कालिकोट – कालीकोट जिल्लाको शैक्षिक क्षेत्रको आमूल परिवर्तन गर्न सबै स्थानीय तहहरू सहमति भएका छन् । गत मंसिर २७ र २८ गते दुई दिन शिक्षा विकास तथा समन्वय इकाइले आयोजना गरेको वृहत् शैक्षिक परामर्श गोष्ठीमा शैक्षिक क्षेत्र सुधारका लागि जिल्लाभित्रका सबै स्थानीय तहहरूले प्रतिबद्धतासहित सहमति भएका हुन् ।
सबै स्थानीय तह र विद्यालयहरूमा कार्यान्वयन गर्नेगरी शैक्षिक गुणस्तर सुधार गर्न आगामी शैक्षिक सत्र २०८२ वैशाख देखि ५० बुँदे सुझावहरू लागु गर्ने गरी सबै प्रतिबद्ध रहेको इकाइ प्रमुख लाल प्रसाद पोखरेलले बताए ।
कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने प्रमुख अथिती रहेको उक्त कार्यक्रममा कर्णाली प्रदेशका सांसद दुर्गा बहादुर रावत,पूर्व उपकुलपति डा. नन्द बहादुर सिंह, शिक्षाविद् , राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, डा. विद्यानाथ कोइराला, ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख, ९ वटै सामाजिक विकास समितिका संयोजक, ७६ वटा विद्यालय प्रधानाध्यापक र जिल्ला भित्र रहेका २४ वटा एसईईका परीक्षा केन्द्राध्यक्ष लगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
आधारभूत तह कक्षा १–५ मा शिक्षकको अनुपातमा विद्यार्थी सङ्ख्या निकै कम देखिएकाले स्थानीय सरकारले विद्यालय समायोजन (मर्च) गरी अतिआवश्यक ठाउँमा कक्षा १–३ सञ्चालन गर्ने, स्थानीय सरकारको अनुदानबाट तलब भत्ता पाउने गरी कार्यरत रहेका शिक्षकलाई उचित पारिश्रमिकको व्यवस्था गर्ने, आधारभूत तह कक्षा ६–८ सञ्चालन भएका विद्यालयलाई विद्यार्थी सङ्ख्याको आधारमा विषय शिक्षकको व्यवस्था गरी श्रोत साधानपूर्ण र शिक्षण सिकाइ व्यवस्थित गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी २०८१ को शैक्षिक तथ्यांक अनुसार एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या ३ हजार ४ सय ४० जना मात्र विद्यालयमा अध्ययनरत भएकाले गत वर्ष कायम भएका एसईई परीक्षा केन्द्रलाई पुनरावलोकन गरेर परीक्षा समितिले एकिन गरी केन्द्र घटाउने र हरेक स्थानीय तहको सुविधा युक्त र पायक पर्ने विद्यालयमा आवश्यकता अनुसार एसईई परीक्षा केन्द्र निर्धारण गरी परीक्षार्थीलाई सम्बन्धित स्थानीय तहको केन्द्रमा राख्ने र केन्द्राध्यक्ष र निरीक्षक अन्तर स्थानीय तहको केन्द्रमा परिचालन गर्ने प्रतिबद्ध व्यक्त गरेका छन् ।
कालीकोट जिल्लाका नौं वटा स्थानीय तहमा शैक्षिक तथ्यांक २०८१ अनुसार ३०७ वटा बालविकास केन्द्रमा ३,६६५ छात्रा र ३,८२४ छात्र गरी ७४८९ बालबालिका अध्ययनरत छन । कक्षा ६–८ सञ्चालन भएका १२६ सहित २०८ वटा आधारभूत विद्यालय, प्राविधिक धार ९–१२ सञ्चालन भएका ३ वटा विद्यालय र कक्षा ११–१२ सञ्चालन भएका ४३ सहित ७५ वटा माध्यमिक विद्यालयसहित २८३ वटा विद्यालय सञ्चालनमा रहेका छन । आधारभूत तह कक्षा १–५ मा ११,१२७ छात्रा र १०,४१२ छात्र गरी २१,५३९ विद्यार्थी, कक्षा ६–८ मा ५,७५९ छात्रा र ५,६५२ छात्र गरी ११,४१२ विद्यार्थी, माध्यमिक तह कक्षा ९–१० मा ३,४४० छात्रा र ३,४२५ छात्र गरी ६८२५ विद्यार्थी, कक्षा ११–१२ मा १,१२१ छात्रा र १,१५९ छात्र गरी २,२८० विद्यार्थी समेत गरेर कक्षा १–१२ मा २१, ४४७ छात्रा र २०,६४९ छात्रगरी कुल ४२,०९६ विद्यार्थीहरू चालु शैक्षिक सत्रमा अध्ययनरत छन ।
साथै हाल सम्म ३० वटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा रहेका छन् । आधारभूत तह कक्षा १–५ मा ६८२ जना र कक्षा ६–८ मा १४२ शिक्षक, माध्यमिक तह कक्षा ९–१० मा ११५ र कक्षा ११–१२ मा ८२ शिक्षकसहित कुल १,०३१ जना शिक्षकहरू दरबन्दी र राहत अनुदानमा कार्यरत रहेका छन भने सङ्घीय तथा स्थानीय तहको अनुदानबाट पारिश्रमिक पाउनेगरी थप शिक्षकहरू समेत हाल कार्यरत रहेको अवस्था छ ।
हेर्नुहोस ५० बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको शैक्षिक क्षेत्रको आमूल परिवर्तनका लागि सबै स्थानीय तह र विद्यालयहरूमा कार्यान्वयन गर्नेगरी शैक्षिक गुणस्तर सुधार गर्न आगामी शैक्षिक सत्र २०८२ वैशाख महिना देखि निम्न ५० बुँदे सुझावहरू लागु गर्न हामी सबै प्रतिबद्ध छौँ ।
१. आफ्नो स्थानीय तह भित्रका स्थानीय शिक्षक तथा विषय शिक्षकहरूलाई आवश्यकता अनुसार विषय मिलान समेत हनेगरी समान तहमा जिम्मेवारी दिई स्थानीय सरकारले खटनपटन गर्ने छौँ ।
२. शिक्षक, विद्यार्थीहरूको डिजिटल वा अनलाईन हाजिरीको व्यवस्था गरी दिनको २ पटक अनिवार्य हाजिरी गर्ने गरी विद्यार्थी र शिक्षक पुरै समय विद्यालयमा रहने बस्ने वातावरण सिर्जना गर्नेछौँ ।
३. शैक्षिक तथा शैक्षणिक योजना निर्माण गरी कार्यान्वयनको समीक्षा गर्न महिनामा दुई पटक शिक्षक स्टाफ बैठक बस्ने अभ्यास अनिवार्य गर्ने छौँ ।
४. शैक्षिक गुणस्तर सुधारको लागि मासिक एक पटक अनिवार्य वि.व्य.स. को बैठक बसी छलफल गर्ने छौँ र उक्त बैठकमा बालबालिकाको सहभागिता अनिवार्य सुनिश्चित गराउने छौँ ।
५ बालबालिकाको सिकाई उपलब्धि वृद्धि गर्नका लागि छलफल गर्न शिक्षक अभिभावक संघको बैठक कम्तीमा महिनामा एक पटक अनिवार्य बस्ने छौँ ।
६. प्रत्येक विद्यार्थीलाई विद्यालयहरूले डायरी उपलब्ध गराउने छौँ र विद्यार्थीलाई दिइएको गृहकार्य गरेको र नगरेको हेरी डायरीमा अभिभावकले अनिवार्य रूपमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गर्ने छौँ ।
७. विद्यार्थीले गृहकार्य, परियोजना कार्य तथा कक्षा कार्य गरेको नगरेको विषय शिक्षकले चेकजाँच गरी अनिवार्य रूपमा पृष्ठपोषण दिने छौँ र यसका साथै निरन्तर विद्यार्थी मूल्याङ्कन अनिवार्य रूपमा दैनिक प्रयोग गर्ने छौँ ।
८. गृहकार्य नगरी आउने र डायरीमा अभिभावकको दस्तखत नगराई विद्यालयमा आउने विद्यार्थीलाई कक्षा शिक्षक विषय शिक्षकले अभिभावकलाई तत्काल सम्पर्क गरी जानकारी गराउने र गृहकार्य गर्न गराउन समन्वय गर्ने छौँ ।
९. स्थानीय उत्पादनलाई अर्गानिक खाजाको रूपमा विद्यार्थीले उपभोग गर्ने गरी सबै विद्यालयहरूले दिवाखाजा व्यवस्थापन गर्ने छौँ ।
१०. आगामी शैक्षिक वर्ष २०८२ वैशाख देखि नै सबै विद्यालयहरूले नेपाली भाषाको माध्यमका साथसाथै गणित, विज्ञान जस्ता विषयहरू सम्भव भएसम्म अङ्ग्रेजी भाषाको माध्यमबाट समेत पठनपाठनको सुरुवात गर्ने छौँ । यसका लागि स्थानीय शिक्षा शाखाले सहजीकरण गर्ने छौँ ।
११.त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाका लागि हरेक विषयको पाठ्यभार स्टाफ बैठकमा निर्णय गरेर एकिनगरी प्रधानाध्यापकले तोकी दिने छौँ ।
१२. सबै शिक्षक विद्यार्थी विद्यालय ड्रेसमा १०.०० बज्नु अगावै उपस्थित भै प्रार्थना आदी गरी सकेर ठिक १०.०० बजेबाट कक्षाकोठा भित्र नियमित कक्षा सञ्चालन गर्ने छौँ ।
१३. कुनै शिक्षक कुनै कारणले विद्यालयमा उपस्थित नभई कक्षा खाली हुन गएमा उक्त दिन प्रधानाध्यापकले अर्को कुनै शिक्षकलाई खटाउने वा विद्यार्थीलाई अन्य कक्षा क्रियाकलापमा क्रियाशील बनाउने छौँ ।
१४. कक्षा १० को पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक विद्यार्थीहरूलाई समयमै पढाएर अनिवार्य रूपमा कोष सक्ने छौँ र विद्यार्थीको पठनपाठन कमजोर भएको विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने छौ सो वापत स्थानीय तहले शिक्षकलाई प्रोत्साहन स्वरूप थप भत्ता÷ पारिश्रमिकको व्यवस्था गर्ने छौँ ।
१५. यही २०८१ साल फागुन महिना भित्र कालीकोट जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसक्नु पर्ने भएको हुनाले सो भन्दा अगावै खांडाक नगरपालिका, तिलागुफा नगरपालिका र सान्नीत्रीवेणी गाउँपालिकाले आआफ्नो स्थानीय तह साक्षर घोषणा गर्ने ।
१६. प्राविधिक धारका कक्षा ९–१२ सञ्चालन भएका र तीन वर्षे डिप्लोमाका कार्यक्रमहरू सञ्चालन गरेका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या एकदमै न्यून भर्ना भएको देखिएकाले सबै स्थानीय तह र सरोकारवालाले प्रचारप्रसार गरेर कोटा पुग्नेगरी विद्यार्थी भर्ना गराई प्रभावकारी रूपमा कक्षा सञ्चालन गर्ने र स्थानीय तहले स्रोत व्यवस्थापनमा सहयोग गर्ने छौँ ।
१७. बालबालिकाको सङ्ख्याको आधारमा स्थानीय सरकारले बालविकास केन्द्र समायोजन (मर्च) गर्ने, सहयोगी कार्यकर्तालाई उचित पारिश्रमिकको व्यवस्था गर्ने र बालविकास केन्द्रमा आवश्यक शैक्षिक सामाग्रीको व्यवस्था गर्ने छौँ ।
१८. आधारभूत तह कक्षा १–५ मा शिक्षकको अनुपातमा विद्यार्थी सङ्ख्या निकै कम देखिएकाले स्थानीय सरकारले विद्यालय समायोजन (मर्च) गरी अतिआवश्यक ठाउँमा कक्षा १–३ सञ्चालन गर्ने छौँ ।
१९. स्थानीय सरकारको अनुदानबाट तलब भत्ता पाउने गरी कार्यरत रहेका शिक्षकलाई उचित पारिश्रमिकको व्यवस्था गर्ने छौँ ।
२०. आधारभूत तह कक्षा ६–८ सञ्चालन भएका विद्यालयलाई विद्यार्थी सङ्ख्याको आधारमा विषय शिक्षकको व्यवस्था गरी श्रोत साधानपूर्ण र शिक्षण सिकाइ व्यवस्थित गर्ने छौँ ।
२१. कक्षा ११–१२ सञ्चालन भएका माध्यमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या, अध्यापन हुने विषय र शिक्षकको व्यवस्थापनमा हुने आर्थिक भारलाई मध्यनजर गरेर स्थानीय सरकारले समायोजन (मर्जर) गर्ने छौँ ।
२२. २०८१ को शैक्षिक तथ्यांक अनुसार एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या ३४४० जना मात्र विद्यालयमा अध्ययनरत भएकाले गत वर्ष कायम भएका एसईई परीक्षा केन्द्रलाई पुनरावलोकन गरेर परीक्षा समितिले एकिन गरी केन्द्र घटाउने र हरेक स्थानीय तहको सुविधा युक्त र पायक पर्ने विद्यालयमा आवश्यकता अनुसार एसईई परीक्षा केन्द्र निर्धारण गरी परीक्षार्थीलाई सम्बन्धित स्थानीय तहको केन्द्रमा राख्ने र केन्द्राध्यक्ष र निरीक्षक अन्तर स्थानीय तहको केन्द्रमा परिचालन गर्ने छौँ ।
२३. स्थानीय तहको एसईई परीक्षा केन्द्रमा परीक्षार्थीका लागि स्थानीय तहको सहयोगमा आवश्यक फर्निचरको व्यवस्था मिलाई २०८१ सालको एसईई परीक्षालाई विशेष रूपमा मर्यादित, अनुशासित, भयरहित,स्वच्छ र व्यवस्थित रूपमा सञ्चालन गर्ने गराउने छौँ ।
२४.हरेक स्थानीय तहले विषयगत शिक्षकहरूको सूची तयार गरी जिल्लाको एकीकृत शिक्षक जनशक्ति पहिचान गर्ने छौँ र शिक्षकलाई आवश्यकतानुसार विषय विज्ञको रूपमा प्रयोग गर्ने छौँ ।
२५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र अभिभावकहरूले शैक्षिक सुधार गर्नका लागि राम्रा कुराहरूको खोजी गरी असल अभ्यासको कार्यान्वयन र दस्तावेजीकरण गर्ने छौँ ।
२६. कक्षा ८ को परीक्षालाई पालिका स्तरीय अन्तर विद्यालयमा लिने र परीक्षा लिने विद्यालयका शिक्षकले नै कपी जाँच्ने व्यवस्था गरेर सम्बन्धित शिक्षा शाखा द्वारा नतिजा प्रकासित गर्ने व्यवस्था गर्ने छौँ ।
२७. कक्षा ११ को परीक्षा पनि स्थानीय तह भित्रको अन्तर विद्यालयले लिने व्यवस्था मिलाउने र सोही अनुसार नतिजा प्रकासित गर्ने व्यवस्था गर्ने छौँ ।
२८. कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गर्दा एसईई परीक्षा केन्द्र निर्धारण गरे जस्तै गरी विद्यार्थी सङ्ख्याको आधारमा परीक्षा समितिले केन्द्र निर्धारण गर्ने छ र परीक्षालाई विशेष रूपमा मर्यादित गर्ने छौँ ।
२९. विद्यालय स्तरीय परीक्षा प्रणालीलाई सुदृढ गरी परीक्षामा बढीमा २ विषय सम्म अनुत्तीर्ण भएका विद्यार्थीलाई मात्र ग्रेस अंक थपगरी कक्षा उत्तीर्ण गर्ने छौ र कक्षामा सिकाईको स्तर कमजोर भएका विद्यार्थीहरूलाई उपचारात्मक व्यवस्था गर्नका लागि सम्बन्धित विषय शिक्षक लाई परिचालन गर्ने छौँ ।
३०. अपाङ्गता भएका वालवालिकाहरूको सिकाई सहजताको लागि अपाङ्गमैत्री संरचना निर्माण गर्ने र बहुअपाङ्गता तथा जटिल अपाङ्गता भएका वालवालिकाहरूलाई शिक्षामा पहुँच पु¥याउनु क्ष्लमष्खष्मगब िभ्मगअबतष्यलब िएबिल (क्ष्भ्ए) निर्माण गरी कार्यान्वयन गर्ने छौँ ।
३१. हरेक स्थानीय तहमा विषयगत शिक्षक हब निर्माण गरी नियमित रूपमा सिकाई आदानप्रदान गर्ने छौँ ।
३२. हरेक विद्यालयहरूले मासिक रूपमा अभिभावक बैठक गरी विद्यार्थीको सिकाई उपलब्धि जानकारी गराई अभिभावकलाई जिम्मेवार बनाउने र एक घर एक पढाई कुना, अभियान सञ्चालन गर्ने छौँ ।
३३. शिक्षक, विद्यार्थी तथा कक्षाकोठाको अवस्था अनुकूल हुने गरी स्थानीय स्तरमा समेत निर्माण गरिएका शैक्षिक सामाग्री प्रयोग गरी कक्षा शिक्षण बहुकक्षा शिक्षण र विषय शिक्षण गर्ने छौँ ।
३४. विद्यालय तथा प्रयोगशालामा उपलब्ध शैक्षिक सामाग्री र स्थानीय स्तरमा निर्माण गर्न सकिने शैक्षिक सामाग्री सङ्कलन तथा उचित व्यवस्थापन गरी प्राविधिक धार अन्तर्गतका विषयसँग सम्बन्धित सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक रूपमा प्रयोग गरेर शिक्षण गर्ने छौँ ।
३५. विद्यालयको शैक्षिक तथा शैक्षणिक पक्षको अनुगमन तथा सुपरिवेक्षण गर्न हरेक स्थानीय तहमा जिम्मेवार पक्षको सहभागिता सहितको संयन्त्र निर्माण गरी त्रैमासिक रूपमा नियमित अनुगमन तथा सुपरिवेक्षण गरी स्थानीय स्तरमा समीक्षा गर्ने छौँ ।
३६. हरेक स्थानीय तह तथा विद्यालयहरूले सम्बन्धित तह अन्तर्गतका विद्यार्थीहरूको सहभागितामा कार्यशाला सञ्चालन गरी त्तगभकतष्यल द्यबलप निर्माण गर्ने छौँ र उक्त प्रश्नहरू मात्र परीक्षामा प्रयोग गर्ने छौँ ।
३७. पाठ्यक्रमको आधारमा अभिभावक, विद्यार्थी र शिक्षकहरू सहभागी भई निर्माण र सङ्कलन गरिएका शैक्षिक सामग्रीहरूको स्थानीय स्तरमा प्रदर्शनी गर्ने छौँ र आवश्यकतानुसार कक्षामा नियमित प्रयोग गर्ने छौँ ।
३८. विद्यालयको पर्यावरणलाई संरक्षण गरी हरित विद्यालय निर्माण गर्न सबै स्थानीय तह तथा विद्यालयहरूले योजना निर्माण गरी कार्यान्वयन गर्ने छौँ यसको साथै सबै विद्यालयहरू शान्ति क्षेत्र कायम हुने छन् ।
३९. विद्यालयको सामाजिक, शैक्षिक, भौगोलिक र मनोवैज्ञानिक रूपमा रमाइलो वातावरण कायम गरी शैक्षिक तथा शैक्षणिक सुधारका लागि वृहत् विद्यालय सुरक्षा ढाँचा निर्माण गरी सबै विद्यालयमा अनिवार्य रूपमा कार्यान्वयन गर्ने छौँ, उक्त कार्यमा स्थानीय तहले आवश्यक सहयोग गर्ने छौँ ।
४०. कालीकोट जिल्लाको दीर्घकालीन एकीकृत शैक्षिक योजना निर्माण गरी सोही अनुसार सबै स्थानीय तहहरूले वार्षिक रूपमा शैक्षिक योजना अद्यावधिक गर्दै कार्यान्वयन गर्ने छौँ ।
४१. विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरेर निजहरूलाई विद्यालयमा भर्ना गराई नियमित गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने छौँ ।
४२. बालविकास केन्द्रको संरचनागत तथा सहजकर्ताको क्षमता विकास गर्न नीति, योजना र कार्यक्रम निर्माण गरी स्थानीय तहबाट आवश्यक बजेट विनियोजन गरी कार्यान्वयन गर्ने छौँ ।
४३. हरेक विद्यालयले विद्यालय सुधार योजना र स्थानीय तहले स्थानीय शिक्षा योजना निर्माण गरी कार्यान्वयन गर्ने छौँ । साथै जिल्ला स्थित सबै सामुदायिक अध्ययन केन्द्र मार्फत साक्षरताका कार्यक्रम र सीप विकासका कार्यक्रमहरू सञ्चालनमा क्रियाशील गर्न गराउन सबै स्थानीय तह जिम्मेवार हुने छौँ ।
४४. अन्तर विद्यालय, अन्तर स्थानीय तह, अन्तर जिल्लामा शैक्षिक भ्रमण गरी सिकाईका असल अभ्यास आदान प्रदान गर्नुका साथै खेलकुदलाई प्रवर्धन गर्न हरेक स्थानीय तहमा रनिङ्ग सिल्ड आयोजना गरी विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने छौँ ।
४५. विद्यार्थीले नजानेको नबुझेको विषयको पाठ दोहो¥याउने, अतिरिक्त कक्षा लिने, कालीकोट जिल्लाको स्थानीय, भौगोलिक अवस्थालाई मध्यनजरगरी उपयुक्त हुने स्थानीय पाठ्यक्रमको निर्माण गरेर पाठ्यपुस्तकको व्यवस्था गरी अध्ययन अध्यापन गर्ने छौँ ।
४६. हरेक स्थानीय तहले शिक्षा विकास तथा समन्वय इकाइसँगको समन्वय र सहयोगमा पालिका स्तरमा वर्षको एक पटक शैक्षिक गोष्ठीको आयोजना गर्ने छौँ ।
४७. अवैध सट्टा तथा खेताला शिक्षकको पहिचान गरी उक्त कार्य गर्ने गराउने शिक्षकलाई सम्बन्धित निकायले तत्काल आवश्यक कारबाही गर्ने छौँ ।
४८.नियमानुसार स्थापना भई सञ्चालन भएका संस्थागत विद्यालयहरूलाई सम्बन्धित स्थानीय तहले नियमन गरी विद्यालय प्रणालीमा आबद्ध गर्ने गराउने छौँ ।
४९.विद्यालयमा अध्ययनरत विद्यार्थीको नाममा बैंक खाता सञ्चालन गरी विद्यार्थीले पाउने छात्रवृत्ति रकम लगायतका अन्य सुविधा निजको खाता मार्फत उपलब्ध गराउनुका साथै नियमित बचत गर्न गराउन समन्वय र सहजीकरण गर्ने छौँ ।
५०. विद्यार्थीको सीप र व्यावसायिकतालाई प्रवर्धन गर्दै उनिहरूबाट निर्माण गरिएका शैक्षिक सामाग्री र पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीले उत्पादन गरेका स्थानीय उत्पादनलाई स्थानीय तहले सङ्कलन तथा खरीद गर्ने छौँ ।
अन्तमा
माथि उल्लेख गरिएका यीनै विषयवस्तुहरूलाई समेटी यस कालीकोट जिल्लामा शैक्षिक क्षेत्रको मुहार फेरी आमूल रूपमा सकारात्मक परिवर्तन गर्दै शैक्षिक सुधार होस् भन्ने उद्देश्य राखी शिक्षासँग सरोकार राख्ने हामी सम्पूर्ण व्यक्तित्वहरूको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै २०८२ साल वैशाख देखि सुरुहुने नयाँ शैक्षिक सत्रबाट कार्यान्वयन गरियोस् भन्ने हेतुले यो २ दिने “वृहत् शैक्षिक परामर्श गोष्ठी – २०८१“ को आयोजना गरी उपस्थित हामी सम्पूर्ण शैक्षिक सरोकारवालाहरूले ५० बुँदे प्रतिबद्धता जाहेर गरेका छौँ ।
वृहत शैक्षिक गोष्ठीमा उपस्थिती जिल्ला वासीहरु । by khabareducation.com
Discussion about this post