Online News Khabar

लोकतन्त्र र दिशाहीन विद्रोह : परिवर्तन नारामा होइन, जिम्मेवारीमा हुन्छ

881
SHARES
1k
VIEWS
Oplus_16908288

नेपाल अहिले एउटा संक्रमणको दौरमा छ।
राजनीतिक रूपमा हामी स्वतन्त्र छौं,
तर मानसिक रूपमा अझै परनिर्भर।
लोकतन्त्रको स्वरूप त स्थापित भइसकेको छ,
तर यसको आत्माले अझै खोजिइरहेको छ।
हामीले संविधान लेख्यौं, व्यवस्था बनायौं,
तर नागरिकको चेतनामा कर्तव्य भन्दा अधिकार भारी बनायौं।
लोकतन्त्र केवल बोल्ने स्वतन्त्रता होइन,
यो बुझ्ने र निर्माण गर्ने जिम्मेवारी पनि हो।
तर हामीले स्वतन्त्रतालाई दुरुपयोग गरेर
उत्तरदायित्वलाई विस्मृतिको भूमिमा पुर्यायौं।
आजको नेपालमा आन्दोलन, विरोध, र प्रदर्शन —
यी शब्दहरू नयाँ पुस्ताको पहिचान बनेका छन्।
तर यस्ता विद्रोहहरू प्रश्न त उठाउँछन्,
तर उत्तर खोज्दैनन्।
र जब आन्दोलन दिशाहीन हुन्छ,
त्यो लोकतन्त्रको शक्ति होइन,
कमजोरीको संकेत बन्छ।
सडकमा चिच्याउनेहरू धेरै छन्,
तर मौन रूपमा निर्माण गर्नेहरू हराउँदैछन्।
हामी भन्छौं — “देश बदल्नुपर्छ,”
तर परिवर्तन कसरी भन्ने प्रश्नमा मौन हुन्छौं।
यो मौनता नै हाम्रो लोकतन्त्रको घाउ हो —
जहाँ आवाज बढी, तर दृष्टि कम छ।
हामीले राजनीतिक चेतनाको नाममा
भावनात्मक उन्मादको खेती गरिरहेका छौं।
टिकटकमा देशप्रेम, फेसबुकमा आन्दोलन,
र सडकमा फोटो सेसन —
यही नयाँ राजनीतिक अभ्यास हो आजकल।
तर चेतनाको क्रान्ति ‘भाइरल’ भएर हुँदैन,
यो त विचारमा जन्मिन्छ।
लोकतन्त्रको बल आलोचनामा होइन,
आत्मसमीक्षामा हुन्छ।
तर अहिले आलोचना मात्रै बाँकी छ,
आत्मसमीक्षा लोप भएको छ।
सबैलाई अरूको दोष देखिन्छ,
तर कसैले आफ्नै अनुहार ऐनामा हेर्दैन।
त्यसैले देशमा आन्दोलन हुन्छ,
तर परिवर्तन हुँदैन।
लोकतन्त्रलाई नारा बनाएर बाँच्न सकिँदैन।
यसलाई संस्कार बनाएर निभाउनुपर्छ।
तर हाम्रो पुस्ता,
संविधानको अक्षर त बुझ्छ,
तर यसको आत्मा बुझ्न चाहँदैन।
हामी स्वतन्त्रताको कुरा गर्छौं,
तर अनुशासनबाट डराउँछौं।
हामी समानताको माग गर्छौं,
तर जिम्मेवारीबाट टाढा भाग्छौं।
राजनीतिमा आज विचार होइन,
विचारको प्रदर्शन हुन्छ।
नेता प्रतिस्पर्धा गर्छन्,
तर देशको दिशामा होइन —
एकअर्कालाई कमजोर पार्न।
जनता आशा गर्छन्,
तर निराशा पाउँछन्।
यही चक्रमा लोकतन्त्र थकिएको छ,
र देश तातो भाषणहरूको धुलोमा हराइरहेको छ।
युवाहरूमा शक्ति छ —
तर त्यो शक्ति ज्ञानविहीन भए,
त्यो विनाशकारी बन्न सक्छ।
विद्रोह हरेक पुस्ताको अधिकार हो,
तर बिना दर्शनको विद्रोह,
सिर्फ भीड हो — विचार होइन।
हामीलाई चाहिएको क्रान्ति,
‘सडकमा झण्डा’ होइन,
‘हृदयमा चेतना’ हो।
हामीलाई चाहिएको आवाज,
‘कसैले सुन्ने’ होइन,
‘आफैं बुझ्ने’ हो।
हामीलाई चाहिएको परिवर्तन,
‘सत्ताको’ होइन,
‘संस्कारको’ हो।
लोकतन्त्रमा असन्तुष्टि स्वाभाविक हो —
तर दिशाहीनता घातक।
यदि हामीले लोकतन्त्रलाई जोगाउन चाह्यौं भने,
हामीले विरोध होइन,
उत्तरदायित्वको संस्कृति सिर्जना गर्नुपर्छ।
देश हल्लाएर होइन,
देश बुझेर बनिन्छ।
हामीलाई चाहिएको ‘रोमाञ्चक नाराहरू’ होइन,
शान्त कर्म र गहिरो सोच हो।
साँचो देशभक्ति भाषणमा होइन,
मौन योगदानमा हुन्छ।
जो नागरिक आफ्नो काम इमानदारीले गर्छ,
त्यो नै राष्ट्रनिर्माता हो —
न कि जो बिहानैदेखि फेसबुकमा
देशबचाउने पोस्ट गर्छ।
अब समय आएको छ —
भावनात्मक विद्रोहको होइन,
विवेकपूर्ण पुनर्जागरणको।
आवाजहरू धेरै उठिसके,
अब दिशा चाहिएको छ।
देशलाई रुखजस्तै बिस्तारै बढ्ने समय चाहिएको छ,
अचानक बलिरहेको मकैझैं जल्दो आन्दोलन होइन।
लोकतन्त्र हल्लाएर होइन,
संस्कार बनाएर टिक्छ।
त्यो संस्कार बन्न,
हामी सबैले आफ्नो भूमिका पुनःपरिभाषित गर्नुपर्छ।
हामीले सोध्नुपर्छ —
“देशले मेरो लागि के गर्‍यो?” होइन,
“म देशको लागि के गर्न सक्छु?”
किनभने अन्ततः —
परिवर्तन नारामा होइन,
जिम्मेवारीमा हुन्छ।

संपादकीय टिप्पणी:
“लोकतन्त्रको शक्ति नारामा होइन, चेतनामा हुन्छ —
र चेतनाको शक्ति जिम्मेवारीमा।”

लेखक: पुष्कर रोकाया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित