
१ साउन, पोखरा । पोखराको फेवातालको मुहानमा बनाइएका सिल्ट्रेसन ड्याम गुणस्तरहीन रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखाको हालै सार्वजनिक ५९ औं वार्षिक प्रतिवेदनमा ड्याम निर्माणका क्रममा गुणस्तरमा ध्यान नदिएको उल्लेख गरेको हो ।
‘…अँधेरी खोला र हर्पन सिल्ट्रेसन ड्यामको स्थलगत अवलोकन गर्दा ड्यामको तल्लो भागमा ढुंगाको गारो भत्किएको र लन्चिङतर्फको मर्मत कार्य भएको देखिएन’, महालेखाले भनेको छ, ‘गुणस्तरीय निर्माणमा महानगरपालिकाले ध्यान पुर्याएको देखिएन ।’
फेवातालमा बर्सेनी जम्मा हुने ठूलो मात्राका गेग्य्रान रोक्ने र ताल संरक्षण गर्ने भन्दै महानगरले प्रदेश सरकारको सहकार्यमा सिल्ट्रेसन ड्याम बनाएको थियो । प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले संयुक्त रुपमा ०७६ पुस ११ गते ड्यामको शिलान्यास गरेका थिए ।
फेवामा मिसिने खोलाहरु हर्पन, अँधेरी, बेत्यानी र लौरुक गरी ५ ठाउँमा बनाइएका ती ड्याममा पोखरा महानगर र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा २८ करोड १६ लाख रुपैयाँ लगानी गरेका थिए ।
मुहानबाट फेवातालमा ढुंगा, गिटी र बालुवाजन्य गेग्य्रान सिधै मिसिन पुग्दा तालको आकार साँघुरिँदै गएको र बर्सेनी १ लाख ४२ हजार मेट्रिक टन गेग्य्रान जम्मा हुने तत्कालीन समयमा तथ्यांक निकालिएको थियो । जसमध्ये हर्पन र खहरे खोलाबाट मात्रै १ लाखभन्दा बढी गेग्य्रान जम्मा हुने पत्ता लागेको थियो ।
बेत्यानीमा दुई, अँधेरी, घाँटीछिना र लौरुकमा एकएक वटा ड्याम गरी पाँचवटा ड्याम बनाइएको थियो । जसमध्ये बेत्यानी खोलाका दुई ड्याम श्री गीता र जयनेपाल ईश्वर जेभी र लौरुक, अँधेरी खोला तथा हर्पन खोलाको ड्याम बनाउने जिम्मा खड्का कृष्ण, पिके जेभीले पाएका थिए ।
ड्याम बनेपछि ती गेग्य्रान मुहानमै थिग्रिने र तालको संरक्षण हुने महानगरको विश्वास थियो । त्यहाँ थुप्रिएका गिटी, बालुवा बेचेर महानगर र प्रदेशले वार्षिक २३ करोड रुपैयाँ आम्दानी गर्ने योजना बनाएका थिए ।
तर, महानगर र प्रदेशको उक्त योजना लामो समयसम्म टिक्न पाएन । ड्याम बनिनसक्दै भत्किन सुरु गरेको अँधेरी खोलाको ड्याम ७७ को साउनमा कामै नलाग्ने गरी भत्कायो भने बाँकी बचेका ड्यामलाई पनि ठूलो क्षति पुर्यायो ।
निर्माण गुणस्तरमा त्यतिबेलै उठेको थियो प्रश्न
ड्याम भने बनाउन सुरु गरेको दुई महिनामै भत्किएपछि त्यतिबेलै स्थानीय वासिन्दाले गुणस्तरमा प्रश्न उठाएका थिए ।
ड्याम बनिनसक्दै भत्किन सुरु गरेको भन्दै चर्को आलोचना र विवाद उत्पन्न भएपछि ०७६ फागुन २ गते प्रदेश सांसद राजीव पहारीसहितको टोली स्थलगत अध्ययनमा पुगेको थियो । त्यतिबेला ड्यामको प्लास्टर सामान्य हातले छुँदा पनि भत्किएको थियो ।
त्यतिबेला निर्माण ठेक्का पाएको ठेकेदार कम्पनीले आफूहरुले सम्झौता अनुसार नै गुणस्तरीय सामग्री प्रयोग गरेको दाबी गरेको थियो ।
ड्यामको गुणस्तरबारे प्रदेशसभामै सांसदहरुले प्रश्न उठाएका थिए । तर सरोकारवाला निकायले चासो नदिँदा ठेकेदार कम्पनीले आफ्नै तरिकाले ड्याम निर्माण अघि बढाए ।
फलस्वरुप ७७ साउनमा आएको बाढीले अँधेरी खोलाको ड्याम पूरै भत्काइदियो भने खण्डहर बनाइदियो भने २ वर्ष नबित्दै हर्पन खोलामा बनेको ड्याम लगायत बाँकी खोलाका ड्याममा पनि क्षति पुग्यो ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले भत्किएका अँधेरी र हर्पन सिल्ट्रेसन ड्यामका ती २ वटा ड्यामको मर्मत गर्नमात्रै १ करोड १९ लाखभन्दा बढी लाग्ने औंल्याएको छ ।
Discussion about this post