Online News Khabar

राँचुली पहिरो पिडितको बिचल्ली, दाताको भरमा ३ महिना गुजारा

869
SHARES
1k
VIEWS

कालीकोट — तिलागुफा ४ राचुलीकी ४६ वर्षीया सीता शाहीको घर गत असोज २३ गते पहिरोले भत्काएपछि छिमेकीको घरमा ओत लाग्दै आएकी छन् । घर पहिरोले नभत्काउनुअघि होटल सञ्चालन गरेर गुजारा गर्दै आएकी सीता असोजदेखि मागेर गुजारा चलाउनुपर्ने अवस्थामा पुगिन् । दुई छोराछोरीसहित छिमेकी कृष्णबहादुर शाहीको घरमा बस्दै आएकी उनको गाउँको खेतबारी पनि पहिरोले बगायो । घरजग्गा केही बाँकी छैन । उनले भनिन् बाच्नै कठिन छ । उनका पति रनबहादुर शाही ३ वर्षदेखि घर आएका छैनन् । अर्की पत्नीसँग कैलालीतिर बस्छन् ।

कालीकोटको नाग्म बजारमा खाद्यान्नलगायत राहत सामग्री लिन गएका तिलागुफाका पहिरोपीडित । तस्बिर : तुलाराम/कान्तिपुर
कर्णाली राजमार्गको छेउमा राचुली बजारमा घर हुँदा होटल सञ्चालन गरेर दुई छोराछोरीलाई पढाउन, आफूलाई खान/बस्नको दुःख नभए पनि घर पहिरोले लगेपछि बिचल्ली भएको उनको गुनासो छ ।

घर पूरै पहिरोले बगाएपछि उनको परिवारले कात्तिकको महिना सहयात्रा परियोजनामार्फत एक बोरा चामल, ५ केजी दाल, ५ पाकेट तेल, २ पाकेट नुन दिएर गुजारा चलेकोमा यसपटक थप सहयोग पाएर खुसी छन् ।

मंसिर ९ गते स्टार्टफन्ड नेटवर्कको सहयोगमा वर्ल्डभिजन र किर्डाक नेपालले १३ हजार ५ सय मूल्यको ४ बोरा मसिनो चामल, २० केजी दाल, १० पाकेट खानेतेल, ५ केजी चिनीसहितको खाद्य सामग्री दिएको छ । अहिलेको राहातले त ३ महिना पुग्छ‚’ उनले भनिन्‚ ‘घर बनाउने कुरा सुनिएको मात्र छ, काम सुरु भएको छैन ।’ उनको परिवार हिउँदको चिसोमा कसरी बस्ने भन्ने चिन्तामा छ । ‘खाना त दाताले दिए‚’ सीताले भनिन्‚ ‘बास सरकारले दिए हुन्थ्यो । कहिले हुने हो ? ठेगान छैन ।’

८ जनाको परिवार भएकी अप्सरा शाहीको घर पनि पहिरोले भत्किँदा जहानबच्चाको बिचल्ली छ । स्थानीय भन्दरी शाहीको घरमा बसेको उनको परिवारले पनि स्टार्ट फन्डको सहयोगमा १३ हजार ५ सय रुपैयाँ खाद्यान्न सहयोग पाएको छ ।
यहाँको तिलागुफा-४ राचुलीमा असोज १९ देखिको अविरल वर्षाले घरमाथिबाट आएको पहिरोले राचुली बजारका घरसहित मलामी गएका १३ जनाको एकैपटक भएको थियो । एक जनाको मात्र शव भेटिए पनि १२ जना अझै बेपत्ता छन् । त्यति बेलाको पहिरोले कालीकोटमा मात्र २३ जनाले ज्यान गुमाए भने सयौ परिवार घरबार विहीन बने । यहाको तिलागुफा र खाडाचक्रका पहिरोपीडित ३ सय ४० परिवारलाई दाताको सहयोगमा प्रति परिवार १३ हजार ५ सयको खाद्यान्न सहयोग भएको कालीकोटका प्रजिअ रामहरि शर्माले बताए । उनले कालीकोटको इतिहासमा कहिल्यै नभएको क्षति यस पटकको वर्षाले पुर्याएको दावी गरे ।

स्थानीय बजारबाट दरभाउ संकलन गरेर पीडित परिवारले रोजेअनुसारको खाद्यान्न सहयोग गरिएको दाता र स्थानीय सरकारबीच सहजीकरण गरेका किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले सुनाए । उनका अुसार प्रतिपरिवार १३ हजार ५ सय मूल्यको खाद्यान्न, ननफुड आइटम, ज्येष्ठ नागरिक, एकल महिला, ५ वर्षमुनिका बालबालिका र सुनौला हजार दिनका आमालाई पोषिलो खाना र किशोरीलाई सरसफाइ तथा स्वच्छता किट पनि वितरण गरिएको छ । उनले पहिरोले कर्णालीका कालीकोट, जुम्ला र मुगुमा बढी क्षति पुर्‍याएकाले जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा सहयोग गरिएको जानकारी दिए ।

पहिरोपीडितलाई तत्काल सहयोग गर्न पहल भए पनि दसैँतिहारजस्ता चाड, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण केही ढिलो भए पनि पीडितको घरसम्म राहात पुगेको तिलागुफा नगर प्रमुख शंकर उपाध्ययायले बताए । नगरपालिकाको क्षमता बाहिरको क्षति भएकाले दाताहरुको सहयोग महत्त्वपूर्ण भएको नगर प्रमुख उपाध्यायले सुनाए ।

‘सरकार जंक फुड निषेध गर्ने भन्छ । आफैँ हेलिकोप्टरमा चाउचाउ‚ बिस्कुट ल्याएर बाँड्छ‚’ जुम्लाको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललितजंग रोकाले गुनासो पोखे‚ ‘जंक फुड स्वास्थ्यकर्मीले मात्र निषेध गरेर हुँदैन ।’

by kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित