कालीकोट – वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । कोटवाडामा करिव ४ दशकपछि जहाज अवतरण भएको थियो ।
२०७३ माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको करिव ७ वर्ष वित्न लाग्दा पनि विमान स्थल अझै बन्न सकेको छैन । ७ वर्ष महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन् ।
करिब ४ दशक लगाएर निर्माण थालिएको उक्त विमानस्थलमा ७ वर्ष पहिले परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् । त्यहाँका नागरिकले जहाज त के अहिलेसम्म गाडि समेत चढ्न पाएका छैनन् ।
जिल्लाको एक मात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घन्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको ७ वर्षसम्म पनि नियमित उडान हुन नसक्दा निरास भएका छन् । ‘७ वर्ष पहिले चिलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’, नरहरिनाथकी हस्ता विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुसी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चिलगाडी फर्केरै आएन ।’
स्थानीय बासिन्दा भन्छन्, ‘गाउँमा न सडक पुगेको छ न त विमानस्थल नै सञ्चालन भयो । परीक्षण उडानपछि जहाज फर्केर आएन, हाम्रा दुःखका दिन कहिलेसम्म रहने हुन् खै ?’ जहाज नियमित सञ्चालनमा आएपछि जिल्लाबाहिर आवत–जावत गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीय यतिबेला जहाजको पर्खाइमा छन् । हस्ता विष्ट मात्र होइनन् नरहरिनाथ गाउँपालिका–२ का पंख दर्जिको गुनासो पनि उस्तै छ । मौसमि गाडि संचालन हुने नरहरिनाथमा जहाँज नियमित उडान नहुँदा त्यहाँँका नागरिकले बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । परीक्षण उडान भएको ७ वर्ष पुग्नै लाग्दा पनि जहाज नआएको भन्दै स्थानीय पंख दर्जिले आफूहरूमाथि अन्याय भएको बताए ।
कोटवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाई सेवा एक मात्र भरपर्दो विकल्प हो । तर, स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
भोट बंैक बन्यो विमानस्थल
झण्डै ४ दशकसम्म पनि विमान स्थल बन्न सकेको छैन । चुनावको बेला धेरै चर्चा हुने विमानस्थलले कालीकोटे जनतलाई आकाशमा उडाउने सपना सपनामै सीमित बनाएको छ ।
चुनावको बेलामा खुव चर्चा पाउने विमानस्थलले चुनावपछि भने महत्व पाएको छैन । चुनावमा भोट माग्ने वेलामा मात्र सुनथराली विमानस्थल बन्छ भन्छन् अघिपछि वास्ता गर्दैन एक स्थानीयले भने, ‘सुनथराली विमानस्थल एउटा भोट माग्ने माध्यम बन्दै आएको छ । राजनीतिक दल र नेताको पहुँच नपुग्नुले विमानस्थल निर्माण कार्य अलपत्र परेको हो ।’ ‘यहाँ विमान स्थल बनाउने कुरा चुनावको वेला मात्र चर्चा हुन्छ, चुनाव सकिएलगत्तै चर्चा पनि सकिने गरेको छ ।’ निर्वाचनताका प्रमुख राजनीतिक दलका मुख्य एजेण्डा नै विमानस्थल बनाउने हुन्छ ।
कालीकोटबाट निर्वाचित भएर जनप्रतिनिधि बनिसकेपछि आफुले चुनावका बेलामा गरेका प्रतिवद्धता विर्षने प्रबृतिले सुनथराली विमानस्थल अहिलेसम्म बन्न नसकेको स्थानीयले बताएका छन् । ०६४ सालभन्दा अगाडि भएका निर्वाचन र त्यसभन्दा पछि भएका निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो भोट बैंक विमानस्थललाई बनाउने गरेको स्थानीय प्रकाश न्यौपानेले बताउ छन ।
विमानस्थल निर्माणकै क्र्ममा ३६ जनाले ज्यान गुमाएका थिए ।
विमान स्थल निमार्णका क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका छन् । ३६ जना मजदुरलाई नेपाली सेनाले एकै पटक एकै चिहान बनाएको हो ।
नेपालमा चलेको दश वर्षे शसस्त्र युद्धका बेला अछाम आक्रमण पछि आएको सेनाको टोलिले विमान स्थलमा काम गरिरहेका ३६ जना मजदुरको हत्या गरेको थियो । विमानस्थल निमार्णका क्रममा धादिङ्ग जोगिमारा स्थायी घर भै विमानस्थल निर्माणको शिलशिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरुलाई २०५८ सालमा तत्कालिन राज्यपक्षको शाहीसेनाद्धारा विमानस्थलमै गोलिहानी हत्या गरिएको थियो ।
Discussion about this post