जिल्लाको महावै गाउँपालिकाको कुनीमा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ। कालिकोट जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडीहरूको सहभागितामा आइतबार उद्घाटन गरिएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ बलिदान दिवसको अवसर पारेर महावै गाउँपालिका कुनी स्थित चन्द्रादेवी माध्यमिक विद्यालयमा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन गरिएको हो।
महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन) ले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो पालिकामा खेलाउन पाउँदा हर्षित भएको बताएका छन्। सिंहले खेल शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गराउन खेलाडीहरूलाई आग्रह समेत गरेका छन्।
फाल्गुण १४ गतेदेखि फाल्गुण १६ गते सम्म राष्ट्रपति रनिङ्ग शिल्ड हुने आयोजक कमिटीले बताएको छ। उद्घाटन कार्यक्रमको अवसरमा १५ सय मिटर र २ सय मिटरको दौड प्रतियोगिता सम्पन्न भएको छ।
१५ सय मिटर दौडमा सान्नीत्रवेणी गाउँपालिकाका विमल बम प्रथम, तिला गुफा नगरपालिकाका सोवन शाही दृतिय, खाँडाचक्र नगरपालिकाका बल प्रसाद पाण्डे तृतीय भएका छन्। यस्तै केटी तर्फ खाँडाचक्र नगरपालिका स्थित निशा मल्ल प्रथम, महावै गाउँपालिका निवासी सुनमाया सिंह दृतिय,नरहरीनाथ गाउँपालिका निवासी अस्मिता बुढा तृतीय भएका छन्।
२ सय मिटर दौडमा खाँडाचक्र नगरपालिका निवासी सविन गिरी प्रथम, पचालझरना गाउँपालिकाका कुम्मराज शाही दृतिय, नरहरीनाथ गाउँपालिकाका प्रशान्त विष्ट तृतीय भएका छन्।
महिलातर्फ तिल गुफा नगरपालिका निवासी अनमोल हमाल प्रथम भएकी छिन्। खाँडाचक्र नगरपालिका निवासी प्रमीला शाही दृतिय ,शुभकालिका गाउँपालिका निवासी रमिता भट्टराई तृतीय भएको सचिवालय संयोजक नवीन हमालले जानकारी दिए। अन्य खेलकुद प्रतियोगिता भने १६ गते सम्म सञ्चालन हुनेछन्।
Discussion about this post