कालिकोट —स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कालीकोट जिल्ला अस्पतालबीच द्विपक्षीय समझदारी भएको छ । प्रतिष्ठान र अस्पतालबीच स्वास्थ्य सेवा प्रवाह, जनशक्ति परिचालन र संस्थागत सुदृढीकरण सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । जिल्लाको समग्र स्वास्थ्य प्रणालीलाई जनमुखी र भरपर्दो बनाउनका लागि प्रतिष्ठान र अस्पतालबीचमा समझदारी पत्रमा भएको स्वास्थ्य सेवा कार्यालयका कालीकोटका प्रमुख डा. रत्नवीर सुनार जानकारी दिए ।
‘दुई पक्षबीच भएको समझदारीअनुसार प्रतिष्ठानले कालीकोट अस्पतालको आवश्यकताका आधारमा विशेषज्ञ चिकित्सक, इन्टर्न डाक्टर तथा नर्सिङ जनशक्ति परिचालन गर्नेछ,’ उनले भने, ‘जिल्लामा खटिने स्वास्थ्यकर्मीहरूको आवश्यक स्थानीय व्यवस्थापन, समन्वय तथा कार्य सञ्चालनको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य सेवा कार्यालय कालीकोटले लिनेछ ।’ दुवै संस्थाबीच स्वास्थ्य सेवा, शिक्षण सिकाइ, जनशक्ति विकास, अनुसन्धान तथा विशेषज्ञ स्वास्थ्य सेवामा सहकार्य गर्नु, प्रतिष्ठानका विद्यार्थी तथा ग्रामिण पोष्टिङको लागि जिल्ला अस्पतालमा आवश्यकताअनुसार अभ्यास, अवलोकन तथा क्लिनिकल सिकाइको अवसर प्रदान गर्ने सम्झौता भएको प्रमुख डा. सुनारले बताए ।
त्यस्तै, प्रतिष्ठानले अस्पतालका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अभीमुखीकरण तथा सीप विकास कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, दुवै संस्थाको समन्वयमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि नियमित सिएमसी, कार्यशाला तथा गोष्ठी सञ्चालन गर्ने सम्झौता भएको डा. सुनारले जानकारी दिए । प्रतिष्ठानले उपलब्ध जनशक्ति तथा स्रोतसाधनका आधारमा कालीकोट जिल्लाका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने, आवश्यकता र आपसी सहमतिअनुसार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरी विशेषज्ञ परामर्श, परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने र विशेषज्ञ सेवा तथा रेफरलः जटिल बिरामीको उपचार, रेफरल, विशेषज्ञ परामर्श तथा आवश्यक फलोअपका लागि प्रतिष्ठानसँग समन्वय गर्ने सम्झौता भएको छ ।
अनुसन्धान तथा गुणस्तर सुधारका लागि संयुक्त अनुसन्धान, स्वास्थ्यसम्बन्धी तथ्याङ्कको गोपनीयता कायम गर्दै अध्ययन, अनुभव आदानप्रदान तथा सेवा गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने पनि सम्झौता भएको छ । दुवै संस्थाबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सेवा प्रवाहलाई नियमित, प्रभावकारी र गुणस्तरीय बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए । ‘दक्ष जनशक्ति र विशेषज्ञ डाक्टरको अभाव झेल्दै आएको कालीकोट जिल्ला अस्पतालका लागि सम्झौताले थप सुदृढ बनाउने छ,’ उनले भने, ‘यो एक ऐतिहासिक सम्झौता भएकाले चाडै कार्यान्वयनमा आउनेछ ।’
प्रतिष्ठानबाट जनशक्ति आपूर्ति भएसँगै जटिल प्रकृतिका बिरामीहरूले सामान्य उपचारका लागि समेत जिल्लाबाहिर रेफर हुनुपर्ने बाध्यता हट्ने र अस्पतालको सेवा प्रवाह थप सुदृढ बन्ने विश्वास लिइएको व्यवस्थापपक डा. सुनारले बताए । सम्झौता कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य सेवा कार्यालय कालीकोटको तर्फबाट स्वास्थ्य सेवा व्यवस्थापक सुनारसहितको प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।by health aawaj
थप पढनुहोस:





