कालिकोट- खाँडाचक्र नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंगलबार विशेष अदालतमा उनीविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनीमाथि एक लाख ९७ हजार ८९५ रुपैयाँ हिनामिना गरेको आरोप छ।
अख्तियार प्रवक्ता भण्डारीका अनुसार खाँडाचक्र नगरपालिका पोल्ट्री बंगुर फार्मलाई ४२० वटा कुखुरा उपलब्ध गराउने सम्झौता भएको थियो। तर देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिएर चेक लुकाएका थिए।
त्यसबापत उनले घुस मागेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
खाँडाचक्र नगरपालिकाले वडा नं. ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरा पालन सीप विकास तालिम कार्यक्रम आयोजना गरेको थियो।
देवकोटाले कुखुराको साकोनी जातको चल्ला सम्झौताकर्ताबाट खरिद गरी तालिम कार्यक्रम आफैंले सञ्चालन गर्ने भनी सम्झौता गरेका थिए।
तर आफैंले गरेको सम्झौताविपरीत समयावधि तालिम सञ्चालन नगरिएको पाइएको प्रवक्ता भण्डारीले बताए। उनले एक दिन तालिम सञ्चालन गरी १५ दिन सञ्चालन गरेको देखाएर कार्यक्रम पूर्ण रूपमा सञ्चालन भएको भनेका थिए।
कार्यक्रमका झूटा बिल भरपाइ तथा कागजात तयार गरी कार्यालयबाट एक लाख ९७ हजार ८९५ रुपैयाँ भुक्तानी लिई हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
उनीविरूद्ध उक्त रकम बिगो कायम गरी कैद र जरिवाना समेत माग गरिएको छ।
त्यस्तै फार्मलाई चल्ला किनेबापत एक लाख ८० हजार १८० रुपैयाँ सम्झौताअनुसार भुक्तानी दिनुपर्ने थियो। त्यसबाट पनि उनले ३० हजार १८० रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ। उक्त रकम बिगो बमोजिम जरिवाना जफत गरी अदालतमा आरोपपत्र दायर भएको हो।
bysetopati





