माघ २८,कालिकोट – हिउँद याममा यहाँका स्याउ बगैंचाहरु उजाड हुन्छन् । भदौं, असोज र कार्तिकमा स्याउ टिपिसकेपछि स्याउका पात झर्छन् ।
स्याउ जिल्लाको मुख्य उत्पादन हो । यहाँका धेरैजसो किसान स्याउ खेती गर्छन् । स्याउ खेतीबाट कालिकोटले बर्सेनि २ देखी ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्छ । व्यवासायिक तथा जीविकोपार्जनका लागि यहाँका किसानले आधा शताब्दीदेखि स्याउ खेती गरिरहेका छन् ।
पुस र माघमा स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट गर्ने र त्यसपछि आंशि रुपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । भदौदेखि कात्तिकसम्म बोटमा लटरम्म स्याउ हुन्छन् । अरु खेतीको तुलनामा कम झन्झटिलो स्याउले यहाँको आर्थिक स्तर उकास्न पनि योगदान गरेको छ ।
पछिल्लो समय स्याउ खेतीतर्फ स्थानीयको समेत आर्कषण बढेको छ । अहिले यहाँका किसान स्याउ बगैैचामा व्यवस्थापन गर्न तल्लिन छन् । स्याउ बोटबाट टिपेको केही हप्तामै स्याउ बगैंचा नांगो हुन्छन् ।
स्याउ उत्पादन ,संकलन तथा बजारीकण गरिसकेपछि चिसो मौसममा स्याउ बर्गैचा व्यवस्थापन सुरु हुन्छ । कालिकोटको तिलागुफा जुम्लाका हिमा, तिला, पातारासी लगायतका क्षेत्रमा अहिले स्याउ बगैंचा व्यवस्थापन भइरहेको छ । जुम्लाका पातारासी र केही लेकाली क्षेत्रमा अत्यधिक चिसोका कारण स्थानीय बेसी झर्ने हुनाले फागुनपछि १५ गते सम्म बगैचा व्यवस्थापन गरिन्छ ।
पुस महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैंचामा गोडमेल, सिंचाई गर्ने, मलजल गर्ने, रोग, कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिगा काँटछाट गर्ने गर्छन् ।
बर्सेनि कालिकोटका किसानलाई कृषि विकास कार्यालय, नगरपालिका कृषि शाखा सम्बन्धित स्थानीय तहले प्राविधिक व्यवस्था गरी स्याउ बगंैचा व्यवस्थापनबारे तालिम र फिल्डमै पुगेर स्याउ खेती गर्ने तरिका सिकाउने गरेका छन् ।
बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत वस्नेतले बताए ।
‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ,’ कार्यालय प्रमुख बस्नेतले भने, ‘स्याउ बगैंचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढावा गर्न टेवा पुग्छ ।’
बगैंचा व्यवस्थापन गर्दा कृषकले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्चर छर्किने गर्छन् । यसो गर्दा स्याउ बोटमा संक्रमण कम हुन्छ । हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनु परे बोरो मिक्चर प्रयोग हुन्छ । अहिले तिलागुफाका सवै क्षेत्रका बगैचाँमा गोड मेल भइरहेको छ ।
माघ अन्तिम र फागुन महिलो सातामा स्याउ बगंैचा व्यवस्थापनमा जुटेको चिल्खाया कामखेतका किसान टेकबहादुर शाहीले बताए ।
‘स्याउका लागि आवश्यक उपकरण र विषादीमा अनुदान मिल्छ, हामीले बगैंचाको राम्रो हेरचार गर्न सके राम्रो आम्दानी लिन सक्छौं,’ उनी भन्छन् । जथाभावी आएका हाँगाबिगा काँटछाँट नगर्दा उत्पादन र गुणस्तर दुबैमा ह्रास आउने उनले उल्लेख गरे ।
यहाँका किसानले स्याउका नयाँ विरुवा लगाउने र अन्य जातका स्याउ विरुवालाई जोडेर ग्राफ्टिङ गर्ने गरिन्छ । यसरी स्याउ विरुवालाई ग्राफ्टिङ गर्दा बोटमा फरक फरक जाँतका स्याउ फल्छन् । अक्सर स्याउ बगैचा व्यवस्थापनको समयमा एक पटक हिमपात भयो भने बगैचा सप्रिन्छ । हिमपातले स्याउ बगैचाभित्र जमिनको भित्री तहसम्म सिंञ्चित गर्ने र हिउँले बोटमा लाग्ने प्रकोप नियन्त्रण गर्नसमेत मद्दत गर्छ ।
बर्गैंचा व्यवस्थापनपछि चैत, बैशाखमा बोटमा फूल फूल्छ । स्याउका लागि अनुकूल हावापानी र उचित बगैंचा व्यवस्थापनको संयोजनले उत्पादकत्व वृद्धि र गुणस्तर राम्रो बनाउँछ ।
कालीकोटमा पछिल्लो समय ९ सय एक हेक्टरमा स्याउ खेती विस्तार भइसकेको छ । फल्ने ५ सय ४० हेक्टरमा स्याउ फल्छ । यहा मुख्य गरी उन्तत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस स्याउ उत्पादन हुन्छ ।
उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातका गाला, फुजी, किङरोट, गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउसमेत उत्पादन हुने गरेको कृषि कार्यालय कालिकोटले जनाएको छ । २०७९÷०८० मा कालिकोटमामा ८ हजार टन स्याउ उत्पादन भएको थियो ।
सम्बन्धित फोटो ः
१) तिलागुफाका किसान स्याउ बगैजा व्यवस्थापन गर्दै
Discussion about this post