Online News Khabar

कालिकोटमा एसईईका उत्तरपुस्तिका परीक्षा केन्द्रमै धमाधम जाँच्न सुरु

917
SHARES
1.1k
VIEWS

कालिकोट — नेपालको शैक्षिक इतिहासमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको गतिलाई सुधार गर्ने उद्देश्यले ल्याइएको नयाँ व्यवस्था कालिकोटमा सफलतापूर्वक कार्यान्वयनमा आएको छ । ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू भएसँगै यस वर्षदेखि उत्तरपुस्तिका जाँच्नका लागि अन्य जिल्ला वा केन्द्रमा पठाउनुपर्ने झन्झटिलो परम्पराको अन्त्य भएको छ ।

कालिकोटका २० वटै परीक्षा केन्द्रमा बिहीबार र शुक्रबार सञ्चालन भएका अंग्रेजी र नेपाली विषयको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण कार्य हिजोबाटैसुरु भएको हो । यस वर्ष कालिकोटबाट कुल ३ हजार सात सय ५९ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । जिल्लाका २० वटा केन्द्रमध्ये प्राविधिक विषय पठनपाठन हुने ३ वटा विद्यालयका परीक्षार्थीहरूको केन्द्र भने मान्मको पञ्चदेव मावीमा तोकिएको छ, । जहाँ विशेष व्यवस्थाका साथ परीक्षा र परीक्षण कार्य अघि बढाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटका प्रमुख हर्षप्रसाद चौलगाईका अनुसार जिल्लामा नयाँ अभ्यास व्यवस्थित ढंगले अघि बढेको छ । ‘जिल्लामा अहिलेसम्म उत्तरपुस्तिका जाँच्ने क्रममा कुनै पनि समस्या देखिएको छैन । भौगोलिक बिकटताका कारण हिजो केही पालिकामा सुरु भयो भने केहीमा हुन सकेन आजवाटै सवै केन्दको जाच्ने कार्य भइरहेको छ । यो नयाँ व्यवस्थाले परीक्षा केन्द्रलाई अझ बढी जिम्मेवार बनाएको छ,’ कार्यान्वयनको प्रारम्भिक चरणबारे जानकारी दिँदै उनले भने, ‘यो व्यवस्थाले शिक्षा विकास तथा समन्वय एकाइलाई मुख्य समन्वयकारी भूमिकामा राखेको छ । यसले स्थानीय स्तरमै जनशक्ति परिचालन र अनुगमनलाई प्रभावकारी बनाएको छ ।’ उत्तरपुस्तिका जाँच्नका लागि माध्यमिक तहमा अध्यापनरत अनुभवी शिक्षकलाई खटाइएको र कुनै पनि शिक्षकले आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँच्न नपाउने नियम बनाइएको छ ।

नयाँ निर्देशिकाले उत्तरपुस्तिका परीक्षणको सम्पूर्ण जिम्मेवारी र अधिकारलाई विकेन्द्रीकृत गरेको छ । विगतमा परीक्षा सकिएपछि सबै उत्तरपुस्तिका संकलन गरेर प्रहरी कार्यालयमा बुझाउने, त्यहाँबाट समन्वय एकाइमा ल्याउने र त्यसपछि मात्रै बोर्डले तोकेको अर्को जिल्ला वा केन्द्रमा पठाउने गरिन्थ्यो । यो प्रक्रियाले गर्दा नतिजा आउन महिनौं लाग्ने र ढुवानीका क्रममा उत्तरपुस्तिका हराउने वा क्षति हुने जोखिम रहन्थ्यो । तर, नयाँ कार्यविधिले परीक्षा भएकै दिन दिउँसो १२ बजेदेखि नै उत्तरपुस्तिका जाँच्न सुरु गर्न सकिने बाटो खोलेको छ ।

रास्कोट स्थित बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज वरालले यसलाई शिक्षा क्षेत्रको ठूलो उपलब्धिका रूपमा व्याख्या गरेका छन् । ‘यो हाम्रा लागि अवसर र चुनौती दुवै हो,’ उनले भने ‘पहिलेको लामो र झन्झटिलो प्रक्रिया अब इतिहास भएको छ । अब परीक्षा सकिएको केही दिनभित्रै सबै उत्तरपुस्तिका परीक्षण भइसक्ने भएकाले विद्यार्थी र अभिभावकले नतिजाका लागि लामो समय कुर्नुपर्ने छैन ।’

हालै जारी भएको नयाँ निर्देशिकाले परीक्षणको गुणस्तर र गोपनीयता कायम राख्न कडा मापदण्डहरूसमेत तोकेको छ । परीक्षा सञ्चालन भएकै विद्यालय वा केन्द्रलाई नै परीक्षण केन्द्र मानिएको र कार्यविधिअनुसार कुनै पनि विषयको परीक्षण कार्य सुरु भएको बढीमा तीन दिनभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
उत्तरपुस्तिका जाँच्नका लागि माध्यमिक तहमा अध्यापनरत अनुभवी शिक्षकलाई खटाइएको र कुनै पनि शिक्षकले आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँच्न नपाउने नियम बनाइएको छ । यदि कुनै परीक्षकको नजिकको नातेदार सोही केन्द्रमा परीक्षार्थी भएमा, नैतिकताका आधारमा सो जानकारी गराई उत्तरपुस्तिका फिर्ता गर्नुपर्ने अनिवार्य व्यवस्थासमेत निर्देशिकामा छ ।

कार्यविधिले परीक्षक र सम्परीक्षकका लागि छुट्टाछुट्टै मसीसमेत तोकेको छ । जसअनुसार उत्तरपुस्तिका जाँच्ने शिक्षक (परीक्षक)ले अनिवार्य रूपमा रातो मसी प्रयोग गर्नुपर्नेछ भने त्यसलाई पुनः जाँच गर्ने सम्परीक्षकले हरियो मसी मात्र प्रयोग गर्नुपर्नेछ । यसले गर्दा अंक दिने प्रक्रियामा पारदर्शिता कायम हुने विश्वास गरिएको छ । परीक्षण कार्य हुने कक्षमा सुरक्षालाई विशेष ध्यान दिँदै सम्भव भएसम्म सीसीटीभीको निगरानीमा काम गर्ने र परीक्षण कक्षभित्र मोबाइल फोन वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ । उत्तरपुस्तिका परीक्षण सकिएलगत्तै अंकहरूलाई सिलबन्दी गरी शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने प्रावधानले अब एसईईको नतिजा प्रदेश स्तरबाटै प्रकाशन गर्न सहज हुने देखिएको छ ।

फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित