कालिकोट – नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय कालिकोटका भरत मल्ल नेपाली कांग्रेसको देउवा पक्षबाट जिल्ला उपसभापति बनेका छन्। सामान्य आर्थिक अवस्थाबाट संघर्ष गर्दै राजनीतिमा अघि बढेका मल्लको राजनीतिक यात्रा मेहनत, निरन्तरता, अध्ययन र सामाजिक सेवासँग जोडिएको छ।
नेपाल सांस्कृतिक संघबाट राजनीतिक यात्रा सुरु गरेका मल्ल १२ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय भएका हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिप्रति रुचि राख्दै आएका उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य पदमा समेत प्रतिस्पर्धा गरेका थिए। नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाको राजनीतिक धारमा सुरुदेखि अहिलेसम्म निरन्तर सक्रिय रहँदै आएका मल्लले लामो राजनीतिक संघर्षपछि जिल्ला उपसभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्।
उनको राजनीतिक यात्रा पद प्राप्तिका लागि मात्रै सीमित छैन। पार्टीको क्रियाशील सदस्यता जोगाउन टमाटर बिक्री गरेरसमेत आफ्नो राजनीतिक सक्रियता कायम राखेको संघर्षपूर्ण अनुभव उनीसँग छ। राजनीतिमा टिकिरहन आर्थिक आत्मनिर्भरता आवश्यक रहेको बुझाइका कारण उनी उत्पादन र उद्यमशीलतालाई विशेष महत्त्व दिन्छन्।
मल्ल कर्म र निरन्तर मेहनतमा विश्वास गर्छन्। उनको विचारमा राजनीति भनेको भाषण गर्ने, सभा समारोहमा सहभागी हुने, फोटो खिच्ने र सामाजिक सञ्जालमा सेल्फी राख्ने विषय मात्र होइन। राजनीतिले नागरिकको जीवनस्तर बदल्न सक्नुपर्छ। त्यसका लागि उत्पादन, रोजगारी र आर्थिक आत्मनिर्भरतालाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।
‘फोटो खिचेर र सेल्फी हानेर मात्रै समाज परिवर्तन हुँदैन। उत्पादनमा जोडिनुपर्छ, बेरोजगार युवालाई रोजगारी दिन सक्नुपर्छ। समाजलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छ। सुखी र समृद्ध समाज निर्माण गर्ने हो भने नेताहरू भाषणभन्दा काममा केन्द्रित हुनुपर्छ,’ मल्ल भन्छन्।
राजनीतिलाई कमाउने माध्यम बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उनी नेताहरू आफैँ आत्मनिर्भर बन्नुपर्ने बताउँछन्। उनका अनुसार नेता आर्थिक रूपमा परनिर्भर हुँदा स्वार्थ, लोभ र भ्रष्टाचारको जोखिम बढ्छ। आफू व्यवसाय र उत्पादनमा जोडिएर आत्मनिर्भर बन्न सके राजनीतिमा व्यक्तिगत लाभको लोभ कम हुने र जनताको सेवामा इमानदार भएर लाग्न सकिने उनको बुझाइ छ।
राजनीतिसँगै शिक्षा र सामाजिक सेवामा पनि योगदान
मल्लको अर्को परिचय सामाजिक क्षेत्रमा गरेको योगदानसँग जोडिएको छ। उनी केवल राजनीतिक गतिविधिमा सीमित रहेनन्। कालिकोटमा पहिलो पटक पुस्तकालय स्थापना गर्ने काममा समेत उनको पहल रहेको छ। समाज परिवर्तनको आधार शिक्षा र अध्ययन हो भन्ने मान्यता राख्ने मल्लले पुस्तकालय स्थापनालाई आफ्नो सामाजिक यात्राको महत्त्वपूर्ण कामका रूपमा लिएका छन्।
उनको विचारमा अहिले समाजको पहिलो आवश्यकता अध्ययन, सकारात्मक शिक्षा र जीविकोपार्जनका लागि उत्पादनसँग जोडिनु हो। शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई मानिसलाई सकारात्मक सोच, सीप, क्षमता र आत्मनिर्भरतातर्फ डो¥याउने आधार बन्नुपर्छ।
‘अहिले हामीलाई सबैभन्दा पहिले अध्ययन गर्ने संस्कार विकास गर्न आवश्यक छ। सकारात्मक शिक्षा र ज्ञानले मानिसको सोच बदल्छ। त्यससँगै जीविकोपार्जनका लागि उत्पादनमा जोडिनुपर्छ। जब मानिस आफैँ आर्थिक रूपमा आत्मनिर्भर हुन्छ, तब उसले गलत बाटो रोज्नुपर्ने बाध्यता कम हुन्छ,’ मल्लको भनाइ छ।
उनले राजनीति गर्ने व्यक्तिहरूले पनि समाजमा उत्पादन र रोजगारी सिर्जनाको उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै आएका छन्। बेरोजगार युवालाई विदेश पलायन हुनुपर्ने बाध्यताबाट मुक्त गराउन स्थानीय स्रोतसाधनको उपयोग, कृषि उत्पादन, उद्यमशीलता र स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको सोच छ।
पदभन्दा जिम्मेवारी र भाषणभन्दा उत्पादन
पछिल्लो समय राजनीतिप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको अवस्थामा नेताहरूले आफ्नो व्यवहार र कार्यशैली परिवर्तन गर्नुपर्ने मल्लको धारणा छ। जनताको विश्वास जित्न पद, शक्ति र पहुँचको प्रदर्शनभन्दा व्यवहार, इमानदारी र कामको परिणाम महत्त्वपूर्ण हुने उनी बताउँछन्।
उनको राजनीतिक सोचमा राजनीति, शिक्षा र उत्पादन एकअर्काका पूरक हुन्। अध्ययनले चेतना विकास गर्छ, सकारात्मक शिक्षाले समाजलाई सही दिशामा लैजान्छ र उत्पादनले नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ। यी तीन पक्षलाई सँगसँगै अघि बढाउन सके भ्रष्टाचार, लोभ र व्यक्तिगत स्वार्थमा आधारित राजनीतिक संस्कारलाई निरुत्साहित गर्न सकिने उनको विश्वास छ।
टमाटर बेचेर क्रियाशील सदस्यता जोगाएको संघर्षदेखि नेविसंघको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा, पुस्तकालय स्थापना र नेपाली कांग्रेसको जिल्ला उपसभापतिसम्मको यात्रा मल्लका लागि सहज थिएन। तर निरन्तर मेहनत, राजनीतिक निष्ठा र सामाजिक कामप्रतिको लगावले आफूलाई यहाँसम्म ल्याएको उनको बुझाइ छ।
अहिले जिल्ला उपसभापतिको जिम्मेवारी पाएका मल्लका लागि चुनौती पार्टी संगठनलाई बलियो बनाउनु मात्रै होइन, राजनीतिलाई उत्पादन, रोजगारी, शिक्षा र आत्मनिर्भरतासँग जोडेर जनताको विश्वास पुनः स्थापित गर्नु पनि हो। टमाटर बिक्री गरेर राजनीतिक सदस्यता जोगाउने संघर्षबाट सुरु भएको उनको यात्रा अब उत्पादन र आर्थिक आत्मनिर्भरतामार्फत समाज परिवर्तन गर्ने अभियानमा केन्द्रित देखिन्छ। उनी नेपाली कांग्रेसको पुर्व सहसचिव समेत हुन । उनको व्यहारिक अनुभोव संगै स्नाकोतर सम्मको शैक्षिक योग्यता पनी छ । उनी कालिकोटको खाँडाचक्र नगरपालिका ८ सेरावाडा स्थायी घर हो ।








