Online News Khabar

युनिकोड

पत्रकार सेजुवालकाे ‘फल्स फ्रन्ट पेज’ नामक पुस्तक लाेकार्पण

877
SHARES
1k
VIEWS

सुर्खेत – नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघको हलमा शनिबार भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सो पुस्तक लोकार्पण गरे ।

सो क्रममा उपप्रधान एवम् रक्षामन्त्री खड्काले सञ्चार क्षेत्रले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने दायित्वलाई भुल्न नहुनेमा जोड दिए । राजनीतिक दलका नेताहरुले समेत मिडियामा लगानी गरेको प्रसंग उल्लेख गर्दै उनले आफूले कहिल्यैपनि त्यस्तो चासो नराखेको बताए ।

‘सञ्चार क्षेत्रले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ भन्ने लाग्छ । अहिले को नेताले कुन मिडियामा लगानी गरेको भन्ने कुराहरु आउँछन् । तर मेरो केही छैन । कलेन्द्रजीले त्यही मिडियाहरुले कसरी कमजोरी गरिरहेका छन् र त्यसको असर कस्तो हुन्छ भनेर यो पुस्तकमा उतार्नुभएकोमा बधाई ज्ञापन गर्दछु,’ उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

कार्यक्रममा सांसद कान्तिका सेजुवालले ‘फल्स फ्रन्ट पेज’ समग्र सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदनको रुपमा देखिएको बताइन् । सो पुस्तकले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर उच्च व्यावसायिक अभ्यासका निम्ति मद्दत पुग्ने उनको विश्वास थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको उच्च व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न पुस्तक उपयोगी हुने बताए । उनले देश र समाजको ऐनाका रुपमा रहेको पत्रकारिताको धारलाई बदल्दै सकारात्मक दृष्टिकोणबाट पेसागत इमान्दारिता निर्वाह गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सूक्ष्म ढंगले उठान गरिएकाले पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुने विश्वास व्यक्त गरे । उनले समाजलाई सही ढङ्गले सुसूचित गर्न र समाजको दृष्टिकोण बदल्न सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्न जरुरी भएको खाँचो औँल्याए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी हुने धारणा राखे । महासंघकै पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’ का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिए । उनले सिजुवालको पुस्तक सबै पत्रकारका लागि उपयोगी हुने देखेको बताए ।

अर्का पूर्वअध्यक्ष सुरेश आचार्यले नेपाली पत्रकारितामा सच्चिन चाहनेका लागि पुस्तक प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । पत्रकार निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि पुस्तक उपयोगी बन्ने धारणा राखिन् ।

अढाई दशकदेखि पत्रकारितामा सक्रिय सेजुवालले पुस्तकमा नेपाली पत्रकारिताको अभ्यासका क्रममा मोफसलमा भएका पत्रपत्रिकाहरुले गरेका कमजोरीहरुलाई केलाएका छन् । मुलत: पुस्तकले अखबारका पहिलो पृष्ठमा हुने कमजोरीहरुलाई उठाएको छ ।

लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढङ्गले पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको बताए ।

प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य पाँच सय रुपैयाँ छ । पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले बताए । उनले प्रदेश पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापना गरिने समेत घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित