Online News Khabar

युनिकोड

राज्यले कहिले देख्छ कर्णालीलाई?

878
SHARES
1k
VIEWS

कालीकोट —  सुर्खेतबाट मुगुको सेरी पुग्न आइतबार सुर्खेतबाट ५ जनाको परिवारसहित हिँडेका जगत मल्ललाई कालीकोटको मान्म पुग्नै २ दिन लाग्यो । सुर्खेतबाट दैलेख हुँदै कालीकोटको मान्मसम्मको दूरी १ सय ५१ किमि मात्र छ । तर सडकको दुरावस्थाले ७ घण्टाको बाटोमा उनको परिवारले २ दिन लगायो । ‘सुर्खेतबाट सके मुगु, नभए नाग्म पुगिन्छ भनेर टिकट काटें,’ उनले भने, ‘सुनारखोलामा गाडी फस्दा त्यहीं एक दिन बिताइयो ।’

कर्णाली करिडोरको रेंगिल–जाइकोट खण्डमा गत आइतबार ढुंगा खसेर अवरुद्ध भएपछि बाटो पन्छाएर जिप लैजाँदै स्थानीय । तस्बिर : तुलाराम/कान्तिपुर

सुर्खेतमा ११ कक्षामा छोरा भर्ना गर्न हुम्लाको उनापानीबाट ३ दिनअघि पैदल हिँडेका कर्णबहादुर ऐडीलाई गाडी भेटाउनै ३ दिन लाग्यो । ६ घण्टा पैदल हिँडेर बाजुरा र हुम्लाको सिमाना कुवाडीबाट गाडी चढ्न पाइन्छ भन्ने सुनेका उनले गाडी चढ्न कालीकोटको भुराबगर आउनुपरेको बताए । उनीसँग आएको ९ जनाको टोली भुराबगरमा जितेसम्मको ६ सय ५० रुपैयाँको टिकट काटे पनि रेंगिलको हिलोमा गाडी फसेपछि फेरि २ घण्टा हिँडेर जिते पुगेको हो । ‘सारै दुःख पाइयो, जहाज चढ्ने पैसा छैन,’ उनले भने, ‘गाडी चढे सास्ती मात्रै, सडक नजिक आयो, अब त सुख पाइन्छ कि भनेको हाम्रा दुःख सधैं उस्तै ।’

घाम लागे धूलो, पानी परे हिलो हुने कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यात्रुलाई सास्ती भएको छ । कर्णाली राजमार्गको पादुका, दहीखोला, कालेखोला, हुल्म, सेरिघाट, सुनार खोला, ताडी, पिली र टिमुरे भीरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती हुने गरेको बस चालक नमराज डाँगीले बताए । ‘घण्टा घण्टामा गाडी फस्छ,’ उनले भने, ‘राजमार्गमा गाडी चलाउनै मुस्किल भयो, गाडी नबिग्रेको पनि दिनै हुँदैन ।’

कर्णाली राजमार्गमा सबैभन्दा बढी सुनार खोलाले यात्रुलाई सास्ती दिइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘दिनहुँजसो गाडी रोकिएकै हुन्छन्,’ उनले भने, ‘यात्रुको बिजोग हुने गरेको छ ।’ उनले पहिरो हटाउन सडक डिभिजन कार्यालयलाई दैनिकजसो निर्देशन दिइरहेको जानकारी दिए ।

राजमार्गमा विश्व बैंकको झन्डै १ अर्ब रुपैयाँ सहयोगमा २०७२ सालमा सुर्खेतबाट खिड्कीज्यूलासम्म १ सय २६ किलोमिटरमा पहिलो चरणमा र खिड्कीज्यूलादेखि जुम्लासम्म १ सय ७ किमिमा दोस्रो चरणमा कालोपत्र गरिएको थियो । तर अहिले झन्डै १ सय ८३ किलोमिटर कालोपत्र उप्किएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । अधिकांश कालोपत्र उप्किएपछि दुर्घटनाको जोखिमसँगै यात्रा कष्टकर बनेको हो । सडकको स्तरोन्नतिका लागि गत आर्थिक वर्षमा राजमार्गमा ३२ करोड रुपैयाँ खर्च भएको थियो ।

कालीकोटको खुलालु हुँदै बाजुरा, मुगु र हुम्लाको सिमानासम्म सडक जोडिएको कर्णाली करिडोरको हालत पनि उस्तै छ । कर्णाली राजमार्गबाट छुट्टिएर करिडोरलाई जोड्ने खुलालु पुलनजिकै सडकको स्तरोन्नति नहुँदा गाडी चढ्न सक्ने अवस्था नरहेको गाडी चालकहरू बताउँछन् । गाडी चालक अमृत सुनारले रेंगिलदेखि आमतडासम्मको सडक पानी पर्नेबित्तिकै अवरुद्ध हुने गरेको बताए । उनका अनुसार २ वर्षअघि बाढीले फुगाड खोलामा बनाइएको फलामे बेलिब्रिज बगाएपछि खोला तर्न पनि कठिनाइ भएको छ । पुल नहुँदा २ वर्षयता फुगाड खोलामा ३ वटा मोटरसाइकल र २ जना यात्रु बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिडोरअन्तर्गत सलीसल्लासम्मको ट्र्याक खुलेपछि झन्डै एक वर्षअघि नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । ‘सेनाले सडक विभागलाई हस्तान्तरण गरेको भनेर हेर्दैन,’ पलाता–१ खाडाका शिवशंकर न्यौपानेले भने, ‘सडकले थप काम सुरु गरेकै छैन ।’ उनका अनुसार पचालझरनास्थित भुराबगर र जारकोट खण्डमा गएको पहिरोले एक महिनादेखि सडक अवरुद्ध छ । उनले भौरेकुना, रेंगिल, कोट, आमतडालगायत ठाउँमा पनि पहिरो गएको जानकारी दिए ।

वर्षाले कालीकोटका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । स्थानीय तहले निर्माण गरेका सबैजसो सडकमा सहज रूपमा गाडी चल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । नरहरिनाथ जोड्ने खुलालु–लालु, लालीघाट–कुमालगाढ– डाडामाडु, जाइकोट–लुसा –सेरिज्यूला, कोट–रकु, सान्नीगाड–मेहेलमुडीलगायत सडक झन्डै एक महिनादेखि बन्द छन् ।

डोजरबाट खनिएको ताडी– तिलाकर्णाली बहुमुखी क्याम्पस जोड्ने सडकमा ताडीमा हिलोले पैदल हिँड्न पनि कठिन भएको जनजीवन माविकी विद्यालय नर्स प्रतिभा शाहीले बताइन् । ‘विद्यार्थीहरू चिप्लिएर भीरमा खस्ने डर छ,’ उनले भनिन्, ‘गाडी हिँड्ने बाटो बनाउँदा पैदल हिँड्न पनि जोखिम मोल्नुपर्‍यो ।’ BY KANTIPUR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित