कालिकोट – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्ड सीले मुलुक गम्भीर संकटमा रहेको बताएका छन् । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा स्थापना भएको १० औ बार्षिकोत्सवका अवसरमा कालिकोट सदरमुकाम मान्म बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटि सदस्य समेत रहेका प्रकाण्ड सीले यस्तो बताएका हुन् ।
उनले अहिलेको व्यवस्था र राजनीतिक दलको गलत भुमीकाका कारण मुलुक नै गम्भीर संकटमा परेको बताए । उनले भने, मुलुक आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य बिभिन्न सवालमा गम्भीर संकटमा परेको छ । यो संकटबाट मुलुकलाई मुक्त बनाउनका लागि उपयुक्त व्यवस्था समाजबाद हो । त्यसका लागि सबै राजनीतिक दलहरु तयार हुन जरुरी छ । उनले देश र जनताको रक्षा गर्ने उपयुक्त व्यवस्था नै समाजबाद भएकाले त्यसका लागि दलहरुले अब ढिलो गर्न नहुने बताए । उनले भने, मुलुक आर्थिक, सामाजिक, राजनीतिक संकटमा मात्र नभई राष्ट्रिय स्वाधीनता पनि गम्भीर संकटमा परेको भन्दै यसको मुख्य कारण नै दलाल संसदीय पूँजीवादी व्यवस्था भएको दाबी गरे । उनले नेपालमा दलाल पूँजीवादी व्यवस्था खारेज गरी समाजवादी व्यवस्थामा नजाने हो भने देशमा थप भयावहको स्थिति आउने ठोकुवा गरे ।
उनले भने, नेपालमा समाजवाद चाहियो । यो शान्तिपूर्ण चाहियो । दलाल संसदीय व्यवस्था ठिक कि समाजवादी व्यवस्था ठिक ? भनेर जनतालाई फैसला गर्ने अधिकार दिनुपर्छ । त्यसका लागि सबै परिवर्तनकारी शक्तिहरुबीच एकताको खाँचो छ । प्रवक्ता प्रकाण्डले नेपालको संकटलाई समाधान तिर लिन समाजवादी मोर्चा समेत बनेको चर्चा गर्दै यो मोर्चामा नेपालका सबै माओवादी, कम्युनिष्ट, एमाले र काङ्ग्रेस समेत आउनु पर्ने बताए । काङ्ग्रेसले पनि समाजवादको कुरा गरिरहेकाले वैज्ञानिक समाजवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद बिच बहस गर्न नेकपा तयार रहेको बताए । उनले भने, कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने दायित्व नेकपाको काँधमा आएको छ । समाजवादी मोर्चाको परिकल्पमा पनि नेकपाको हो । देशको रक्षा समाजवादले मात्र गर्छ । संसदवादले होइन । संकटको निकास क्रान्तिकारी अग्रगामी र परिवर्तनकारी तरिकाले दिनुपर्छ ।
उनले भने, नेपाल युक्रेन बन्ने दिशामा अगाडी बढिरहेको छ । यसलाई यथाशीघ्र रोक्नुपर्छ । जनताको जीवन धरापमा छ । सबै पार्टीका इमान्दार नेता कार्यकर्ताहरु एकठाउँमा नआउने हो भने देश युक्रेन बन्छ । यो बनाउने साम्राज्यवादी षड्यन्त्र हो । केही दलालहरुले अमेरिकाको गुणगान गाएका छन । केही मान्छेहरु राष्ट्रघाती साम्राज्यवादको एजेण्ड छन । राष्ट्र धेरै खतरामा छ । सबै पार्टीका नेताहरु समस्या छ भन्नेमा सहमत छन । उनीहरु संसदवादबाट निकास खोज्न चाहान्छन तर संसदवादबाट निकास सम्भव छैन । उनले संसदीय व्यवस्था दलाल, राष्ट्रघाती, मानवतस्कर, भ्रष्टाचारी र श्रमिक जनता माथि शोषण गर्ने व्यवस्था भएको झिकिर गरे । उनले मुलुक र जनताको पक्षमा दरीलो रुपमा उभिने पार्टी नै नेकपा भएको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका अध्यक्ष विराट सी, मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सी, नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सी लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुले जनसभालाई सम्बोधन गरेका थिए ।
Discussion about this post