निरा बोहोरा – सोमबार साउन १ गते साउने संक्राति अर्थात देउडा पर्वका रूपमा मनाइने दिन । कर्णाली प्रदेश सरकारले गत असार २९ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दियो । सुर्खेतको खुलामञ्च, कालिकोटको सदरमुकाम मान्म बजार लगायतका कर्णालीका १० वटै जिल्लामा देउडा खेल खेलियो।
परम्परादेखिको निकै लोकप्रिय कर्णालीको लोक संस्कृतिका रूपमा रहेको देउडा खेल यहाँका हरेक जेष्ठ नागरिकदेखि युवा र बालबालिकामा समेत उत्तिकै मनपर्ने सांस्कृतिक प्रस्तुतिका रूपमा लिइन्छ।
कर्णाली प्रदेशमा देउडाको विशेष महत्व छ । छोराको छैटी, ब्रतबन्ध, विवाहदेखि देवताका पैठसम्म जहाँ जतिबेला पनि देउडा दोहोरी नलगाए अर्थात् देउडा नखेलेर कर्णालीका दर्शकलाई रमाइलै हुँदैन।
अझ त देउडा खेल नखेलेर, नहेरेर जात्राबाट आएपछि यहाँ रमाइलै भएन भन्ने गरिन्छ कर्णालीमा । देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति र दर्शकहरूको पहिलो रोजाई पनि हो । जसको महत्व बोध गरेर प्रदेश सरकारले सार्वजनिक बिदा नै दिएको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले भने, ’कर्णाली देउडा, झोडा, चुट्किला जस्ता परम्परागत लोक संस्कृतिहरूको धनी प्रदेश हो। अझ त खस सव्यताको जननी भनेर चिनिनै कर्णालीमा देउडा प्रतिको मोह कम छैन। सरकारले जनभावना अनुसार नै देउडा पर्व भव्य रूपमा मनाउनका लागि सोमबार सार्वजनिक बिदा दिएको हो।’
कालिकोटमा त अछाम र कालिकोटका चर्चित देउडा खेलाउडाहरूको जमघटले देउडा महोत्सव नै लाग्यो । कर्णालीकै देउडा सम्राड भनेर चिनिने नेत्रराज शाही, चर्चित देउडा खेलाउडा पुष्पराज आचार्य, चित्रसिंह गाँउले, अछामकी चर्चित खेलाउडी बिमला बुढा, कालिकोटकी युवा चर्चित देउडा खेलाउडी बिपना सिंह लगायतका दर्जनौँ देउडा खेलाउडाहरूको जमघटले जिल्ला सदरमुकाम मान्म बजार देउडामय बन्यो। साउन महिनामा रोपाई खेतमा, कोदो बारीमा, मकै बारीमा, घाँस काट्ने मेलापात लगायतका हरेक ठाँउहरूमा देउडा गीत गुनगुनाइन्छ।
देउडा गायक पुष्पराज आचार्यले भने, ’हरेक मानिसहरू देउडा भने हुरुक्क हुन्छन्। देउडा साहित्य विद्याको एक श्रीङ्गारिक निकै लोकप्रिय विद्या हा े। यो नयाँ पुस्ता भन्दा पुरानो पुस्तामा बढी लोकप्रिय थिया े। अब त लोप हुने हो की भन्ने चिन्ता छ । देउडा संरक्षणका लागि कालिकोटमा देउडा खेलाउडाहरूकै पहलमा देउडा पर्वका अवसरमा देउडा महोत्सव आयोजना गरिएको हो।’
हुँदा हुँदा कर्णालीमा पछिल्लो समय विभिन्न राजनीतिक सभा समारोह, विभिन्न दिवस मनाउँदा, विभिन्न निकायहरूले जनचेतनाका कार्यक्रमहरूमा समेत देउडा प्रस्तुति अनिवार्य बन्दै गएको छ।
स्थानीय सरकारहरू र गैरसरकारी निकायहरूले बालबालिकाको पोषण अवस्था सुधार अभियान, सामाजिक विकृति विरुद्धको अभियान, नियमित विद्यालय जाने अभियान, जातीय विभेद न्यूनीकरणको अभियान जस्ता सामाजिक अभियानहरू पनि देउडा मार्फत चलाउन थालेका छन्।
परापूर्वकालमा छोराको छैटी, ब्रतबन्ध, विवाहदेखि देवताका पैठसम्म मात्र सीमित देउडा खेललाई अहिले छोरीको छैटी, विवाह, दवावमुलक आन्दोलन, विभिन्न प्रकारका दिवस, खुसियाली कार्यक्रमहरू, अन्य विभिन्न प्रकारका पर्वहरू तथा सामाजिक सचेतनाका कार्यहरूमा समेत खेल्न थालिएको छ।
पहिलेका पीहरूले देउडालाई समाजको गहना बनाए जस्तै अहिले नयाँ पीढिहरूले पनि निरन्तरता दिनुपर्ने सुर्खेत खुलामञ्चमा देउडा हेर्न गएका ७३ वर्षीया दर्शक रूपलाल बोहोराले बताए। उनले भने, ’कर्णालीमा देउडा विभिन्न जिल्लामा भिन्न भिन्नै हिसाबले खेल्छन्। खुलामञ्चमा महिनाको १ गते र १५ गते नियमित देउडा हुने हुँदा आफ्नो बालापन सम्झिँदै देउडा खेल हेर्न आउँछु। निकै खुसी लाग्छ।’
यद्यपि नयाँ पुस्ताको लगाप पहिलेको तुलनामा केही फरक हुँदा पुरानो संस्कृतिको लोप हुने होकी भन्ने चिन्ता पनि बुढापाकाहरूलाई छ। कालिकोटकी युवा देउडा खेलाउडी विपना सिंहले भनिन्, ’बाले देउडा गीतभन्दा मानिसहरूले हुटिङ गरेको देख्दा देउडा खेल खेल्न चासो राखेकी हुँ। मैले देउडा खेलेको देखेर मानिसहरू देउडा वंशाणुगत गुण जस्तै सर्ने रहेछ भन्छन्। विभिन्न ठाउँबाट निमन्त्रणा आउँछ। मानिसहरू फूल माला, पैसाका माला लगाएर धेरै सम्मान पनि गर्छन्।’
यसले देउडा प्रतिको मोह झन बढाउने रहेछ। देउडामा सवाल जवाफ गरिरहँदा समाजको तीतो यथार्थ, माया प्रेम, अन्य सामाजिक सवालहरू पनि उठाउन सकिन्छ। देउडा खेलमा निकै सन्तुष्टि पनि छ।दृउडा खेल दुई दिन सम्म संचालन भएको थियो । खेलमा उपस्थित सम्पुर्ण कलाकारा र देउडा खेलाडीलाई सम्मान समेत गरिएको थियो ।
फोटोः
१) सदरमुकाम मान्ममा खेलिएको देउडा
Discussion about this post