कालिकोट – पलाता गाउँपालिका छलाहाँका ८७ वर्षीय काँसी रोकाया पछिल्ला तीन वर्ष कष्टपूर्ण रहे । आँखाको दृष्टि गुमेपछि एक ठाउँबाट अर्को ठाउँमा सर्नका लागि पनि साहारा चाहिन्थ्यो । ओछ्यानदेखि आँगनसम्म पुग्दा उनलाई हात समाएर बाहिर भित्र लिनका लागी एक जना साहारा अनिवार्य चाहिन्थ्यो । बाहिर भित्र लिनका लागी घरमा एक जना मान्छे नुहदा आफै हिड्न खोज्दा उनी धेरै पटक ढले पनि । आइतबारदेखि उनको आँखाको ज्योति फेरि फर्केको छ ।
दृष्टि फर्केपछिको खुशी रोकायाको अनुहारमा प्रष्टै देखिन्थ्यो । ‘आँखामा ज्योति नहुँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिँदो रहेछ,’ शल्यक्रियापछि दृष्टि फर्किएपछि खुशी हुँदै उनले भने, ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेरि संसार देख्ने भएको छु।’
आँखाको ज्योति फर्काउन अस्पतालसम्म पुग्नु पर्दथ्यो । उनी एक्लै अस्पताल पुग्न सक्ने अवस्था थिएन । छोरा–बुहारीले सदरमुकाम मान्म ल्याइदिएको भए उनले तीन वर्षसम्म दृष्टि गुमाएर बस्नुपर्ने थिएन । ‘आर्थिक समस्या पनि थियो, धेरै पैसा लाग्ने हो कि भन्ने डरले छोरा–बुहारीले पनि अस्पताल लगेनन्,’ उनले भने, ‘गाउँमा आएको शिविरमा चेक गराएँ, निःशुल्क अप्रेशन भयो, खुशी लागेको छ।’
काँसी मात्र हैनन् सोही गाउँपालिका –४ का मनसुर वुढाले पनी गुमेको आँखाको ज्योती पाएपछी संसार देख्न पाएका छन । ‘छिमेकीको साथमा लागेर अप्रेशन गर्न आएको थिएँ,’ उनले भने, ‘मोतियाविन्दूको जालोले बन्द भएका आँखा डाक्टरले खोलिदिए धन्यवाद गाउँपालिका सरकार ।
शिविरमा आएकाहरु बुढ्यौलीका कारण आँखामा लागेको जालो फालेपछि दृष्टि फर्किएको खुशी एकअर्कामा साटिरहेका थिए । ‘आँखामा दृष्टि नहुँदा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ मनसुरले भने्, ‘अब आँखा देख्ने भएका छौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो ।’
उनले आँखा बन्द भएपछि परिवार र आफन्तले गर्ने दुव्र्यवहारले सारै पिरोल्ने गरेको अनुभव सुनाए । ‘आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन’ उनले भने्, ‘ज्योति फर्कियो आफ्नो काम आफै गर्न सक्छु, अब कसैले हेला नगर्लान् ।’
पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले प्रत्येक वर्ष निशुल्क शिबिर संचालन गर्ने बताए । यो पहिलो शिबिर हो सबै वडामा आँखा उपचार शिविरको आयोजना गरिएको बताए । ‘वडावडामा गरिएको आँखा शिबिरले आँखा रोगिहरको उपचार संगै चेकजाँच पनी गरिएको छ । शिविरमा मोतियाविन्दू देखिएकाहरुको निःशुल्क रुपमा ७७ जनाको शल्यक्रिया गरिएको छ ं,’ उनले भने, ‘यसबाट जेष्ठ नागरिकहरुले ठूलो राहतको महशुस गर्नु भएको छ।’
हिमालय आँखा अस्पताल घारी पाटन पोखरा तथा जिला आँखा उपचार केन्द्र कालिकोटको प्राविधिक सहयोग रेडक्रस कालिकोट शाखाको सहजिकरण र पलाँता गाउँपालिकाको आयोजनामा तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो ।
तिनदिने निशुल्क आँखा उपचार शिविरमा ७७ जनाको सल्यक्रिया भएको थियो भने २ सय बढी आँखाका रोगिहरुको चेकजाच तथा उपचार गरिएको आँखा उपचार केन्द्र कालिकोटका प्रमुख डवल अधिकारीले बताए ।
उनले जेष्ठ नागरिक, बालबालिका, महिला र पछाडी परेको समुदायका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
सम्बन्धित फोटोः
१) गुमेको आँखाको ज्योती फर्केपछीको वृद्धवृद्धाको खुशी तश्बिर बिश्वनाथ सिम्खाडा





