Online News Khabar

समावेशीता नारा र प्रचार मात्रै

934
SHARES
1.1k
VIEWS

 

तुलाराम पाण्डे

माओवादी जनयुद्धको राप र तापबाट उदाएका नेता खड्कवहादुर विश्वकर्मा प्रकाण्डले ०६४ को पहिलो संविधान सभा चुनावमा सदर भएको ५१ प्रतिशत मत पाएर चुनाव जिते । पहिलो पटक दलित समुदायबाट उम्मेदवार बनेका विश्वकर्माले अन्य सबै दलका उम्मेदवारले पाएको मतभन्दा पनि बढी भोट ल्याएर संविधान सभा सदस्य चुनिए पनि त्यस यता दलित समुदायबट प्रत्यक्ष उम्मेदवार बन्ने मौका कसैले पाएका छैनन् । विश्वकर्मा प्रचण्डसंग नीति, विधि, गति र मति सबैमा अन्तरविरोध भएपछि बैद्य हुदै विप्लव समुहतिर सक्रिय छन् ।

दलित समुदायबाट उदोउदो नेता प्रकाण्ड एकीकृत जनक्रान्ति भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ताकारुपमा क्रियाशील छन् । जनयुद्धमा सबैभन्दा बढी बलिदान गरेको दलित समुदायबाट उचित प्रतिनिधित्व हुन सकेको छ्रैन । कालीकोटमा सशस्त्र द्धन्द्धमा ज्यान गुमाएका ५ सय ५३ जना नागरिक मध्ये ५० प्रतिशत दलित समुदायका ब्यक्तिले ज्यान गुमाएका थिए । ज्यान गुमाउने महिला मध्ये ६० प्रतिशत दलित समुदायका छन् ।
२९ प्रतिशत दलित र ५१ प्रतिशत महिलाको जनसंख्या भएको कालीकोटमा यस पटकको संघ र प्रदेशको निर्वाचनमा दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा न दलित न महिला उम्मेदवार बनाए । सबै उम्मेदवार गैह् दलित पुरुष मात्र छन् । समानुपातिकमा केही महिलाका नाम समावेश भए पनि उनीहरुले अवसर पाउनेमा धेरैको आशंका छ । नेताका आफन्त, पत्नी र आसेपासे बाहेकले अवसर पाउने सम्भावना कम छ ।

स्थानीय तहको दोश्रो चुनाव ०७९ को तुलनामा ०७४ मा कालीकोटबाट दलित महिला दन्ता नेपाली नगर उपप्रमुखसहित महाबै बाहेक ८ वटै स्थानीय तहमा उपप्रमुख, उपाध्यक्ष महिला र कालीकोटमा ८२ मध्ये १६ वटा वडामा दलित वडाध्यक्ष निर्वाचित भए पनि गठबन्धनको कारण यस पटकको स्थानीय तहको निर्वाचनमा दलित र महिलाको संख्या हवात्तै घटेको छ ।
वर्तमान सत्तारुढ गठबन्धनले गएको स्थानीय तह निर्वाचनमा कालीकोटको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका काग्रेसको भाग लगायो । काग्रेसको तर्फबाट जिल्लाकै चर्चित महिला निर्माण ब्यवसायी तथा महासमिति सदस्य ताराकुमारी शाहले टिकट पनि पाइन् । गठबन्धनकै माओवादी केन्द्र र एकीकृत समाजवादीले त्यसमा चित्त नबुझाएर छुट्टै उम्मेदवारी दिए । दुवै पुरुष आउने योजनासहित नगर प्रमुखमा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कमलवहादुर शाहीले पार्टीको सल्लाहमा स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराए भने उप प्रमुखमा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य गणेशवहादुर शाही आकाशले उम्मेदवारी दिए ।
चुनावमा काग्रेसका भेगीय भोट समेत पाएर तिनै एकीकृत समाजवादीका कमल प्रमुख र माओवादी केन्द्रका गणेश उपप्रमुखमा निर्वाचित भए । तर, गठबन्धनको तर्फबाट महिला नेतृृ नगर प्रमुख बन्ने अवसरबाट बन्चित भइन् ।
एकीकृत समाजवादीको भागमा नरहरिनाथ र शुभकालिका गाउपालिका अध्यक्ष परेकाले खाडाचक्रमा कमलले ब्याक हुन नपरोस् भनेर स्वतन्त्रबाट दरखास्त दिएका थिए । उनी स्वतन्त्र भनिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रले संयुक्त प्रतिबद्धता पत्र, चुनाव प्रचारको लागि घरभेट, घरदैलो र चुनावी सभा गरेर मत मागे । छुट्टा छुट्टै उम्मेदवारी दिएका काग्रेस र एमालेले भने एक महिला र एक पुरुषको उम्मेदवारी दर्ता गरेर चुनावमा होमिए । काग्रेसबाट शाह प्रमुख र नेत्रवहादुर शाही उपप्रमुख, एमालेबाट पहिलेका नगर प्रमुख जसीप्रसाद पाण्डे प्रमुख र मीना शाही उपप्रमुख लडे ।

३ वटा वडामा मिलेर उम्मेदवारी दिएको काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अन्य वडामा पनि एमाले विरुद्ध मोर्चाबन्दी गरेकाले सत्ता गठबन्धनका दुवै पुरुष शाहीले चुनाव जिते । ०७४ मा एमालेबाट चुनाव जितेका उपप्रमुख विजया विष्ट, ३ वटा वडाध्यक्षसहितको शक्ति समाजवादीमा लागेकाले माओवादी केन्द्र र समाजवादीको गठबन्धनले चुनाव जित्ने सम्भावना बढी भएकाले नै महिलालाई टिकट नदिएको महिला अधिकारकर्मी जया बोगटीको टिप्पणी छ । समावेशी नारा र प्रचारमै सीमित छ । उनले भनिन् पुरुष नै सबै ठाउमा आपूmलाई नै केन्द्रमा राखेर योजना बनाउछन् । उनले महिलामा शिक्षा, चेतना र जागरणमा अझै कमजोर भएकाले अवसरबाट बन्चित हुनुपरेको गुनासो गरिन् ।
यहाको नरहरिनाथ गाउपालिकामा पनि दुवै पुरुषले चुनाव जिते । नरहरिनाथमा काग्रेसका नगेन्द्रवहादुर विष्टले गाउपालिका अध्यक्षमा एकीकृत समाजवादीका धीरवहादुर विष्टलाई हराए भने उपाध्यक्षमा माओवादी केन्द्रका कमलकुमार शाहले चुनाव जिते । नरहरिनाथमा एकीकृत समाजवादीका नरहरिनाथमा पनि समाजवादीले उपाध्यक्षमा उम्मेदवारी हालेनन् भने माओवादी केन्द्रले दरखास्तको दिन अध्यक्ष र उपाध्यक्ष दुवैमा पुरुष उम्मेदवारको मनोनयन दर्ता गरेको थियो । पछि माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विष्णुवहादुर विकको उम्मेदारी दर्ता गरे पनि पछि फिर्ता लिएर समाजवादीलाई समर्थन गरे । एमाले, काग्रेस, चन्द समुह, राप्रपाले महिलालाई उपाध्यक्षको टिकट दिए पनि जित्न सकेनन् ।

खाडाचक्र र नरहरिनाथ मात्र होइन यहाको रास्कोटमा माओवादी केन्द्रका धर्मराज शाही नगर प्रमुख र एकीकृत समाजवादीका मनिराज बराल उपप्रमुख, तिलागुफामा कागे्रसका शंकर उपाध्याय प्रमुख र एमालेका महेन्द्रवहादुर शाही उपप्रमुख, महाबैमा माओवादी केन्द्रका खेमवहादुर सिंह अध्यक्ष र एमालेका दानसिंह सेजुवाल उपाध्यक्ष बने । ९ वटा स्थानीय तह भएको कालीकोटमा ४ जना मात्र महिलाले गाउपालिकाको उपाध्यक्षमा चुनाव जिते । ३ वटै नगरपालिकामा दुवै पुरुष आए । कसैसग गठबन्धन नभएको पलातामा माओवादी केन्द्रका अलैपुरा जैसी हमाल, पचालझरनामा अल्किना बम सेजुवाल, शान्नित्रिवेणीमा एमालेकी पार्वती सिंह र माओवादी कांगे्रस गठबन्धनबाट शुभकालिकामा भने कांग्रेसकी धर्मा शाहीले मात्र चुनाव जितेकी छन् ।
०७४ को स्थानीय तहको चुनावमा दलितको प्रतिनिधित्व गर्दै तिलागुफा नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रबाट दन्ता नेपाली दर्शनाले टिकट पाएर चुनाव जितेपछि अमेरिका गएर फर्किनन् । यस पटकको चुनावमा कुनै पनि पालिका प्रमुख र उपप्रमुखमा दतिलले चुनाव जितेनन् । दलित समुदायको प्रतिनिधित्व गराउन एमालेले सान्नीत्रिवेणीका ब्यासी तिरुवा, पलाताका अनन्त विश्वकर्मा र पचालझरनाकी दुर्गा कामीलाई अध्यक्षको टिक दिएको थियो भने माओवादी केन्द्रले तिलागुफाको नगर प्रमुखमा दिनेश चदारालाई उम्म्ेदवार बनायो । तर, चुनाव कसैले जित्न सकेनन् ।

०७४ को स्थानीय तह चुनावमा महाबैमा काग्रेस एमालेको तालमेलबाट नन्द ंिसह र मनराज शाही बाहेक सबैमा उपप्रमुख र उपाध्यक्षमा महिलाले प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । कुरामा महिला भए पनि ब्यवहारमा गठबन्धनका नाममा महिलालाई पन्छाउने काम भएको माओवादी केन्द्रकी महिला नेतृ मनशोभा बुढाले बताइन् । जिल्लामा पनि सामुहिक छलफल गरेर महिलाको प्रतिनिधित्व सुनिश्चित हुने वातावरण बनाइनु पथ्र्यो । नरहरिनाथ गाउपालिकाकी पूर्व उपाध्यक्ष बुढाले भनिन् महिलाले पनि सामुहिकरुपमा दवाव दिन सकेनौ । उनले कानूनमा भएको अधिकार पनि खोसिएको सुनाउदै गठबन्धनको नाममा महिलाको अधिकार खोसिएको गुनासो गरिन् ।
कालीकोटमा गठबन्धनले महिलाको अधिकार खोसेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य विजया विष्टले बताइन् । पुरुषले नपाए धाधली गरेर गठबन्धन नै धरापमा पार्ने खतरा भयो । खाडाचक्र नगरपालिकाकी पूर्व उपप्रमुख समेत रहेकी विष्टले भनिन् एक दलबाट एकजना मात्र छनोट गर्दा महिला प्राथमिकतामा परेनन् । उनले न्यायिक समतिमा महिला नहुदा हिंसा पीडित महिलाले न्याय नपाउने अवस्था रहेको सुनाइन् ।

कालीकोटमा काग्रेसले खाडाचक्र, नेत्रविक्रम चन्द समुहले रास्कोट, एमालेले पचालझरनामा महिलालाई प्रमुखमा टिकट दिए पनि ती सबैमा दुवै पदमा पुरुषले चुनाव जिते । संविधानले सबै तहमा ३३ प्रतिशत महिला र जनसंख्याको अनुपातमा दलित प्रतिनिधित्वको मर्म बोकेको भए पनि यी समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।
यसपटको प्रतिनिधि सभाका ७ र प्रदेश सभा क र ख गरी १० जनाले उम्मेदवारी दिए पनि दलित र महिला कुनै दलको रोजाईमा पर्न सकेनन् । राज्यका हरेक तहमा उचित पहुच, प्रतिनिधित्व र अवसर विना समतामूलक समाज निर्माण असम्भव छ । उचित प्रतिनिधित्व हुन सकेन भने हुदा खाने र हुने खाने बीचको खाडल साघुरिनुको सट्टा झन् फराकिलो हुदै जाने निश्चित छ ।

 

लेखक- कालीकोटका वरिष्ठ पत्रकार तथा कान्पिुर दैनिकका उपसम्पादक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित