन्दूतिर लैजान्छु ।

महासंघले थालेको आन्दोलन दोस्रो चरणमा प्रवेश गरिसक्यो । पीडित पत्रकार साथीहरु न्यायको लागि दिनहुँ मूलगेटमा धर्ना बसिरहेका छन् । मलाई भने साँच्चिकै उकुसमुकुस थियो । दसैं बिदापछि त काम गर्ने जाँगर पनि मरिसकेको थियो । यद्यपि कान्तिपुर व्यवस्थापनले कतै समस्या समाधानका लागि अग्रसरता लिइहाल्छ कि भन्ने झिनो आशा भने थियो । तर व्यवस्थापन पक्ष श्रमजीवीको समस्या समाधान गर्नुको साटो पारिवारिक कार्यक्रममा व्यस्त भयो ।

यी सबैको आधारमा मैले कान्तिपुर छाड्ने निर्णय गरेँ । मेरो जागिरलाई मैले पीडित पत्रकार साथीहरुको न्यायको लडाइँमा महासंघले थालेको आन्दोलनको बहावमा मिसाउने निश्कर्षमा पुगें । अनि कात्तिक २४ गते बिहानै सुर्खेतमा रहनुभएकी जीवनसाथी बिमलाजीसँग राजीनामाको लागि स्वीकृति मागें ।

मानव संशाधन विभाग प्रमुखलाई दिएको राजीनामा
00 00

उक्त दिन करिब ११ बजेतिर थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्कको आठौं तलामा रहेको मानव संशाधन विभाग प्रमुख पुष्पराज गिरीको कार्यकक्षमा पुगेँ । मैले उहाँलाई मूलभूत रुपमा २ वटा कुरा भनेँ । पहिलो– अहिले कान्तिपुरमा सम्पादक (प्रधानसम्पादक) हुनुहुन्न, त्यसैले तपाइँलाई सम्बोधन गरेर राजीनामा दिँदैछु । पत्रकार महासंघले पनि कान्तिपुरको सम्पादक खोजिरहेको थाहै होला । दोस्रो– म कान्तिपुरबाट बाहिरिए पनि समस्या समाधानका लागि अहिले जत्तिकै सकारात्मक ढंगले लाग्नेछु । किनभने नेपालको लोकतन्त्र, प्रेस स्वतन्त्रता, सामाजिक न्यायको लागि कान्तिपुरको भूमिका पनि महत्वपूर्ण रहेको छ । प्रेस स्वतन्त्रताको सन्दर्भमा त महासंघको लागि कान्तिपुर सारथि नै हो । पत्रकार महासंघले कान्तिपुरलाई कमजोर होइन, बलियो बनाउन चाहन्छ । यसका लागि श्रमजीवी पत्रकारको पक्षमा निस्वार्थ र सम्झौतारहीत अनवरत संघर्षरत नेपाल पत्रकार महासंघको अस्तित्वलाई स्वीकारेर मात्र पुग्दैन, सम्मान पनि गर्नुपर्दछ । अनि आठौं तलाबाट भूइँमा झरेर उकुस–मुकुसबाट उन्मुक्त हुँदै स्टाटस पोस्ट्याएँ ।by karnalitimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित