Online News Khabar

युनिकोड

गरिबका न्यायलयनै देवता

861
SHARES
1k
VIEWS

कालिकोट- अड्डा अदालतमा धेरैजसो बाठाटाठा मात्र जान्छन गरिबको न्यायलय त देवीदेवताका थान हुन यो भनाई रास्कोट नगरपालिका –२ का ६२ वर्षीय गोरे सार्कीले हो । बिना पैसामै जतीबेला पनी भाकल र बर माग्न सकिने गाउँघकै देबि देवताका थानहरु हामी जस्ताका लागी न्यायलय हुन ।
गाउँमा केही घटना होस वा बाद विवाद जे जस्ता बिवाद निम्तिए गाउँकै देव देवताका मठमन्दिरकै थानका घण्टमा कसम खाएर छोइपछी सत्य त्यहीबाट आउछ । गोरे सार्की मात्र हैनन् यहाँका ग्रामिण क्षेत्रका नागरिक अझैपनी देवी देवताकै विश्वास मान्दै आएका छन । सोही गाउँकै नन्दाराम तिमुल्सेना भन्छन उनी पनी पेषाले धामिनै हुन । मुद्धा मामिला भनेको त हुनेखानेहरुको लागी मात्र रहेछ । हामि जस्ता निमुखाहरुको लागी न्यायलय छैनन् । पैसा जसले प्यल्यो उसैको न्याय छ यो देशमा । गाउँका सोझा साझा मान्छेका लागी यीनै देवि देवता छन ।
न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकल सहित देवताको थान (मन्दिर) पुग्ने गरेको सामाजिक अगुवा दिपक तिमुल्सेना बताउछन । गाउँमा हुने सानातिना चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने गरेका हुन ।
स्थानीयले देवीदेवताको मन्दिरमा भाकल गर्न नयाँ कपडा लगाउने गरेका छन । ‘बरु दसैंतिहारमा नयाँ लुगा लगाउने चलन छैन,’ बडिमालिका माईका पुजारी कृष्णप्रसाद धमालाले भने, ‘देवीदेवताको पैठमा नया लुगा लगाउर्ने पर्र्नेे चलन रहेको सुनाए ।
देवीदेवताप्रति बढी विश्वास विपन्न र आर्थिक रूपमा कमजोर व्यक्तिको छ । ‘अड्डा अदालतमा धेरैजसो बाठाटाठा मात्र जान्छन्,’ मान्म–४ ताडीका धामी भाने विश्वकर्माले भने, ‘कानुन नजान्नेका सहारा देवता हुन ।’ उनले ढिलो भए पनि देवताले न्याय दिने विश्वास रहेको दाबी गरे । उनका घरमा पैठको बेला मात्र नभएर सधैंजसो धामी हेराउनेको भीड लाग्छ । बिरामी परे अस्पतालभन्दा पहिले धामीकहाँ पुग्ने चलनसमेत ग्रामीण क्षेत्रमा छ ।

धर्म, संस्कृतिअनुसार सन्तानका लागि भाकल गर्ने, विवाह व्रतबन्ध, लगन र साइतजस्ता कामका लागि पनि ग्रामीण बस्तीमा देवता गुहार्ने चलन रहेको मानव अधिकार समाजका अध्यक्ष दमनराज बमले बताए । ‘धार्मिक आस्था महत्त्वपूर्ण हुने रहेछ,’ उनले भने, ‘देवीदेवताको डरले यहाँका बासिन्दा अपराध गर्न हच्किन्छन ।’

परम्परादेखि पुजिँदै आएका मस्टो, धवलपुरो, कालाशिल्लो, कैलाश, महादेव, नैनेल, महाबै जगन्नाथ, खापरलगायत मन्दिरका धामीले अन्याय परेकालाई न्याय दिने जनविश्वास छ । देवताका धामीले झैझगडा, जारी, चोरी, जग्गा, जमिन, साँध सिमाना, अंशबन्डा जस्ता मुद्दाको फैसला माडु (थान) बाटै गर्ने चलन रहेको वरिष्ठ अधिवक्ता तुलाराज विष्टले बताए । ‘सानातिना मुद्दा देवताका धामीले नै मिलाउँछन्,’ उनी भन्छन्, ‘अदालतमा पुगेका मुद्दामा समेत देवता पुकारेर मिलापत्र हुने गरेका छन् ।’ उनले अदालतमा झुट बोले पनि देवताको मन्दिरमा सत्य बोल्ने भएकाले बढी विश्वास भएको जनाए ।

जिल्लाका विभिन्न स्थानमा जेठ पूर्णिमा, साउने पञ्चमी, जनैपूर्णिमा, अनन्ते पूर्णिमा, कोजाग्रत पूर्णिमा र मंसिर पूर्णिमामा मेला लाग्ने गरेको छ । मेलामा आफन्त भेटघाट गर्ने, धामी पर्तुने (नाच्ने), देउडा खेल्ने चलन रहेको रास्कोट–५, का धामी कालीबहादुर बमले सुनाए । उनका अनुसार देवताको पैठ (पूजा गर्ने दिन) धामीझाँक्रीले सेतो लुगा लगाउने र अन्यले नयाँ कपडा लगाएर पैठ हेर्न जाने चलन छ ।

जिल्लाका बासिन्दाले दसैंतिहारभन्दा पनि देवीदेवताको पैठलाई बढी महत्त्व दिने चलन रहेको स्थानीय भरतबहादुर शाहीले बताए । उनले देवताको पूजा गर्ने बेला कमाइका लागि भारत गएकाहरू गाउँ फर्किने गरेको बताए । प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका दिन स्थानीयवासी बडिमालिका, चुलिमालिका, पुगमालिका, महाबुंअ, गरुडस्नानी, पूजामालिकालगायत देवीदेवताका मन्दिरमा पूजाआजाका लागि जाने गरेका छन् ।

जिल्लामा ‘मुखाला (बाठाटाठा) को राजा (सरकार) र निमुखा (लाटासोझा) को देवता’ भन्ने भनाइ लामो समयदेखि चलिआएको छ । धर्मसंस्कृति र परम्पराको नाममा केहीले सोझा जनतालाई ठग्ने गरेको सामाजिक अगुवा वीर तिरुवाले बताए । ‘सामाजिक परम्पराको नाममा सोझासाझालाई ठग्ने काम भइरहेको छ,’ उनले भने, ‘पुस्तौंदेखि चलिआएका असल चलनलाई कायम राखेर अन्धविश्वास हटाउनुपर्छ ।’ उनले चरित्र सुधार्न नैतिक शिक्षाको खाँचो रहेको बताउँदै दलितलाई अझै पनि कतिपय देवताका मन्दिरमा विभेद हुने गरेको सुनाए ।

देवीदेवताका शक्तिले केही धामीले रोटी पाकिरहेको तेल पिउनु, फलामे त्रिशुल औंलाको भरमा भाँच्नु, बलेको आगोमा घन्टौंसम्म खाली खुट्टा पर्तुन (नाच्न) सक्नुले देवताप्रति सर्वसाधारणको विश्वास कायमै रहेको खाडाचक्र–२, थामकोटका धामी करवीरे विश्वकर्माले बताए । जिल्ला अदालतमा परेका न्यून मुद्दाले पनि अदालती न्यायभन्दा देवीदेवतामा बढी विश्वास हुने गरेको कानुन व्यवसायी अमलराज शाहीको बुझाइ छ ।

कालिकोट मष्टो देवताहरुको आधार इलाका नै हो । यहाँ १२ भाइ मष्टाका मन्दीरहरु गाउँ–गाउँमा छन् । प्राय ः मानिसहरु बिरामी पर्दा, अन्याय पर्दा, कसैले विभेद गर्दा पहिले देउता कहाँ जान्छन्। त्यसपछि अस्पताल, प्रहरी प्रशासन र न्यायलय जाने गर्छन्। परिवारको राम्रो कामका लागि होस् वा शुभ कार्यका लागि देवताको आशीर्वाद लिने गरिन्छ। देवता यहाँको लागि पहलो अस्पताल, पहिलो न्यायलय, पहिलो अभिभावकका रुपमा लिने गरिन्छ ।

यहाँ मष्टो धलपुरो, दाडे मष्टो, कामल्या मष्टो, सिमष्टो, खोदाई मष्टो, बज्यूमष्टो, कालासिल्लो, रमालमष्टो लगायतका १२ बटा मष्टो देवताहरु छन्। वर्षभरीमा माघ पूर्णिमा, जेठ पूर्णिमा, साउन पूर्णिमा र दशैंको समयमा जुहारे पैठ गरी चार पटक भव्य पाठ पूजा गरिन्छ। पूजाका अवसरमा भव्य मेलाहरु लाग्छन्। पैठमा गएर स्वच्छ मनले गरेको भाकल पूरा हुने धार्मिक विश्वास अहिले पनि कायमै छ । गाउँमा अन्यायमा परेकाहरुले देउताको भाकल गर्दा न्याय पाउने पनि विश्वास छ। देउता पुकारे कसैले पनि अन्याय गर्दैन् भन्ने विश्वास छ।

जिल्लाको ग्रामिण समुदायका नागरिकहरुका स्थानीय देवी देउता नै न्यायधीश हुने गरेका छन्। कानुनको पहुँचमा सहजै नपुग्ने स्थानीय विपन्न नागरिकहरुका लागि न्याय दिने माध्याम नै देउता हुन ्। स्थानीय नागरिकहरु जग्गा सम्बन्धि विवाद, आर्थिक लेनदेन, चोरी ठगीका घटना, बिरामी पर्दा तथा घरायसी झै झगडाहरुमा देउताका धामीलाई बसालेर न्याय माग्ने गर्छन्। देउताका झाँक्रीले दिएको आदेश सबैले मान्छन् पनि । पचालझरना ८ स्थित बज्युका धामी नयरुप संज्यालले भने, ’मानिसहरु आफ्नो हरेक समस्यामा आफूहरुलाई सम्झिन्छन् । हामी अवस्था अनुसार उनीहरुलाई सल्लाह सुझाव दिन्छौँ । रोग लागेर बिरामी परेको मान्छे हामीहरुसँग आएमा अस्पताल जाने सुझाव दिन्छौँ।’ पछिल्लो समय धामीहरुले पनि बिरामी हेर्दा अस्पताल लैजा भनेर बाटो सिकाउँछन्। पहिले झारफुक गराउने धामीले नै अहिले अस्पताल लान भन्दा नागरिकहरु बिरामी हुँदा अस्पताल जान उत्साही हुन्छन् । यसले स्वास्थ्य सेवामा पनि नागरिकको विश्वास बढाउन सहयोग पुगेको छ।

देवी देउताको पूजाले दुखी बिरामी निको हुने, भुत लागेको छोड्ने, पारिवारीक सुख शान्तिका साथै खेतमा राम्रो बाली पनि हुने विश्वास रहेको खाँडाचक्र नगरपालिका वडा नं. ३ का मष्टो धलपुराका गुठियार धनप्रसाद पाण्डेले बताए। उनले भने, ’पहिलेको तुलनामा अहिले देवी देउता प्रति मानिसहरुको लगाव घट्दै गएको छ । तर विश्वास कमी छैन। पहिले पहिले सुरुमा पाकेको बाली र सुरुमा फलेको फल र कुनै नयाँ कामको सुरुवात गर्दा देवी देउताको भरोषामा गरिथ्यो।’

मष्टो धलपुराको मन्दीर जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ३ ताडीको डाँडामा छ। हरेक वर्ष साउन पूर्णीमाको चतुर्दसीका दिन रतेडी र पञ्चमीका दिन दिउँसेडी गरेर धामी काँप्ने, पाठ पूजा गर्ने, देउडा खेल्ने गरी भव्य रुपमा मेला लाग्ने गरेको छ। पाण्डेले भने, ’मष्टो धलपुरो खसानहरुको मुल देवता हो। खस आरेहरु जहाँ भए पनि मष्टो धलपुरो नमान्ने कोही छैनन् । मष्टो देवता खसहरुको पुर्ख्यौली कुलदेवता पनि हो। खसहरुको परम्परा नै मष्टो धलपुरो देवतासँग जोडिएको छ। कर्णाली खस राज्य भएकाले कर्णालीमा मष्टो देवता प्राय सबैले मान्ने गरेका छन्। मष्टो धलपुरो पूजाको समयमा एकदशिका दिनदेखी ब्रत बसेर स्वच्छ मनले जे माग्यो त्यही पाईन्छ । जे सोच्यो त्यही पुग्छ।’

देवीदेवताको विश्वासले नै हरेक देवताको पैठमा खुटो धजा, फुल चामल लिएर मानिसहरु पूजामा सहभागी हुन्छन । बाजेका पालादेखि मानिआएको हाम्रो संस्कृति र परम्पराको निरन्तरता दिन र कुल नबिग्रियोस भनेर देवी देवताको पूजा गर्ने गरिएको स्थानिय बिरबल बुढाले बताए । साउन पूर्णिमाको दिनदेखि नै जिल्लाका ९ वटै पालिकामा रहेका मष्टो देवताका थानहरुमा मेला लागेका छन ्। जिल्ला बाहिर बसोबास गर्दै आएका नागरिकहरु पनि कुल देवता पुज्नका लागि गाउँ फर्किएका छन्। देवताको पैठलाई आफन्तहरुको भेटघाट र परिवारको सफलतासँग पनि जोड्ने गरिएको छ ।
सम्बन्धित फोटोः
१) सदरमुकाम मान्म नजिकैको ताडीमा मष्टो धलपुराको मन्दीरमा लागेको जात्रा । २) रास्कोट शिबनाथ का मेलामा नाच्दै गरेका धामी तश्बिर विश्वनाथ सिम्खाडा

फोटाः पुर्णसिह बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित