प्रमुख र उपप्रमुखका आआफ्ना स्वार्थ , सडकमै हात हालाहाल

प्रमुख र उपप्रमुखका आआफ्ना स्वार्थ , सडकमै हात हालाहाल

कालीकोट- आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ।

कर्मचारी कति राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा दुई जनाबिच विवाद भएको हो। प्रमुख र उपप्रमुख दुवै जनाले आफ्ना अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले प्रतिक्रिया दिएका छन्।

शुक्रबार राति सडकमै हात हालाहाल गरेका प्रमुख र उपप्रमुखले आइतबार बिहान ११ बजे फेरि नगरपालिका बाहिर झगडा गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

अनेरास्ववियु कालीकोटका अध्यक्ष धर्मराज शाहीले सडकमै झडप हुन लागे पनि आफूहरुले रोकेको बताउनुभयो।

नगरप्रमुख कमलबहादुर शाहीले पुराना कर्मचारी सबै हटाउन नमिल्ने बताउनुभएको छ भने उपप्रमुख गणेशबहादुर शाहीले सबै करारका कर्मचारी हटाएर विज्ञापन गर्नुपर्ने अडान लिनुभएको छ।

उपप्रमुखकै माग बमोजिम करार कर्मचारी हटाएर पुनः विज्ञापन भएको र आज भोलि नै नयाँ करार कर्मचारीको नतिजा निकाल्ने तयारी हुँदा स्वार्थ बाझिएकाले विवाद भएको कमर्चारीको भनाइ छ।

उपप्रमुख शाहीले व्यङ्ग्यात्मक शैलीमा प्रमुख र प्रमुखबीच केही विवाद भएको जानकारी दिनुभयो। उहाँले थप कुरा भेटमा भन्ने बताउनुभएको छ। नगरपालिकामा आ–आफ्नो पक्षका कर्मचारी राख्ने प्रयास असफल हुँदा झगडा भएको कर्मचारीले बताएका छन्।

वैशाखको चुनावमा नगरप्रमुख स्वतन्त्रबाट र उपप्रमुख माओवादी केन्द्रबाट विजयी हुनुभएको हो।

नगरप्रमुख अहिले नेकपा (एकीकृत समाजावादी)मा प्रवेश गर्नुभएको छ। चुनावमा तत्कालीन सत्ता पक्षको समीकरणमा टिकट नपाएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो।

Author
गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित