कालीकोट- जिल्लाको खाडाचक्र नगरपालिकाले सेनेटरी प्याड खरिदमा लाखौ अनियमितता गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरुलाई वितरण गर्नका लागि खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा लाखौ रकम अनियमितता गरेको पाइएको हो ।
होलसेल खरिदमा सेनेटरी प्याडको बजार मुल्य ३० देखि ३५ भएपनि नगरपालिकाले खरिद गरेको प्याडको ४५ रुपैया ९५ पैसा मुल्य परेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले नेपालगन्जमा रहेको कलमा सर्जिकल र सुर्खेतको निमित सर्जिकलबाट सेनेटरी प्याड खरिद गरेको हो ।
खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले प्याड खरिदमै घोटाला गरेको छ । नगरपालिकाले १० लाखको लागतमा १५ हजार प्याड खरिद गरेको स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । उनले दिएको जानकारी अनुसार, १५ हजार प्याडको खरिद मुल्य हेर्ने हो भने ६ लाख ८९ हजार २ सय ५० हुन्छ । तर नगरपालिकाबाट १० लाख भुक्तानी भएको छ ।
नगरपालिकाले जुन प्याड खरिद गरेको छ त्यसको बजार मुल्य ३५ राख्ने हो भने, ५ लाख २५ हजार हुन आउछ । नगरपालिकाले १० लाखमा खरिद गरेको प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैया अनियमितता भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ माघ २ गते खरिद गरेको प्याड आधारभुत र माध्यमिक विद्यालयमा वितरण गरिएको थियो । वितरण गरिएको प्याड पनि महिनावारी उमेर समुहका छात्राले पाउन सकेका छैनन ।
अहिले विद्यालयले प्याड विद्यालयको गोदाममा थन्काएर राखेका छन् । केही प्याड त मुसाको बासस्थान समेत भएको छ । नगरपालिकाले राखेका विद्यालय नर्सहरु नियमित विद्यालयमा नजाँदा छात्राले प्याड पाउन नसकेका हुन् । कोटेसन माग गरेर प्याड खरिद गरिएको सेजुवाल बताउछन् । उनले आफुहरुले १५ हजार प्याड १० लाखमा खरिद गरी विद्यालयहरुमा वितरण गरेको दावि समेत गरे ।
प्रभावहिन विद्यालय नर्श कार्यक्रम
यहाँका विद्यालयमा नियुक्ती गरेका विद्यालय नर्श कार्यक्रम प्रभावहिन देखिएको छ ।
जनप्रिितनिधहरुले आफ्नो आसेँपासे कमर्मचारी नियुक्ती गर्दा विद्यालयमा नजाने गर्नाले विद्यालयमा छात्राले सेवा पाउन नसकेका छैनन् ।
विद्यालय नर्श नियमित विद्यालय नजादा छात्राहरुले प्याड देखी औषधी उपचार पाउन नसकेका हुन् ।
एक छात्रा कक्षा ९ बाट अहिलेसम्म प्याड नपाएको सुनाउँछिन्। भन्छिन्, ‘छात्रवृत्ति पनि पाएका छैनौं। शिक्षकहरू आधा मात्रै नियमित आउँछन्। प्रधानाध्यापक पनि नियमित नआउने भएकाले विद्यालय प्रशासन कमजोर छ। यसले हामीले पाउने सेवा र शिक्षण सिकाइमा असर गरेको छ।’ विद्यालयमा प्याड नपाएकै कारण मेडिकलबाट किनेर प्रयोग गर्ने गरेको ती विद्यार्थी बताउँछिन्। उनका अनुसार कतिपय त घरमा पुरानो कपडा धोएर प्याडका रूपमा प्रयोग गर्ने गरेका छन्।
प्रधानाध्यापक सबराज बमले आफू कामविशेषले सुर्खेततिर रहेको बताए । ‘विद्यालयमा स्यानिटरी प्याड नर्सले बाँड्नुभएको छ। यो पटक उहाँ पनि बिरामी भनेर बिदामा बस्नुभएको हो’, बमले भने, ‘उहाँ नियमित आउनुहुन्न। समय–समयमा आउनुहुन्छ।’
सम्बन्धित फोटोः
१) विद्यार्थीले नपाएर मुसाले खाएका सेनेटरी प्याड
तश्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post