स्थानिय सरकार गठन भएको ६ वर्ष भन्दा बढि समय वितिसकेको भएपनी निर्वाचित भएका दलित जनप्रतिनिधहरुको व्यथा छुट्टै रहेको छ । आफुहरु जनताको सेवामा काम गर्ने गरेको भएपनि गैरदलितबाट सम्मान गर्न हिच्किचावट हुने गरेको बताउन थालेका छन ।
जिल्लाको रास्कोट नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष मन तिरुवाले गैरदलितका तर्फबाट नमस्कार गर्ने तर हिच्किचावट तरिकाबाट हुने गरेको बताएका छन । अहिले नयाँ पुस्ताका केही चेतना फरक भएतापनी पुराना पुस्ताहरुले अहिले पनी छुवाछुत गरिरहेको तिरुवाले बताए । २०७४ सालको स्थानिय तहको निर्वाचनमा म कार्यपालिका सदस्य थिए । उतिवेला पनी आफुलाई ठुलो जात भन्ने जनप्रतिनिधीहरुले पनी खुलेर नमस्कार भन्दैनि थिए । अहिलेका जनप्रतिनिधिले पनी खुलेर नमस्कार भन्न सकेका छैनन । यस्तो व्यथा जनप्रतिनिधि जस्तो पदमा रहेमा अन्य सर्वसाधारण हरुमा कहिले परिर्वतन होला ? तिरुवाले प्रश्न गरे । अहिले जिल्लामा आएका संघसंस्थाहरुको पहलमा गाउँमा जनचेतना मुलक कार्यक्रम हुदा सामान्य तया परिर्वतन आएको कागजी रुपमा देखिन्छ । व्यहारमा परिर्वतन आउन सकेको छैन ।
वडाध्यक्ष तिरुवाले आफुलाई सम्मान गर्नु पर्छ भनेर भन्दा पनि गैरदलितका तर्फबाट खुलेर सम्मान गर्नमा समस्या रहने गरेको बताए । जिल्लाका अन्य स्थानिय तहमा पनि वडाध्याक्ष देखि माथिका जनप्रतिनिधिहरुमा यो व्यथा देखिएको छ । समाजमा पुरानै संस्कृतिबाट हुर्केको समाजमा जातिय रुपमा दलितहरु प्रति हेर्ने दृष्टिकोण फरक भएका कारण सम्मान गर्नमा कन्जुस्याई हुने गरेको हो ।
वडाध्यक्ष मन तिरुवा मात्र हैनन्, जिल्ला सदरमुकामको खाँडाचक्र नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धर्मराज ताम्राकारको पनि भोगाई त्यस्तै रहेको छ ।
“आफु वडा कार्यालयमा बसेर काम कार्वाहीमा सहभागि हुँँदा गैरदलित सेवाग्राही आएमा अरु छन भने सबैलाई नमस्कार भन्ने तर दलित भएपछि भाउ आ यो काम अर्देलाई के” भन्ने जस्ता शव्द प्रयोग गर्ने गरेको बताउछन । उनले केही दिन अघी जातिय छुवाछुत तथा भेतभाव सम्बन्धि जिल्ला स्तरिय गोष्ठिमा मन्तव्य दिदँै ताम्राकारले आफुहरु पनि जनताको सेवा गर्ने भएकाले जातिय विभेद स्थानीय स्तर देखि माथिल्लो तह सम्म सबैमा कायम रहेको बताए ।
संविधानमा जातिय छुवाछुत गर्नु हुदैन भनेर लेख्ने कागजी रुपमा सवै प्रक्रिया पुरा हुने तर व्यहारमा नहुनुले कालिकोटमा ठुला ३ वटा घटना घटे । तिलागुफा जुविथाका मनविरे लुवारलाई चुलो छोएको न्युउमा ज्यान गुमाउनु पर्यो भने माल्कोटकी वडा सदस्य मना सार्किको पनी धारामा पानी छोएकै न्युमा ज्यानु गुमाउनु पर्यो ।
म वडाध्यक्षमा निर्वाचित भएको ३ महिना मात्र भएको थियो । ठुलो जातीको भनिने मेरो गाउँमा विवाह भइरहेको थियो । गाउँमा रंग रतेडी होस वा विवाह ब्रतबन्ध त्यहाँ सवैको जम्माभेट हुने ठाउँ हो । उही समयमा म टिका लगाउन गए । टिका ग्रहण समेत भएन यो मेरो पहिलो पिढा हो ।
यस्ता घटनाहरु नहुन भन्दै खाँडाचक्र नगरपालिकाले कर्णालीमै पहिलो पटक जातिय छुवाछुत मुक्क्त नगरपालिका घोषणका लागी कार्यविधी बनाएर नगरसभाले पास गरेको वडाध्यक्ष ताम्राकारले बताए । अव यसको कार्यान्वयन तर्फ लैजाने तयारी गरेको समेत बताए । यसमा सहयोग र सहजिकरण गर्ने फेडो नेपाल र अन्य संस्था र कलवहरुलाई धन्यवाद दिए ।
आफुहरु सम्मान पाउनै पर्ने भन्ने त होईन विभेदको कुरा गर्ने हो भने समाजमा यस्तो व्यथा कायम रहेको नागरिक समाजका अगुवा रमेश सुनारले बताए ।
उनले भने, समाजमा चेतना अभाव भन्ने छ तर चेतना भएकाहरु बाट यस्तो हर्कत कायम हुनुलाई चेतना अभाव भन्दा पनि आदत परिवर्तनको समस्या रहेको सुनारको ठम्याई रहेको छ ।
त्यस्तै सामाजिक अगुवा तथा नेपालि काँग्रेसका युवा नेता दमनबहादुर शाहीले दलितहरुमा आफैमा हिच्किचावट पन कायम रहेकाले यसलाई हटाउनु पर्नेमा जोड दिए । उनले भने, आफैमा हिन्तावोध भएमा समाजमा अरुले हेप्ने प्रथाको शुरुवात हुने भएकाले आफैमा शसक्त भएर लाग्नु पर्नेमा जोड दिए ।
कालीकोट जिल्लामा हुने हरेक खालका जातिय विभेदको समस्या समाधानका लागि दलित अगुवा अग्रसर हुनु पर्नेमा जोड दिदँै दलित अगुवा बशन्त सुनारले समाजमा सबैको साझा प्रतिविद्धता भयो भने सबै कुरा परिवर्तन हुने बताए । उनले भने, सबै क्षेत्रका जनप्रतिधिहरु विभेदमा नपरेको तर केही ठाँउमा समस्या हुन सक्ने उनको भनाइ छ ।
दलित सममुदाय भित्र विभेद
कालिकोटमा जातीयताको कारण जोडिएर दलित सममुदाय भित्रै पनि छुवाछुतको अवस्था रहेको आलोचकहरुले आरोप हुने गरेको छ । दलित समुदाय भित्रै दमाईले छाएको कामीले नखाने, कामीले छोएको सार्कीले नखाने अवस्था विद्यमान छ । कानूनका दृष्टिले सबै समान भए पनि ब्यवहारमा विभेद छ । ०६६ साउन २९ कालीकोटको नानीकोट ४ मयगाउमा पनि माथिल्लो सार्कीकी छोरीसग प्रेमसम्बन्ध गासेको भन्दै २० वर्षीय जयवीर टमटालाई १४ जनाले विभत्स हत्या गरेका थिए । यो घटना दलित भित्रकै छुवाछुतले सिर्जित भएको भए पनि खासै चर्चाको विषय बनेन । मयको घटनामा पनि मार्ने र मारिने दुवै पक्ष माओवादी समर्थक थिए ।
जुविथाको घटनाले देशभर चर्चा पाए पनि नानीकोटको घटना सबैले सामान्यरुपमा लिए । जुविथा घटनाको चौतर्फी विरोध भयो । तर, नानीकोटको घटना ओझेलमा परेको स्थानीय नमराज टमटाको गुनासो छ ।
कालिकोटमा जातीय छुवाछुतका घटना हुने भए पनि सामाजिक संस्कार, रीतिरिवाज, चालचलन र सनातन धर्मका नाममा मिलापत्रमै समाधान खोज्ने् परिपाटी छ । मिलेर बसेको समुदायमा जातीय कुरा हालेर अशान्ति फैलाउनु आफैमा समाजप्रतिको गैह् जिम्मेवारीपना भए पनि कानून छल्न छुुवाछुतजस्तो सामाजिक अपराधलाई ढाकछोप गर्नु झन् ठूलो अपराध हो ।
छुवाछुतका मुद्दा धेरै जसो गाउमै मिलापत्र हुन्छन् । दलित महिला संघ कालीकोटका अध्यक्ष हजा सुनारको अनुभव छ । गाउमा मिल्न नसकेका मुद्दा जिल्लामा पुगे पनि राजनैतिक दलका नेता कार्यकर्ताको दवावमा दोषी उम्काउने चलन छ ।
जातिय विभेदका मुद्धामा कानुनी प्रावधान र यसको निराकरणका लागि स्थानीय स्तरमा चेतना जरुरी रहेको छ । समाजका अगुवाहरुले सक्रियता पूर्वक लागेर समाज परिर्वतनमा खाँचो रहेको छ । स्थानिय तह र यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको सहकार्यमा नितिगत कानुन बनाएर यस्तो अन्ध विश्वासलाई निर्मुल पार्नु पर्ने देखिन्छ ।
यो लेख ः पत्रकार विश्वनाथ सिम्खाडाले लेखेका हुन ।
Discussion about this post