Online News Khabar

भिरबाट लडेर तिन वर्षमा २८ जनाको ज्यान गयो

881
SHARES
1k
VIEWS

कालिकोट – घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूख–भीर गर्नुपर्ने कर्णालीका महिलाहरूको गुनासो छ ।
महावै गाउँपालिका– ६, गणेशकोटकी ३४ वर्षीया कौडा शाहीको दाउरा काट्न गएको बेला मंगलबार भीरबाट लडेर ज्यान गयो ।
घरभन्दा १ किलोमिटर टाढा दाउरा काट्न गएको समयमा भीरबाट खसेर ५ सय मिटर तल खोलामा पुगेर छाती र टाउकोमा गम्भीर चोट लागेकी कौडा शाहीलाई मंगलबार राति नै उपचारार्थ जिल्ला अस्पताल कालिकोट लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
माघ महिनायता कालिकोटमै अन्य तीनजनाको रूख र भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटको तथ्याकले देखाएको छ ।

घाँस काट्ने बेला भीर र रूखबाट लड्ने घटना वर्षेनी दोहोरिने गरेको प्रहरी निरिक्षक शुभराज बलमे बताए ।
अकालमै जान्छ ज्यान
घाँसदाउरा गर्ने क्रममा, बाटोमा हिँड्दाहिँड्दै चिप्लिएर, ढुङ्गा खसेर, खर काट्ने क्रममा तथा रूख र भीरबाट लडेर कालिकोटमा बर्सेनि दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेका छन् । तिन वर्ष यता कालिकोटमा २८ जनाको भीर र रूखबाट लडेर जनाको मृत्यु भएको प्रहरी निरिक्षक बलमे बताए ।
आर्थिक वर्ष २०७६÷७७ मा छ जना, ७७ ÷७८ मा ७ जना ७८÷७९ मा ५ जना र ७९÷८० मा ११ जना गरी जम्मा २८ जनाको भिरबाट लडेर मृत्यु भएको छ । यसमा बढी जसो घाँस काट्ने क्रममा महिलाको ज्यान गएको छ ।
यस्तै प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख भए अनुसार ३ वर्षको अवधिमा झुन्डिएर २४ जना र बिष सेवन गरी १४ जनाको मृत्यु भएको छ ।
लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको पनी पाइन्छ । कर्णालीका सबै स्थानीय तहमा वर्षमा एक–दुई जनादेखि एक दर्जनभन्दा बढीको सङ्ख्यामा लडेरै मानिसहरूले ज्यान गुमाउँदै आएको प्रहरीको विवरण छ ।

कानुनी झन्झट

जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजितबहादुर शाही भन्छन सदरमुकामभन्दा बाहिर शवपरीक्षण गर्ने व्यवस्था नहुनु र कानुनी झन्झट बेहोर्नुपर्ने भएकोले धेरैले प्रहरीलाई खबर नै गर्दैनन् । भौगोलिक रूपमा विकट कर्णालीमा रोगबाट भन्दा पनि लडेर मृत्यु हुने समस्या ठूलो रूपमा रहेको सरकारी अधिकारीको भनाइ छ । लडेर ज्यान गुमाउनेमा अधिकांश चौपाया पाल्ने किसान रहेका छन् । गाउँघरमा बस्दा बस्तुभाउ नपालीकन दैनिक गुजारा गर्न समेत कठिन हुने बाध्यता रहेको स्थानिय मनकला विकको भनाइ छ । उनी भन्छिन्, “घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूखभीर गर्नुपर्छ।“
मुख्य समस्या
कालिकोट जाजरकोट, रुकुम, डोल्पा, सुर्खेत, सल्यानजस्ता जिल्लाका अधिकांश बस्ती भिरालो ठाउँ र डरलाग्दा भीरपाखामा रहेको बताइन्छ ।
कालिकोटको शान्नि त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी भन्छन्, “हाम्रो गाउँपालिकामा मात्रै गत वर्ष रूख र भीरबाट लडेर ११ जनाभन्दा बढीले ज्यान गुमाए । यो वर्ष पनि लडेर १२ जना जतिको मृत्यु भइसक्यो।“ विकट बस्ती र जोखिम बढी भएका किसानको गाउँपालिकाले बीमा गर्न खोजे पनि कुनै पनि बीमा कम्पनीले नमानेको अध्यक्ष केसी बताउँछन् ।

उपचार अभाव

जिल्लाबाट सुर्खेत, कोहलपुर, नेपालगन्जका अस्पताल लैजाँदालैजाँदै कतिपयको बाटोमै मृत्यु हुने गरेको पीडित परिवारका मानिसहरूको साझा अनुभव छ । गाउँमा सडक सुविधा नहुँदा र भएका ठाउँमा पनि एम्बुलेन्स सेवा र अन्य सवारी साधन नपाउँदा घाइतेलाई तत्कालै उद्धार गर्नसमेत समस्या हुने गरेको थुप्रैको अनुभव छ ।
भीरबाट लडेर ज्यान गुमाएकी कौडा शाहीका दाजु दिपराज शाहीले सुनाए, “गाडी पुग्ने ठाउँसम्म बोकेर ल्याउन, एम्बुलेन्स खोज्दाखोज्दै जिल्ला अस्पताल पु¥याउन समय लागेपछि बहिनीलाई बचाउन सकिएन।“ रूख र भीरबाट लड्नेबित्तिकै हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्न सके धेरैको जीवन जोगिने आफन्तहरू बताउँछन्।

पुर्नजन्म

रूख र भीरबाट लडेर बाँच्न सफल भएकाहरूका लागि नयाँ जीवन पाएको अनुभव हुने गरेको छ । घाँसै काट्ने क्रममा भीरबाट झन्डै २०० मिटर तल खसेर बाँच्न सफल भएकी सुनपुरा सुनपुरा खड्काले सुनाइन, “म लडेकै भीरबाट अहिलेसम्म १०–१२ जना गाउँलेको लडेर मृत्यु भयो । तर म भने कसरी बाँच्न सफल भएँ सोचेर अचम्म पर्छु।“

घाँस काट्ने बेला रूखबाट लडेर ह्वीलचेअरमा हिँडडुल गर्दै आएकी सुनपुरा खड्का पनि आफू भाग्यले बाँचेको बताउँछिन्।

कालीकोटको शान्नि त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह भन्छिन्, “रूखभीरबाट बर्सेनि मृत्यु हुन थालेपछि खेतबारीमै डालेघाँस लगाउन उत्प्रेरित गर्नेदेखि नाङ्गो भीरपाखामा बोटबिरुवा रोप्ने अभियान चलाइएको छ।“ लजिल्लाको सवैभन्दा बढि घाँस काट्ने क्रममा आफ्नै पालीकामा महिलाको ज्यान गएको देखिन्छ । यहाँ बढि जसो भिरपाखा रहेका छन ।
पालिकाका वडा नम्बर १ लुसा भिरमा वर्षेनी एक महिलाले घाँस काट्ने क्र्ममा ज्यान जाने गरेको छ ।
कर्णाली प्रदेश सरकारले बाढीपहिरो, आगलागी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट मृत्यु हुनेहरूको परिवारलाई राहत दिनको लागि एक लाख रुपैयाँको बीमा गरेको छ । अब रूख र भीरबाट लडेर ज्यान गुमाएका आफन्तलाई पनि उक्त बिमामा समेट्नु पर्ने धेरै जनाको माग छ ।

फोटोः फाइल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित